मिसावट रोक्न सकारात्मक कदम «

मिसावट रोक्न सकारात्मक कदम

अहिले निगमले गल्ती गर्ने चालकलाई मुद्दा दायर गर्न सिफारिस गर्नुलाई सकारात्मक कदममा रूपमा दिन सकिन्छ ।

पेट्रोलमा मिसावटका अधिकांश घटनामा ट्यांकर चालक सहभागी भएका धेरै दृष्टान्त रहेका छन् । तर, ६ महिना निलम्बनमा परेपछि पुनः उनीहरू फेरि काममा फर्कन्थे । साथै, केही जरिवाना तिरेपछि मिसावटजस्तो गम्भीर घटनामा संलग्न ट्यांकरका धनीले समेत सजिलै छुट्कारा पाउँथे । नेपालमा पेट्रोलियम व्यवसायमा सरकारको आयल निगमको एकछत्र राज चल्छ । तर, लामो समयदेखिको यस्ता मिसावट एवं अन्य गैरकानुनी अभ्यास जारी थियो । निगमले कुटेजस्तो मात्रै गर्ने र एकदमै कम सजाय दिने गर्नाले न चालक सुध्रिएका थिए, न मिसावट नै रोकिएको थियो । यही कारण पेट्रोलियम पदार्थको गुणस्तरसम्बन्धी बारम्बार प्रश्नहरू पनि उठ्दै आएका थिए । तर, पछिल्लो समयमा नेपाल आयल निगमले मिसावटमा संलग्न ट्यांकर चालकलाई कालोबजारी तथा केही अन्य सामाजिक तथा सजाय ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएको छ । मिसावट गर्ने चार ट्यांकरका चालकलाई कालोबजारी ऐनअनुसार कारबाही गर्न सिफारिस गरिएको यो पहिलो पटक हो । निगमको अमलेखगन्जमा तीन र थानकोट डिपोमा एक पेट्रोलमा हानिकारक पदार्थ मिसावट गरेको फेला परेपछि ती चारवटा ट्यांकरका चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन निगमले यस्तो सिफारिस गरेको हो । यसअघि मिसावट गर्ने चालकलाई ६ महिनासम्म गाडी चलाउन निलम्बन र ट्यांकर मालिकलाई कारबाही गर्दै आएको थियो । सिफारिसअनुसार अब जिल्ला प्रशासन कार्यालयले ती चालकहरूलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गर्नेछ । मिसावट गर्ने चालकलाई जरिवाना र जेल सजायसमेत हुन सक्नेछ । निहित स्वार्थका लागि मिसावट गर्नुलाई ठूलो अपराधका रूपमा लिइन्छ । यस्तो कार्यका लागि सामान्य जरिवाना र निलम्बनमा सीमित गरिँदै आएकोमा अहिले निगमले गल्ती गर्ने चालकलाई मुद्दा दायर गर्न सिफारिस गर्नुलाई सकारात्मक कदममा रूपमा दिन सकिन्छ । यो कदमले आगामी दिनमा मिसावटलाई न्यूनीकरणका लागि ठूलो योगदान पुग्ने निश्चित छ । यसले चालकहरूमा देखिएको अनुशासनहीनताको अन्त्य पनि गर्नेछ भने आयल निगमको इन्धन आयातमा देखिएको विकृति, विसंगतिको पनि केही हदसम्म अन्त्य हुनेछ ।
यसअघि मिसावटका घटनापछि यसलाई छोपछापका लागि भित्रभित्र गैरवैधानिक कार्यहरू हुने गरेका थिए । आयल निगम, व्यवसायी, चालक तथा उनीहरू आबद्ध संघ–संगठनका प्रतिनिधिहरूले गर्ने यस्तो गतिविधिका कारण मिसावटजस्तो आपराधिक कामले निरन्तरता पाइरहेको थियो । अब भने आयल निगमले मुद्दाकै लागि सिफारिस गरेपछि मिसावटको कार्य कम हुने मात्र होइन, मिसावट गर्ने र गराउनका लागि प्रोत्साहन गर्ने पक्ष कमजोर हुनेछ भन्ने आशा गर्न सकिन्छ । हुन त अहिले आयल निगमले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस मात्र गरेको हो । सो आधारमा मुद्दा अघि बढ्ला पनि, तर त्यसपछि पनि गलत गर्नेहरूलाई बचाउनका लागि मिलेमतोको सम्भावनालाई अझै नकार्न भने सकिँदैन । अपराध गरेपछि यसबाट जोगिन उच्चस्तरीय राजनीतिक नेतृत्वदेखि अदालतसम्म धाउने गलत परम्परा अझै सकिएको छैन । अझ कारबाही हुने व्यक्तिको अनुहार र राजनीतिक पार्टी हेरेर बचाउन लाग्ने गलत क्रियाकलाप जारी नै छ । यस्तो अवस्थामा गलत काम गर्ने ट्यांकर चालकलाई कारबाही गराउन सकियो भने मात्र भविष्यमा मिसावटका घटना निस्तेज हुँदै जान्छन् । जे होस्, आयल निगमले पहिलो पटक ट्यांकर चालकलाई ६ महिना निलम्बन गर्ने र पछि सोही काममा फर्कने गलत अभ्यासको अन्त्य गरेर सकारात्मक कदम सुरु गरेको छ । यसले मिसावटजस्तो अपराध गरिरहेका र गर्न खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि सहयोग गर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्