Logo

ओली सरकारको ७ महिने कार्यकाल असफल : खड्का

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ठूलो–ठूलो कुरा गरेर गरिब, निमुखा जनतालाई आशामा अल्झाउन नहुने पनि उनको तर्क छ । उनले भने, ‘कहिले रेल आउला भनेर गरिब जनतालाई कुनै मतलब छैन् । यसले उनीहरुलाई आकर्षण गर्दैन् । दैनिक जिविकाको बारेमा मात्रै जनतालाई ध्यान छ । तर, सरकारले महँगी, भ्रष्टाचारलगायतमा खोई त अनुगमन गरेको ?’
नेता खड्काले बहुसंख्यक जनता सरकारको प्रस्तुतिबाट निराशातर्फ उन्मुख रहेका पनि बताए । उनले भने, ‘बलात्कारपछि निर्मला पन्तको हत्या भयो । प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्नसक्छ भन्नुभयो । यस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति प्रधानमन्त्रीजस्तो व्यक्तिले दिने हो ?’
भाषणबाजी गरेर देश नचल्ने भन्दै उनले जनताले डेलिभरी खोजेको बताए ।’
यस्तै, सरकारले ५ वर्षसम्म राम्रो काम गरोस् भन्ने आफूहरुको चाहना भएको खड्काको भनाई थियो । फरक प्रसँगमा उनले बुढीगण्डकी गेजुवालाई दिनु गलत भएको भन्दै विरोध जनाए । उनले भने, ‘कुनै तयारी नै नगरी किन दिईयो ? हचुवाको भरमा निर्णय गर्नुहुँदैन् ।’ उनले वाईड बडी खरिद प्रकरणमा पनि ठूलो भ्रष्टाचार भएको कुरा सुन्नमा आएको बताए ।
सरकारले आफूहरुसँग कुनै छलफल तथा सम्वाद नै नगरेको गुनासो पनि उनले पोखे । उनले भने, ‘प्रधानमन्त्री भारत, चीन र संयुक्तराष्ट्र जानुभयो । संयुक्त राष्ट्रसंघ जानुभन्दा पहिले देउवाजीसँग डाईलग गरेको भए हुन्थ्यो । अमेरिकाबाट कोष्टारिकापनि जानुभयो । १८ देखि २० करोड खर्च भयो । तर, भ्रमण दलमा प्रतिपक्षी दलका सांसदहरुलाई समावेश गर्नुभएन् । प्रधानमन्त्रीले सम्वाद नै गर्नुभएन् ।’
एनले भने, ‘स्वयम नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनुभएको छ । ७ महिनाको यो छोटो कार्यकालको संकेत हेर्दा हामीले अनुमान गर्न सक्छौं । अहिले धेरै ठूलो दबाब र उकुसमुकुसका साथ नेकपाकै नेताहरुले पनि सरकार असफलतातर्फ उन्मुख छ भनेर भन्नुभएको छ । उहाँहरुले ओली नेतृत्वको सरकार क्रमिक रुपमा असफलतातर्फ उन्मुख छ भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्