चार वर्षपछि फर्नेस तेल बिक्री खुला «

चार वर्षपछि फर्नेस तेल बिक्री खुला


माग घटेको भन्दै चार वर्ष अघिदेखि रोकिएको फर्नेस आयलको बिक्री पुनः सुरु गरिएको छ । नेपाल आयल निगमले व्यवसाय विविधीकरण गर्नका लागि भन्दै फर्नेस तेल बिक्री सुरु गर्ने भएको हो । बजारमा यस्तो तेलको माग बढ्न थालेको र कारोबारलाई व्यवस्थित गर्ने भन्दै निगमले अब निजी क्षेत्रलाई फर्नेस आयल ल्याउन अनुमति दिनेछ । निजी क्षेत्रले निगमको अनुमतिमा ल्याएर बिक्री गर्न पाउनेछन् ।
निगमका प्रबक्ता वीनितमणि उपाध्यायले फर्नेस आयल बिक्री खुला गरिएको जानकारी दिए । उनका अनुसार अब निगमले निजी क्षेत्रलाई खरिद आदेश (पीडीओ) दिनेछ । निगमको नयाँ व्यवस्थापछि यसको कारोबार गर्दै आएका व्यवसायीहरूले स्व्स्फूर्त रुपमा खरिद बिक्री गर्न पाउने छैनन् । उनीहरूले यस्तो आयलको कारोबार गर्न निगमको अनुमति अनिवार्य लिनुपर्ने छ । “अहिलेसम्म व्यवसायीले भारतीय आयल कर्पाेरेसन (आईओसी)बाट सिधै खरिद गर्दै आएका थिए,” प्रवक्ता उपाध्यायले भने, “यो व्यवस्थाले निगमको एकाधिकार कायम हुनुका साथै कारोबार व्यवस्थित हुने अपेक्षा छ ।” निगमका अनुसार व्यवसायीले भारतको हल्दिया रिफाइनरी डिपोबाट आयल ल्याउन सक्नेछन् । साथै भारतकै मथुरा रिफाइनरी पीडिओ जारी गर्ने निगमले जानकारी दिएको छ ।
फर्नेस आयल खरिदका लागि निगमले तोकेका तीनओटा कार्यालय तोकेको छ । प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं.२ को अमलेखगञ्ज र निगमको केन्द्रीय कार्यालय काठमाडौंमा सम्पर्क गर्नुपर्ने निगमले जनाएको छ । नेपालमा खासगरी यो तेल औद्योगिक प्रयोजनका लागि प्रयोग गरिदैं आएको छ । यद्यपि नेपालमा हालसम्म कति र कुन कुन कम्पनीले यस्तो तेल आयात गरी कारोबार गर्दै आएका छन् भन्ने एकीन तथ्यांक भने नभएको निगमको भनाइ छ ।
पछिल्लो समय नेपालमा यस्तो तेलको माग बढेको र निगम पनि व्यापार बिबिधिकरण बिस्तार गर्ने तयारीमा रहेका बेला लाभदायी हुने देखेपछि निगमले बिक्री अनुमति खुला गरेको छ । नेपालमा यो तेलको बिक्री बितरण हुँदै आए पनि पारदर्शी र प्रतिस्पर्धी नहुँदा निगमले व्यवस्थित गर्न खोजेको हो ।
फर्नेस आयल डिजेलको तुलनामा निकै सस्तो हुन्छ । अहिले डिजेलको कारोबार प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुँदै आएको छ, भने फर्नेस आयल प्रतिलिटर ६० रुपैयाँसम्ममा बिक्री हुन्छ । फर्नेस आयल बिक्रीको एकाधिकार हातमा ल्याएपछि निजी क्षेत्रले गर्दै आएको कारोबार थप व्यवस्थित हुँदै जाने अपेक्षा निगमको छ । निगले फर्नेस तेलको मूल्य प्रति टन ५३ हजार ८ सय ३६ रुपैयाँ निर्धारण गरेको छ ।
फर्नेस आयलको उच्चतम प्रयोगकर्ता नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको मल्टी फ्युल पावर प्लान्ट बन्द भइ माग घटेपछि निगमले यसको बिक्री बितरण रोकेको थियो । निगमले फर्नेस तेल आर्थिक वर्ष २०७३-७४ मा ३६ टन आयात गरेको थियो । वर्ष २०७२-७३ मा ७७ टन आयात गरेको थियो । २०७१-७२ मा आठ सय ८३ टन आयात गरेको थियो भने २०७०-७१ म हजार १ सय ७१ टन आयात गरेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्