कालेश्वरम लिफ्ट सिँचाइ : एउटा अद्वितीय आयोजना «

कालेश्वरम लिफ्ट सिँचाइ : एउटा अद्वितीय आयोजना

छिमेकमा सि“चाइ क्षेत्रमा यति ठूलो आयोजना कार्यान्वयनमा रहनु नेपालजस्तो कृषिप्रधान मुलुकका लागि अनुकरणीय नभइरहन सक्दैन ।

१ सय ९० वर्ष ब्रिटेनको पञ्जामा रही १९४७ अगस्ट १५ मा स्वतन्त्र भएको भारतले १९५२ देखि पञ्चवर्षीय योजना अवलम्बन गर्यो । कृषिक्षेत्रको स्तरोन्नति पञ्चवर्षीय योजना समेटिएको महत्वपूर्ण लक्ष्य थियो । सोहीअनुरूप १९६० ताकाबाट कृषिक्षेत्रमा अनेकन पहल भए । जहाँ कृषिक्षेत्रलाई यान्त्रीकरण गरियो । सिँचाइका लागि नहरहरू निर्माण गरिए । मल, बीउबिजन, कीटनाशक औषधीको उपयुक्त प्रबन्ध मिलाइयो । भौगोलिक उपयुक्तताका आधारमा पूर्वी भारतमा धान तथा गहुँ र मध्यभारतमा तरकारी, फलपूmल, दलहनमा जोड दिइयो । सबथोक तारतम्य मिल्दा धान, गहुँजस्ता खाद्य बालीको उत्पादनमा उल्लेखीय वृद्धि भयो । उदाहरणार्थ १९६४ मा १ करोड टनमा सीमित गहुँको उत्पादन १९८५ मा ४.५० करोड टन पुग्यो । १९८४ मा कुल खाद्य उत्पादन १५ करोड टन पुग्यो, जसका कारण खाद्यान्नमा भारत आत्मनिर्भर बन्न पुग्यो । कृषिक्षेत्रमा सुधार त्यसको प्रभाव आर्थिक वृद्धिमा पर्न थाल्यो, जसका कारण १९८० को दशकमा ५.३ प्रतिशत भएको आर्थिक वृद्धि १९९० को दशकमा ६ प्रतिशत पुग्यो ।

सिँचाइ सुविधा र कृषिक्षेत्रको उत्पादकत्वबीच नङमासुजत्तिकै सम्बन्ध रहन्छ । यसैले सिँचाइ कृषिक्षेत्रका खातिर जीवनरक्त मानिन्छ । उक्त कुरा राम्रैसँग हेक्का राखेको छ, भारतले । यहाँ भारतको तेलंगाना राज्यको कालेश्वरममा निर्माणाधीन त्यस्तो सिँचाइ आयोजनाको चर्चा गर्न खोजिएको छ, जुन वास्तवमै अनुपम छ, अद्भुत र अद्वितीय छ ।
कुल १ लाख १२ हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको तेलंगाना राज्यको स्थापना २०१४ जुन २ मा मात्र भएको हो । भौगोलिक रूपमा दक्षिण भारतमा पर्ने तेलंगाना क्षेत्र आफंैमा सुक्खा पठार क्षेत्र हो । सिँचाइका लागि मात्र होइन, पिउनका लागिसमेत तेलंगानावासी काकाकुलको जीवन जिइरहेका थिए । यहाँसम्म कि जलको नाममा बर्सेनि कहियनले जीवनबाट हात धुन्थे । जलको महासंकटसँग जुध्न २००७ मा तत्कालीन कांग्रेस सरकारले प्रनाहिना चेल्वा लिफ्ट इरिगेसन स्किम अगाडि बढाएको थियो, जसको कुल सञ्चय क्षमता १६.५ टिएमसी फिट मात्र मात्र थियो । २०१४ मा जब तेलंगाना राज्यको स्थापना भयो, तेलंगाना क्षेत्रबाट जलसंकटलाई सदाका लागि पारपाचुके दिने निधो गरियो । जसका निमित्त हेडवर्क, स्टोरेज क्यापासिटी, लिफ्ट सिस्टम, टनेल र डिस्ट्रिब्युट नेटवर्कको रिडजाइन्डसहित आयोजना रिनेम्ड गरियो । यो कार्य त्यति सहज होइन, तर पनि यो चुनौतीपूर्ण कदम तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर रावले स्वीकार गरेका छन् । २०२२ सम्ममा पूरा गर्ने गरी २०१६ मा आयोजना सुरुवात भइसकको छ । आयोजनाका तमाम यस्ता विशेषताहरू छन्, जसका कारण कालेश्वरम लिफ्ट सिँचाइ आयोजनाले अनुपम आयोजनाको हक राख्दछ ।
नदी र जमिनको सतहबीच जति दूरी अधिक हुन्छ, पानी लिफ्टिङ गर्न त्यत्तिकै शक्ति खर्चनुपर्छ । गोदावरी नदी समुद्री सहतबाट १ सय मिटर उचाइमा बग्छ छ भने तेलंगाना क्षेत्र ५–६ सय मिटर उचाइमा अवस्थित छ, जहाँ गोदावरीको पानी तेलंगानामा ल्याउन करिब आधा किलोमिटर लिफ्ट गर्नुपर्छ । यसका निमित्त पम्पको पूर्वाधार जमिनको भन्दा ३ सय २१ मिटर मुनि निर्माण गरिएको छ । जुन अनेत्र केही देख्न पाइन्न । पानी लिटिफ्टङका लागि २० वटा लिफ्ट, १९ वटा पम्प हाउससहित ८२ वटा पम्प जडान भएका छन् । महत्वपूर्ण कुरा चाहिँ आयोजनाको सुरक्षा मानकमा पूरापूर ध्यान दिइएको छ । मेसिनरी संयन्त्र अटोमेसिन गरिएको छ । जहाँ सिंगो आयोजना ७ लिंक, २८ प्योकजमा विभाजित गरी अगाडि बढाइएको छ ।
रिजर्भवायर लिफ्ट सिँचाइको महत्वपूर्ण हिस्सा मानिन्छ । रिजर्भवायर निर्माणको लागि मनग्य लागत दरोकार पर्छ । आयोजनामा २० नयाँ रिजर्भवायर निर्माण भइरहेको छ भने ५ वटालाई स्तरोन्नति गरिँदै छ, जहाँ क्षमता १ सय ४७ टिएमसी फिट पानी स्टोरेज गर्न सकिने छ भने १८० टिएमसी फिटसम्म युटिलाइज गर्न सकिनेछ । जुन अलौकिकजस्तै हो । हेक्का रहोस्, १ टिएमसी फिट भनेको २३.८ अर्ब लिटर हो ।
धेरै पानी स्टोरेज गर्न लिफ्टिङ क्षमता अधिक हुनु आवश्यक हुन्छ । कालेश्वरम आयोजनामा दैनिक २ देखि ३ टिएमसी फिटसम्म पानि लिफ्टिङ गर्न सकिनेछ । जबकि यसपूर्वका निर्माण भएका लिफ्ट सिँचाइ आयोजनाको लिफ्टिङ क्षमता १ देखि २ टिएमसी फिटभन्दा अधिक रहेको छैन । तेलंगानाको लिफ्टिङ क्षमता यति धेरै हुने छ कि ठूला भन्दा ठूला ताल क्षणभरमै भर्न सकिनेछ ।
नहरको लम्बाइ जति अधिक हुन्छ, नहरको पानी त्यति टाढासम्म पुग्न सक्छ । यसको मतलब नहरको लम्बाइले यसले समेट्ने क्षेत्रफल निर्धारण गर्छ भन्ने हो । जहाँ कालेश्वरममा लम्बाई १ हजार ८३२ किलोमिटर लामो नहर निर्माण भइरहेको छ । जसले विश्वको अहिलेसम्मकै लामो मानिने ग्रान्ड क्यानल (१,७७७ किलोमिटर) लाई उछुन्दो छ, जुन नेपालको पूर्व–पश्चिम लम्बाइ भन्दा २.१५ गुना अधिक हो, जसबाट तेलंगाना राज्यको १५ जिल्ला ७ लाख ३८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ, जुन सिक्टा नहरले गर्न सक्ने सिँचाइभन्दा १७.५७ गुना अधिक हो ।
बहुआयामिक आयोजना निर्माण हुँदा त्यसको महत्व, उपादेयता र प्रतिफल अधिक हुन्छ । यसको अर्थ बहुउद्देश्यीय आयोजना एकल उद्देश्यीय आयोजनाभन्दा कहियन गुना अब्बल हुन्छ भन्ने हो । जहाँ १ सय ४७ टिएमसी फिट जलमध्ये सिँचाइका लागि १ सय टिएमसी फिट, सहरी क्षेत्रमा पिउने प्रयोजनका लागि (हाइड्रावाद र सिकिन्द्रावाद) २० टिएमसी फिट, गाउँ तथा दुरदराजमा पिउने प्रयोजनका लागि १० टिएसिफिट र औद्योगिक प्रयोजनका लागि १७ टिएमसी फिट उपयोग गर्ने लक्ष्य तय भएको छ ।
लिफ्ट सिँचाइ आयोजनामा ऊर्जाको सर्वोपरि महत्व रहन्छ । यसको अर्थ ठूलो परिमाणमा पानी लिफ्ट गर्न त्यतिकै अधिक ऊर्जाशक्ति आवश्यक पर्छ भन्ने हो, जहाँ कालेश्वरम लिफ्ट सिँचाइ आयोजनाको अप्रेसनका लागि मात्र ४ हजार ६ सय २७ मेगावाट बिजुली आवश्यक पर्ने छ भने सिंगो आयोजनाको लागि १३ हजार ५ सय ५८ मिलियन युनिट बिजुली आवश्यक पर्ने बताइन्छ । प्याकेज ८ को कुरा गर्ने हो भने एउटै पम्पका लागि १ सय ३९ मेगावाट बिजुली आवश्यक पर्छ, जुन प्याकेजमा ७ वटा पम्प जडान भइरहेको छ । यस हिसाबले आयोजना अपे्रेसनका लागि मात्र नेपालको कुल उत्पादनभन्दा ४.५ गुना बिजुली आवश्यक पर्नेछ, जुन वास्तवमै अद्भुत हो ।
बृहत् आयोजनाको लागत स्वभाविकै रूपमा भीमकाय हुन्छ । जहाँ कालेश्वरम आयोजनाको लागत ८०.५ खर्ब भारु अर्थात् १३०.६ खर्ब नेपाली रहेको छ, जुन नेपालको कुल जीडीपी भन्दा ४.३५ गुना अधिक हो, जसमा १० खर्ब ब्यय भइसकेको छ भने २०१८ मा ७० अर्ब विनियोजन भएको छ । जहाँ बैंकको ७४ अर्ब ऋण स्वीकार गरिएको छ । खर्चको बोझ राज्य सरकराले नै उठाएको भए तापनि केन्द्रीय सरकारसँग सहायता अपिल गरिएको छ ।
लागत वृद्धि हुन नदिन र आयोजनाबाट शीघ्र प्रतिफल प्राप्त गर्न निर्धारित समयमै आयोजना टुंगो लाग्नुपर्छ । नेपालले पाठ सिक्नैपर्ने कुराचाहिँ यति ठूलो आयोजना मात्र ६ वर्षमा पुरा गर्ने लक्ष्य लिइएको छ, जहाँ हामीले अगाडि सारेका २१ थान गौरवका आयोजनमध्ये कुनै पनि आयोजना निर्धारित समयमा पूरा हुन सकेका छैनन् । त्यसो त यति भीमकाय आयोजनाका लागि ६ वर्षको अवधि निकै पेचिलो समय हो । तथापि सयौं इन्जिनियर र हजारौं कामदार अहोरात्र खटिरहेकाले निर्धारित समयमै आयोजना निर्माण सम्पन्न गर्ने निर्माता कम्पनी मेगा इन्जिनिरिङ एन्ड इन्फास्टक्चर लिमिटेडको दाबा छ । भलै तोकिएको समयमा पूरा हुन सक्छ÷सक्दैन, त्यो भने हेर्न बाँकी छ । छिमेकमा सिँचाइ क्षेत्रमा यति ठूलो आयोजना कार्यान्वयनमा रहनु नेपालजस्तो कृषिप्रधान मुलुकका लागि अनुकरणीय नभइरहन सक्दैन । तथापि, राम्रो कुराको अनुकरण गर्नु÷नगर्नु त्योचाहिँ नेपालको आफ्नो कुरा ।

प्रतिक्रिया दिनुहोस्