सूचनाको हकमा महिला पत्रकारको भूमिकाबारे अन्तरक्रिया «

सूचनाको हकमा महिला पत्रकारको भूमिकाबारे अन्तरक्रिया

नेपाल पत्रकार महासंघ महिला समितिले सूचनाको हकबारे महिला पत्रकारको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महासंघमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले तिरेको करबाट सञ्चालित निकायमा हुने गतिविधिबारे जनतालाई जानकारी दिन सूचनाको हक सम्बन्धी कानुन बनेको बताए ।
उनले नेपाल सरकारले सूचना दिनै भनेर छुट्टै कर्मचारी नियुक्त गरेको भएता पनि सूचना दिन नजानेको भन्दै सूचना नदिने कर्मचारी विरुद्घ आयोगमा उजुरी दिन आग्रह पनि गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघको पहलमा सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको भरपुर सदुपयोग गर्नुपर्ने विचार व्यक्त गरेका थिए भने सञ्चारिका समूहकी नवनिर्वाचित अध्यक्ष नितु पण्डितले कार्यक्रमको आयोजना गरेकोमा महासंघलाई धन्यवाद दिँदै पत्रकारहरुमा सूचनाको हक सम्बन्धी व्यवस्थाको प्रयोग गर्ने प्रचलन कम रहेको भन्दै त्यसमा जोड दिन पत्रकारहरुलाई आग्रह गरिन् ।
महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले पुरुष पत्रकार सरह महिला पत्रकार पनि सक्षम छन् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको धारणा राखिन् । महासंघ लेखा समिति सदस्य मिराराज भण्डारीले महिला पत्रकारको क्षमता अभिवृद्घिका तथा सूचनाको हकको प्रयोगका लागि कार्यक्रमको आवश्यकता रहेको धारणा राखेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्