महोत्सवको विषयमा दमौलीमा आरोप प्रत्यारोप

दमौली : तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइले गर्न लागेको दमौली महोत्सवलाई प्रभावित पार्न आदिवासी जनजाति सांस्कृतिक महोत्सव गर्न लागिएको आरोप लगाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै दमौली बजार एकाइले पुस २७ गतेदेखि हुने तेस्रो दमौली महोत्सवलाई असर पार्ने गरी जनजाति महासंघले महोत्सव आयोजना गर्न लागेको आरोप लगाएको हो । साथै एकाइले आदिवासी जनजाति सांस्कृतिक महोत्सव औद्योगिक तथा व्यावसायिक नभई नितान्त संस्कृति झल्कने सांस्कृतिक महोत्सव हुनुपर्ने भनेको छ । व्यापारिक महोत्सव देशभरि नै व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको भन्दै अन्य निकायबाट समेत व्यावसायिक महोत्सव सञ्चालन गर्ने अनुमति प्रदान गर्दै जाने हो भने यसले समग्र सामाजिक व्यवस्थामा नै नकरात्मक प्रभाव पार्ने एकाइ सभापति कृष्ण आचार्यले बताए । यद्यपि तनहुँमा महोत्सवको सुरुवात भने नेपाल आदिवासी जनजाति महासंघले नै गरेको हो । २०६२ सालमा प्रथम सांस्कृतिक महोत्सव सञ्चालन भएपछि तनहुँमा महोत्सवको श्रृंखला सुरु भएको थियो ।