चाडपर्व सुरु भए पनि ग्रामीण सडक अवरुद्ध «

चाडपर्व सुरु भए पनि ग्रामीण सडक अवरुद्ध

पाँचथर-नेपालीहरूको महान पर्व बडादसैँ आउन एक महिनामात्र बाँकी रहँदा पाँचथरका अधिकांश ग्रामीण सडक अझै सुचारु हुन सकेका छैनन् ।
सडक सुचारु हुन नसक्दा ग्रामीण व्यापारी र उपभोक्ता चिन्तित हुन थालेका छन् । दसैँ नजिकिए पनि पानी परिहेकाले सडक सुचारु हुन नसकेको हो । ग्रामीण सडक सुचारु हुन नसक्दा दसैँ र तिहारका लागि चाहिने खाद्यान्नलगायतका सामग्री गाउँगाउँ पुग्न कठिन भएको छ ।
दसैँ लागिसक्यो तर दसैँका लागि मागअनुसारको सामग्री ल्याउन नसकेको मिक्लाजुङ–३ आरुबोटे दशमीका व्यवसायी रवि राईले बताए । झापाबाट सामग्री ल्याउनु पर्ने तर बाटो हिलो र पहिरोले गर्दा सामान ल्याउन कठिन भएको उनले बताए ।
अरु बेला दसैँ आउन एक महिना अगाडि नै दसैँ र तिहारका लागि चाहिने खाद्यान्नलगायतका सामग्री स्टोर गरिसकेको हुन्थे तर यो वर्ष अहिलेसम्म खाद्यान्नलगायतका सामग्री ल्याइ नसकेको मिक्लाजुङ–२ सप्तमी बजारका व्यापारी सन्तोष शेर्माले बताए । अब घाम लाग्न थालेको छ सायद एक सातामा सडक केही सहज भएपछि खाद्यान्नलगायतका सामग्री आइपुग्छ होला शेर्माले बताए । सडक सुचारु नहँुदा व्यापारीलाई मात्र होइन उपभोक्तालाई पनि उत्तिकै चिन्ता हुन थालेको छ । एक महिनासम्म आवश्यक सामग्री आइनपुग्दा उपभोक्तालाई चाडपर्वको बेलामा महँगी बढ्ने चिन्ता बढेको छ । दसैँको लागि चाहिने चिउरा, चिनीलगायत सामग्री अघिल्लो दसैँमा एक महिना अगाडि नै खरिद गरिसकेका हुन्थे तर यो वर्ष अहिलेसम्म खरिद गरिनसकेको मिक्लाजुङ–१ का यामबहादुर बस्नेतले बताए । प्छि दसैँको बेलामा मूल्य उच्च हुन्छ कि भन्ने डर लागेको बस्नेतले बताए ।
अघिल्ला वर्षमा दसैँ सुरु हुन एक महिना अगाडि नै गाउँ गाउँको सडक सुचारु हुने गरे पनि यो वर्ष साउन अन्तिम र भाद्र दोस्रो सातासम्म पनि पानी परिरहेकाले सडक सुचारु हुन केही ढिला भएको यातायात व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्