Logo

होटलद्वारा अदालतको आदेश बेवास्ता

जनकपुरधाम-डेढ दशकदेखि अनधिकृत रुपमा चलाउँदै आएको एक होटलको कारखाना बन्द गर्न उच्च अदालत जनकपुरले फैसला नहुञ्जेलसम्मका लागि अन्तरिम आदेश जारी गरे पनि होटलवालले अवज्ञा गरेका छन् । स्थानीयवासीको लामो प्रयास र निरन्तर रुपमा चलेको विभिन्न संवाद तथा सरोकारवाला निकायको असफल हारगुहारले समेत काम नलागेपछि अन्तिम समयमा आएर अदालतको शरणमा पुगेपछि तत्कालको लागि भान्सा घर बन्द गर्न आदेश दिएको हो ।
उच्च अदालत जनकपुरमा प्रमोद कुमार कर्णसमेतले रघुपति मिष्ठान्न भण्डार र ओम बेकरीले अनधिकृत रुपमा भान्सा घर अन्यत्रै सञ्चालन गरी स्थानीयवासीको स्वास्थ्यमा गम्भिर असर परिरहेको भन्दै तत्काल बन्द गरी सो ठाउँबाट हटाउनका लागि दिएको परमादेश मुद्दामाथि न्यायधीश डा. रवि शर्मा अर्यालले यस्तो आदेश दिएका छन् ।
तर, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० जानकी चोकस्थित रघुपति मिष्ठान्न भण्डार र ओम बेकरीजले एक साताभन्दा बढी समय बितिसक्दा पनि सो अन्तरिम आदेशलाई बेवास्ता गर्दै भान्सा घर सञ्चालन गरिरहेका छन् ।
इजाजत पाएको स्थानमा उत्पादन नगरी अनधिकृत रुपमा अर्कै क्षेत्रमा उत्पादन गर्नाले कारखानाबाट निस्कने धुँवा तथा फोहोरबाट त्यस क्षेत्रका सर्वसाधारणको नेपालको संविधान बमोजिम प्राप्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकमा असर परेको ठहर उच्च अदालत जनकपुरको छ । सो परमादेशको अन्तरिम आदेश जारी गर्दै उच्च अदालतले स्थानीय व्यक्तिहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी हाल सञ्चालनमा रहेको उक्त कारखाना अनधिकृत रहेकोले निवेदनको टुंगो नलागेसम्म विपक्षीको नाउँमा २०७३को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिएको उल्लेख छ ।
जउमनपा १० स्थित देवी चोकका स्थानीय व्यक्तिले प्रदूषण फैलाउने हिसाबले होटलको भान्सा घर सञ्चालनमा रहेको भन्दै जनकपुर उच्च अदालतमा मुद्दा दर्ता गरेपछि भान्सा घर खाली गर्न होटललाई अदालतले आदेश दिएको छ । यही असोज १ गते जनकपुर उच्च अदालतले रघुपति मिष्ठान्न भण्डार तथा ओम बेकरीज एण्ड स्वीट्सको नाममा १५ दिनभित्र सो भान्साघर त्यहाँबाट हटाउनका लागि आदेश दिएको थियो ।
अदालतले रघुपति मिष्ठान्नको मिठाईलगायतको खाद्य पदार्थ उत्पादन गर्ने कारखानाबाट धूलो, धुवाँ तथा केमिकल्सयुक्त पानीले स्थानीयवासीको स्वास्थ्यमा गम्भिर असर पारिरहेकोले सो स्थानबाट भान्सा घर खाली गर्न भनेको छ । साथै ईजाजत प्राप्त स्थानमा मात्रै होटलमा प्रयोग हुने खाद्यवस्तुको उत्पादन गर्न आदेश दिएको छ ।
अदालतले जारी गरेको अन्तरिम आदेशको खिल्ली उडाउँदै भान्सा घर सञ्चालन गर्नु भनेको स्थानीयवासीको स्वास्थ्यसँग खेलवाड गर्नु नभई अदालतप्रतिको उपहास रहेको आरोप स्थानीयवासी रतनलाल कर्णले लगाए । अहिलेसम्म त्यही भान्सा घर सञ्चालनमा रहँदा स्वास्थ्यमा प्रतिकूल असर परिरहेको स्थानीय हिरानन्द लाल कर्णले बताए । उनले अनधिकृत रुपमा कारखाना सञ्चालन गरी सो कारखानाबाट निस्कने केमिकल्सयुक्त फोहोर पानी आफ्नो जग्गामा बगाउँदै आइरहेको आरोप लगाए । कारखानाबाट निस्कने फोहोर पानीबाट कष्टकर जीवन बिताउँदै आइरहेको स्थानीय प्रमोद कुमार कर्णले दुःख व्यक्त गरे ।
स्थानीयवासीले त्यहाँबाट कारखाना हटाउन पटक पटक भनेपनि अटेर गरेपछि एक दर्जनभन्दा बढी स्थानीयवासीले उच्च अदालत धनुषामा मुद्दा दर्ता गराएका थिए । यता रघुपति मिष्ठान्न भण्डारका सञ्चालक दशरथ साहले अदालतको आदेशलाई सम्मान गरे पनि मुद्दा चलिरहेको भन्दै बन्द गर्ने कुनै छाँटकाँट देखाएका छैनन् ।
उनले सो ठाउँबाट भान्सा घर हटाउनको लागि अन्य ठाउँको खोजीमा रहेको बताए । उनले अदालतमा मुद्दा चलिरहेकाले भान्साघर अहिलेसम्म बन्द नगरी विकल्पको खोजीमा रहेको बताए । त्यस्तै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धनुषा, प्रमुुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योगको कार्यालय धनुषा, सोको कार्यालय प्रमुख, जनकपुर उपमहानगरपालिकाको कार्यालय, सोको नगर प्रमुख, ओम बेकरीज रघुपति मिष्ठान्न भण्डारलगायतलाई विपक्षी बनाएका छन् ।
किरण कर्ण

प्रतिक्रिया दिनुहोस्