कार्की, राई र बस्न्यात एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरीको रिक्त ३ अतिरिक्त महानिरीक्षक (एआईजी)मा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई बढुवा गरेको छ । शुक्रबार राति बसेको मन्त्रीपरिषद् बैठकले डीआईजीहरु प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त प्रमुख कार्की, केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख राई र कार्य विभागका निमित्त प्रमुख बस्न्यातलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो वरियता कायम सहित एआईजीमा बढुवा गरेको हो ।
बढुवासँगै सरकारले एआईजी कार्कीलाई अपराध अनुसन्धान तथा कार्य विभाग, राईलाई मानवस्रोत तथा प्रशासन विभाग र बस्न्यातलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पदस्थापना गरेको छ । यसअघि प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज) महानगरीय प्रहरी कार्यालय र प्रहरी मुख्यालय अन्तर्गत आइजीपीको कार्यालय, कार्य विभाग, प्रशासन विभाग, मानवस्रोत विभाग र अपराध अनुसन्धान विभाग गरी ७ वटा कार्यालयमा एआईजीको दरबन्दी थियो । तर महानगरीय प्रहरी र आइजीपीको कार्यालयमा रहेको एआईजी दरबन्दी कटौती तथा प्रशासन र मानवस्रोत तथा अपराध अनुसन्धान र कार्य विभाग मर्ज गरेपछि आइजीपीको दरवन्दी प्रहरी अस्पताल सहित ४ वटामात्रै कायम गरिएको छ । बढुवा भएका तीनैजना २०४६ माघमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका अधिकृत हुन् । उनीहरु प्रहरी महानरीक्षक सर्वेन्द्र खनालसँगै निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । गत वैशाखबाटै प्रहरीमा एआईजी पद रिक्त थियो । रिक्त भएको करिव ६ महिनापछि सरकारले एआईजीको पदपूर्ती गरेको हो ।