सुर्खेत जुम्ला आन्तरिक उडान सुरु
जुम्ला-वर्षौंपछि सिधै सुर्खेतबाट जुम्ला हवाई जहाज चड्ने जुम्लीको सपना पूरा भएको छ । कर्णाली प्रदेशको पर्यटन मन्त्रालयको पहलमा बल्ल सुर्खेतबाट सीधा जुम्ला जहाज चड्ने सपना पूरा भएको हो । कर्णालीमा आन्तरिक उडानका लागि पटक–पटक कर्णालीवासीले गरेको माग गर्दासमेत उडान हुन सकेको थिएन ।
छलफल र बहसमै सीमित कर्णालीको आन्तरिक अझै कर्णालीका चार जिल्लामा कहिले हुने पत्तो छैन् । तर, जुम्लाका लागि भने, बुधबारदेखि समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाजले सुर्खेत जुम्ला उडान सुरु गरेको छ । पहिला नेपालगन्जबाट जुम्ला यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।
सुर्खेत जाँदा नेपालगन्ज पुग्नुपर्ने बाध्यताबाट पनि जुम्लावासीले मुक्ति पाएको नागरिक समाजका सचिव सरोज शाहीले बताए । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले स्वयं चढेर जुम्ला पुगी सुर्खेत–जुम्ला उडानको उद्घाटन गरे । पर्यटनमन्त्रीसहित पहिलो उडानमा १८ जनाले सुर्खेतबाट जुम्लाको यात्रा गरेका छन् ।
साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लालाई प्राथमिकता दिँदै राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सीधा हवाई सेवा सुरु गरिएको मन्त्री बुढाले बताए । उनले भने, सुर्खेत जुम्ला उडानले नागरिकलाई सेवामा पहुँच मात्र नभई जुम्लाको पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने उनको विश्वास छ ।
कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एन्ड टुर जुम्लाको व्यवस्थापनमा समिट एयरले सुर्खेत–जुम्ला उडान गर्ने भएको छ । सुर्खेत–जुम्ला उडानको शुभारम्भ गर्दैै जुम्ला पुगेका पर्यटनमन्त्री नन्दसिंह बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला प्राथमिकतामा परेको बताए । नेपाल पर्यटन पत्रकार संघ जुम्लाले सुर्खेत–जुम्ला उडानको स्वागत गर्दै यसलाई निरन्तरता दिन सुझाव दिएको अध्यक्ष नेत्रबहादुर शाहीले बताए । सबैको माग आवश्यकतालाई मध्यनजर गरी नियमित उडानमा जोड दिइने समिट एयर जुम्लाका इन्चार्ज सन्तोजङ शाहीले बताए ।
कुन दिनमा हुन्छ उडान ?
वर्षौंपछि प्रदेश राजधानी सुर्खेतदेखि जुम्ला हवाई उडान सुरु भएको छ । तर, त्यो पनि नियमित नहुने इन्चार्ज शाही बताउँछन् । तत्कालका लागि नियमित उडान गर्ने अवस्थामा नरहेको उनको भनाइ छ । बुधरबार उडानको औपचारिक उद्घाटन भएसँगै, समिट एयरले साताको दुईदिन मंगलबार र शुक्रबार मात्रै उडान गर्नेछ । अन्य ५ दिनमा भने उडान नहुने भएको छ । साताका दुई दिनमा हुने उडानका लागि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको इन्चार्ज शाहीले जनाए ।
सुर्खेत–जुम्लाको भाडादर भने १ सय रुपैयाँले तलमाथि परेको छ । सुर्खेतबाट जुम्ला जाँदा ४ हजार १ सय र जुम्लादेखि सुर्खेत आउँदा ४ हजार भाडा तिर्नुपर्ने भएको छ । जुम्ला तथा सुर्खेतमा टिकट बुकिङ उडानका लागि यात्रुहरूलाई गो कर्णाली टुर एन्ड ट्राभल्स तथा स्नोल्यान्ड होटलले सघाउने भएको छ ।
समिट एयरसँग भएको सम्झौताअनुसार गो कर्णाली टुर एन्ड ट्राभल्सले सेवा दिनेछ । उडानको उद्घाटन शुभारम्भको जानकारी दिन जुम्ला पुगेका पर्यटनमन्त्रीले जुम्लाका पर्यटकीय तथा धार्मिक स्थलको अनुगमन गरेका छन् ।
जुम्ला जिल्लालाई पर्यटकीय सहरका रूपमा विकास गर्नका लागि मन्त्रायले करोडौं बजेट विनियोजित गरेको छ । उनले भने, “गुठिचौरको पर्यटन विकासका लागि १ करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न १ करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति १ करोड ५५ लाख बजेट लगायत अन्य क्षेत्रमा गरी करोडांै बजेट विनियोजन गरिएको छ ।
चार जिल्लामा उडान कहिले ?
धौ–धौ गरी पर्यटन मन्त्रायले चासो दिएर प्रदेश राजधानी सुर्खेतबाट जुम्लाका लागि उडान सुरु भएको छ । तर, अन्य चार जिल्ला हुम्ला, डोल्पा, मुगु र कालिकोटको बाध्यता उस्तै छ । सुर्खेत जानका लागि नेपालगन्ज पुग्नुपर्ने । कर्णाली विगतदेखि उपेक्षाको सिकार भए पनि अब परिवर्तनको शाहस फेर्ने तर्खरमा रहेको मन्त्री नन्दबहादुर बूढाले भने ।
उनका अनुसार कर्णालीका बाँकी ४ जिल्लामा पनि उडानका लागि पहल गरिनेछ । अबको केही समयमै कर्णालीका बाँकी ४ जिल्ला पनि हवाई सेवाबाट सुर्खेत जोडिने उनको प्रतिबद्धता छ । कर्णालीका सम्भावनालाई चिनाउन पनि हवाई उडानलाई प्रथामिकता दिने बताए ।
मन्त्रायले पहल लाई निर्णयर्थ बनाउन निकै कसरत गर्ने र कर्णालीमा चाँडै आन्तरिक उडान हुनेछ । जुम्लामा उडान भएपछि बाँकी ४ जिल्लाकाले पनि चाडो उडानको व्यवस्था मिलाउन माग गरेका छन् । पहिलो उडानमा जुम्ला पुगेका पर्यटनमन्त्री सहितको टोली प्रदेश राजधानी फर्किएको छ ।