सिमरामा रात्रि उडान नियमित

बारा-सफल परीक्षण उडान गरेको ४ वर्षपछि बाराको सिमरा विमानस्थलबाट रात्रि उडान नियमित हुने भएको छ । निजी विमान कम्पनीहरूले प्राधिकरणसँग उडान अनुमति तालिका लिएपछि भदौ ३१ गतेबाट रात्रि उडान नियमित हुने भएको हो ।
देशकै ठूलो औद्योगिक तथा व्यापारिक क्षेत्रमा अवस्थित बाराको सिमरास्थित विमानस्थलमा करोडौं खर्च गरेर तयार बनाइएको रात्रिकालीन विमान अवतरणका लागि बनाएको सबै पूर्वाधार ४ वर्षदेखि उपयोगविहीन बनेको थियो ।
नाइट बेसमा आधारित उडान कहिलेकाहीँ हुने गरेको छ, तर नियमित रात्रि उडान भने नभएको बताउँदै नागरिक उड्डयन प्राधिकरण कार्यालय सिमराका प्रमुख हिराजन काफलेले भने, “निजी विमान कम्पनी र विमानस्थलबीच प्राविधिक समस्या रहेको कारण रात्रि उडान नभएको हो ।”
सिमरा विमानस्थलमा रात्रिकालीन नियमित उडान र अवतरणका लागि भौतिक पूर्वाधारमा २० करोड खर्च गरेर तयार गरे पनि निजी विमान कम्पनी र विमानस्थलबीच प्राविधिक समस्या देखिएको कारण ४ वर्षसम्म रात्रि उडान हुनसकेन ।
हामीले उडानका लागि तयारी गरी दिने हो बोलाउने होइन काफलेले भने, “अब उडान नियमित हुन्छ र यसको प्रत्यक्ष फाइदा यही क्षेत्रकै यात्रुहरूले पाउने हो ।”
बुद्ध एयरले साना र ठूला गरी १० र नेपाल एयरलाइन्सले दैनिक १ उडान भरिरहेको उक्त विमानस्थल बारा, पर्सा रौतहट र्सलाहीका प्रायः उद्योगी व्यापारीबाहेक भारतीय यात्रुहरूले अत्याधिक प्रयोग गर्ने गर्छन् ।
औद्योगिक क्षेत्रका व्यवसायी, उद्योगी, सर्वसाधारणले पटक–पटक रात्रि उडानको माग गरे पनि निजी विमान कम्पनी र प्राधिकरणको आपसी तालमेल नहुँदा रात्रि उडान हुन सकेको थिएन ।
रात्रि उडानका लागि हामीले गरेको पटक पटकको अनुरोध र दबाब पूरा भएको छ, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा भन्छन्, “हामी खुसी छौं अब विशेष गरी भारतीय पर्यटक र स्थानीय यात्रुलाई राहत मिल्ने भयो ।
रात्रीकालीन उडान–अवतरणका लागि रनवे विस्तार, एप्रोच लाइट, एप्रोथोमस लाइट जस्ता पूर्वाधार र व्यवस्थापन विमान स्थलमा तयारी अवस्थामा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
निजी विमान कम्पनीहरूले अवतरणका लागि स्वीकृति नलिएका कारण रात्रि उडान समयमै हुन नसकेको काफ्लेले बताए । अब दैनिक २÷३ सय यात्रुले सेवा लिन सक्नेछन् उनले भने । निजी विमान कम्पनीका सञ्चालकहरूले समयमै विमानस्थलले रात्रिकालीन अवतरणका लागि डेडिकेटेड फिडर नराख्नु, विमानलाई इन्धन भर्ने सुविधा नहुनु, र यात्रुलाई रातिमा यातायात लगाएतका समस्या रहेकै कारण रातिको उडान समउमै गर्न नसकिएको जनाएको छ ।
बुद्ध एयरले मात्र दैनिक चार रात्रि उडानका लागि समय तालिका अनुमति स्वीकृत प्राप्त गरेको छ । भारतबाट आउने पर्यटकहरूले काठमाडांै जान स्थलमार्गमा आइरहने अवरोधका कारण हवाईमार्गका लागि सिमरा विमानस्थल प्रयोग गर्न थाले पछि विमानस्थलमा यात्रुको चाप भने दैनिक बढ्दै गएको छ ।
राजधानीबाट नजिक सिमरा विमानस्थल पछिल्लो समय भारतीयहरूले व्यापक प्रयोग गर्न थालेका छन् । सिमरा विमानस्थलबाट गत आर्थिक वर्षमा २६ हजार ५ सय ८१ जना यात्रुले उडान भरेका थिए भने २६ हजार ३ सय ४६ जनाले अवतरण गरेका थिए जसबापत २ करोड ६९ लाख राजस्वसमेत विमानस्थलले प्राप्त गरेको थियो ।
यस अघि नेपालकै भैरहवा, विराटनगर, र नेपालगन्जबाट रात्रिकालीन उडान सेवा सञ्चालन भइसकेको छ ।