आन्तरिक र बाह्य पर्यटक बटुल्दै बाराको लाखेनाच

बारा-बाराको पथलैयामा देखाइने लाखेनाच आन्तरिक र बाह्य पर्यटकको आकर्षण बनेको छ ।
साताव्यापी देखाइने उक्त नाच भारतीय तथा नेपाली पर्यटकको समेत रुचाइमा पर्न थालेपछि आकर्षक बन्न पुगेकोे हो । नेवा संस्कृति पुचले रक्षा बन्धनदेखि कृष्णजष्माटमीको रातसम्म धार्मिक विधिअनुसार सडक, गाउँ र टोलमा नचाउँदै हिँडेपछि नाच हेर्नकै लागि टाढाटाढाबाट आन्तरिक र बाह्य पर्यटक आउन थालेपछि लाखेनाचले यतिबेला चर्चा पाउन थालेको छ ।
भारतको रक्सौलदेखि काम विशेषले वीरगंज आएका मुजफरपुरका राम आशिष महतो लाखेनाच हेर्न पथलैया आइपुगेका छन् । उनी भन्छन्, “यहाँको कला संस्कृतिमा बेजोड आकर्षण छ मनले मानेन हेर्न आएँ ।”
त्यसो त पथलैयाको लाखेको आफ्नै इतिहास पनि छ । पथलैया बजार निर्माण क्रममा स्थानीय युवाले २०२६ सालदेखि हालसम्म निरन्तर लाखेनाच देखाउँदै आएका छन् । लामो इतिहास बोकेकै कारण यसले प्रसिद्धि कमाएपछि दुई नम्बर प्रदेशको एकमात्र स्थानमा देखाइने यो नाच लोकप्रिय भएकै कारण पर्यटनको आँखामा पर्न थालेको हो । लाखेनाचको प्रचारप्रसार आन्तरिक रूपमा आफंैमा बढ्दो अवस्थामा रहेकै कारण यसले आन्तरिक र बाह्य पर्यटक बटुल्न सफल बनेको हो ।
पथलैयामा धार्मिक अवसरबाहेक पनि प्रदेशभर हुने विभिन्न कार्यक्रम तथा समारोहमा लाखेनाच लगेर प्रदर्शन गरेकै कारण साताब्यापी लाखेनाच देखाउँदा घुइँचो लाग्ने गरेको छ । हेटौडाबाट आएका सिताराम भुजेजले आफू पहिलो पटक आएको बताउँदै धित मर्ने गरी लाखेनाच हेरेको बताए । उनले अबका दिनमा पनि लाखेनाच हेर्न नछुटाउने बताए ।
लाखेनाच हेर्न बिहारको रामगढवा, लक्ष्मीपुर, घोडासन, रक्सौैलदेखि भारतीय पर्यटक आउने गरेका छन् । नेपालको चन्द्रपुर, निजगढ, हेटौंडा, सिमरा, जितपुर, वीरगंजदेखि आन्तरिक पर्यटन आउने गरेको आयोजक मदन कंसकारले बताए । उनले आन्तरिक र बाह्य पर्यटनले यस क्षेत्रको समेत चिनारी बढ्नुका साथै ब्यापारसमेत बढेको बताए ।
रक्षा बन्धनदेखि ७ दिनसम्म विधिपूर्वक नचाइने लाखेनाच कृष्णजन्माष्टमीको मध्य रात भगवान कृष्णको प्रतिकात्मक स्वरुपबाट लाखेको हत्या गरी नाच बन्द गरिने परम्परा छ ।
प्रदेश २ कै जीवित संस्कृतिमध्येको एक मानिने लाखेनाचसँगै ७ दिन विभिन्न कार्यक्रम गर्ने गरिन्छ । उचित प्रचारप्रसार अभावमा लाखेनाचले अझै ब्यापकता पाउन नसकेको आयोजकको गुनासो छ ।