डेढ महिनादेखि बलेवा विमानस्थलमा उडान ठप्प «

डेढ महिनादेखि बलेवा विमानस्थलमा उडान ठप्प

पर्वत- झन्डै साढे दुई दशकपछि सञ्चालनमा आएको बलेवा विमानस्थल फेरि पनि डेढ महिनादेखि ठप्प बनेको छ । गएको चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको विमानस्थल झन्डै पाँच महिना पनि नपुग्दै बन्द भएको हो । अहिले डेढ महिनाभन्दा बढी दिनदेखि कुनै पनि उडान हुन सकिरहेको छैन ।
बलेवा विमानस्थलमा उडान भर्दै आएका दुइटै विमान बिग्रिएपछि उडान अवरुद्ध भएको हो । नेपाल एयरलाइन्सको विमान मर्मतमा राखिएको र तारा एयरको विमान हुम्लामा दुर्घटनामा परेपछि विमान अभावका कारण उडान नभरेको विमानस्थलले जनाएको छ । तारा एयरले सूचना नै जारी गरी असार, साउन र भदौमा उडान नहुने जानकारी गराएको थियो । अन्तिम पटक गएको असार २८ मा नेपाल एयरलाइन्सले उडान भरेको थियो ।
नेपाल वायुसेवा निगम बलेवा विमानस्थलका स्टेसन म्यानेजर कमलप्रकाश पौडेलका अनुसार “पुराना बिमान बिग्रिएका कारण झन्डै डेढ महिनादेखि उडान हुन नसकेको हो । एकातिर यात्रुको अभाव हुने र अर्कोतर्फ पुराना बिमान बिग्रिएर मर्मतका लागि राखिएकाले उडान हुन नसकेको हो ।”
अपुग यात्रुको हर्जना बागलुङ नगरपालिकाले बेहोर्ने सहमति भएपछि गएको चैत ९ गतेदेखि विमानस्थल सुचारु भएको थियो । नगरपालिकाले अपुग यात्रुहरूको हर्जना तिर्दै आएको भए पनि चालू आर्थिक वर्षदेखि विमान नै आउन छाडेपछि भुक्तानी गर्नसमेत रोकेको छ ।
चैतदेखि हालसम्म दुवै कम्पनीले गरी २५ वटा उडान भरेका छन् । नेपाल एयरलाइन्सले १३ र तारा एयरले १२ वटा उडान भरेको म्यानेजर पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सको १३ वटा उडानमा अपुग भएका यात्रुहरूको हर्जाना ५ लाख १४ हजार ४ सय र तारा एयरको १२ वटा उडानमा अपुग यात्रुको ५ लाख ६५ हजार रुपैयाँ नगरपालिकाले हर्जाना तिरेको छ ।
एकातिर विमानस्थल पनि कालोपत्रे नभएको र अर्कोतर्फ मौसमको कारण देखाउँदै उडान नमान्ने गरेको पौडेलले बताए । रनवे कालोपत्रे नभएकाले वर्षा रोकिएको दुई घण्टापछि मात्र उडान भर्न मिल्छ । उनले भने वर्षा र यात्रुको ग्यारेण्टी नहुँदा पनि समस्या भएको हो । तारा एयरले आगामी असोजदेखि र नेपाल एयरलाईन्सले केही दिनपछि मात्रै उडान भर्ने जानकारी आएको भए पनि निश्चित भने नभएको पौडेलले बताए । आइतबार तारा एयर र बिहीबार नेपाल एयरलाइन्सले उडान भर्दै आएका थिए ।
विमानमा दुवैतर्फ गरेर २४ जना यात्रु हुनुपर्नेमा यात्रु नपुग भएमा त्यसको हर्जना बागलुङ नगरपालिकाले बुझाउनुपर्ने सम्झौताअनुसार एक जना यात्रुको भाडा ६ हजार ७ सय ९५ को दरले नपुग हर्जना गर्दै आएका थियो ।
नगरपालिकाले हालसम्म अपुग भएका यात्रुहरूको मात्रै साढे १० लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको छ । नेपाल एयरलाइन्सको उडान भाडा प्रतियात्रु ५ हजार ६ सय कायम गरिएको थियो । बागलुङ नगरपालिकाबाट विमान कम्पनीहरूलाई २० लाख रुपैयाँ अग्रिम पेश्की दिएर बिमान कम्पनीहरू रित्तो जहाज उडाएर भाडा असुली थिए । यसैका कारण अहिले जनप्रतिनिधिहरूले नगरपालिकालाई कंगाल बनाउन लागेको भन्दै चर्को आलोचना समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्