बढ्दो चिनिया लगानीका संकेत «

बढ्दो चिनिया लगानीका संकेत

राज्यनियन्त्रित सम्पत्ति व्यवस्थाबाट निजी सम्पत्ति राख्न पाउने व्यवस्थामा परिणत गरिएसँगै चिनियाँ लगानीकर्ताहरू अवसरको खोजीमा विश्वभरि छरिएका हुन् । यो हाम्रा लागि एक अवसर पनि हो ।

विगत केही वर्षयता नेपालमा चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अनुपातमा वृद्धि हुँदै गइरहेको छ । आर्थिक वर्ष ०६९-७० देखि नै नेपालमा चिनियाँ लगानीले भारतीय लगानीलाई उछिन्न थालेको तथ्यांकले देखाउँछ । उक्त वर्ष कुल वैदेशिक लगानी प्रतिबद्धतामा भारतको हिस्सा १४ प्रतिशत रहेकोमा चीनको हिस्सा हङकङसहित गरी २९ प्रतिशत पुगेको थियो भने ०७०-७१ मा मुख्य भूमि चीन एक्लैको हिस्सा ३७ प्रतिशत पुग्यो भने हङकङसहित यो अनुपात ४० प्रतिशत पुगेको देखिन्छ । गत आर्थिक वर्ष ०७३-७४ मा चीन मुख्यभूमिको ४९ प्रतिशत र हङकङसहित झन्डै ६८ प्रतिशत पुगेको देखिन्छ । यो ससानो अनुपातमा साना तथा मध्यम उद्योगहरूमा आएको लगानीको आँकडामात्र हो, जसका लागि उद्योग विभागबाट अनुमति लिनुपर्छ । लगानी बोर्ड नेपालबाट अनुमति लिनुपर्ने १० अर्ब रुपैयाँभन्दा बढी लगानीका उद्योग र अन्य लगानीसमेत जोड्ने हो भने नेपालमा उत्साहजनक ढंगले बढ्दै गएको देखिन्छ । यद्यपि नेपालले आफ्नो सम्भावनाको निकै कम मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ । अंकट्याडका अनुसार सन् २०१६ मा चीनले विश्वभरि १ खर्ब ८३ अर्ब अमेरिकी डलर लगानी गर्यो । उक्त वर्ष विश्वभरिका अतिकम विकसित मुलुकहरू (एलडीसी) मा कुल ३८ अर्ब अमेरिकी डलरबराबर र भूपरिवेष्टित अतिकम विकसित मुलुकहरू (एलएलडीसी) मा २४ अर्ब ३२ करोड डलरबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रवाह भएकोमा नेपालमा १० करोड ६० लाख अमेरिकी डलरबराबरको मात्र लगानी प्रवाह भएको अंकट्याडको तथ्यांकले देखाउँछ ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नीतिगत कमजोरीका कारण वा अन्य कानुनी समस्याका कारण लगानी प्रवाह हुन नसकेको भने होइन । २०४९ पछि नै नेपालले बाह्य लगानीका लागि सीमित क्षेत्रहरूमा बाहेक प्रायः सबै क्षेत्र खुला गरिसकेको छ । नेपालको औद्योगिक व्यवसाय ऐनदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन दक्षिण एसियामै उदार मानिन्थ्यो । अझै पनि यसलाई थप उदार र खुला बनाउने प्रक्रियाहरू चलिरहेकै छन् । त्यसका बाबजुद पनि यहाँ बाह्य लगानी कम आउनुको कारण भने अब खोज्नैपर्छ । लगानीकर्ताहरूले हेर्ने राजनीतिक स्थिरताको पाटोमा अब देश अघि बढी नै सकेको छ भने लगानी सुरक्षाका लागिसमेत कानुनी प्रत्याभूति गरिसकिएको छ ।
बाह्य लगानी आकर्षित गर्नका लागि नेपालमा बजारको अन्तरसम्बद्धताको अभाव पनि छैन । उत्तर र दक्षिणी छिमेकमा रहेका २ अर्ब ७० करोड जनसंख्या हाम्रा लागि अपार बजार हो । दुवै बजारमा पहुँचका लागि विश्वभरिका लगानीकर्ताहरूले अवसर खोजिरहेको अवस्था छ । खास गरी चिनियाँ लगानीकर्ता यतिखेर नेपाल हुँदै भारतको ठूलो बजारसम्म पुग्न चाहिरहेका छन् । यहाँ मात्र होइन, चिनियाँ लगानीकर्ताहरू लगानीको अवसर खोज्दै अफ्रिकासम्म पुगिरहेका छन् । राज्यनियन्त्रित सम्पत्ति व्यवस्थाबाट निजी सम्पत्ति राख्न पाउने व्यवस्थामा परिणत गरिएसँगै चिनियाँ लगानीकर्ताहरू अवसरको खोजीमा विश्वभरि छरिएका हुन् । यो हाम्रा लागि एक अवसर पनि हो । स्वयं चीनको राज्य स्वामित्वका कम्पनीहरूले समेत नेपालको जलविद्युत्, सिमेन्टलगायतका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा थप लगानीका लागि सहजीकरणको व्यवस्था गरिनु आवश्यक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्