सेनाले उठाउन सकेन जोखिमको २९ करोड

नेपाली सेनाले विभिन्न बैंक-वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न सकेको छैन । कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक-वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो ।
सैनिक कल्याणकारी कोषले ३० वाणिज्य बैंक (तत्कालीन अवस्थामा तर, हाल मर्ज भएर वाणिज्य बैंक २८ मात्र छन्), २ विकास बैंक र ५ फाइनान्समा २७ अर्ब भन्दा बढी निक्षेप राखेको छ । हरेक वर्ष सेनाले पत्रकार सम्मेलन गरी जोखिमको निक्षेप फिर्ता गर्ने बताउँदै आए पनि पछिल्लो ७ वर्षमा पनि जोखिममा रहेको सैनिक कल्याणकारी कोषको धन उठाउन नसकेको हो । नेपाली सेनाका अनुसार सबैभन्दा बढी क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडबाट २२ करोड भन्दा बढी निक्षेप उठाउन बाँकी छ ।
सैनिक कल्याणकारी कोषका अनुसार युनाइटेड विकास बैंकबाट १ करोड ५७ लाख, नेपाल सेयर मार्केट एन्ड फाइनान्स लिमिटेडबाट २ करोड ३३ लाख, सम्झना फाइनान्स लिमिटेडबाट १ करोड र हिमालय फाइनान्स लिमिटेडबाट १३ लाख रुपैयाँ असुल्न बाँकी छ । त्यस्तै पाँचवटै बैंक-वित्तीय संस्थाबाट ६ करोडभन्दा बढी ब्याज पनि उठ्न सकेको छैन । सेनाले भने जोखिममा रहेको बैंक-बित्तीय संस्थाले निक्षेप फिर्ता गर्न नसकेपछि चलअचल सम्पत्तिबाट असुल प्रक्रिया अघि बढाइएको जनाएको छ । राष्ट्रबैंकले सेनाको पत्रपछि निक्षेप फिर्ता गर्न नसकेका वित्तीय संस्थाको स्वामित्वमा रहेका घरजग्गालगायत चलअचल सम्पत्ति बिक्री वितरणमा प्रतिबन्ध लगाए पनि सेनाले जोखिमको धन बराबरको सम्पत्ति हात पार्न सकेको छैन ।