आन्तरिक पर्यटक लोभ्याउँदै ह्यात्रुङ झरना

तेह्रथुम- दक्षिण एसियाकै लामो झरनाको रूपमा परिचित बनेको पूर्वी नेपालको तेह्रथुममा रहेको ह्यात्रुङ झरनामा पर्यटकहरु रमाउने गरेका छन् । वर्षा यामसँगै पानीको बहाव बढ्न थालेपछि पर्यटकको मुख्य आकर्षणको रुपमा फेदाप गाउँपालिकास्थित ह्यात्रुङ झरना पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ यहाँ । वर्षायामसँगै पानीको बहाव बढेपछि झरना अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । फेदाप गाउँपालिकाको सम्दु र इसिबुको बीच भागमा रहेको ३६५ मिटर अग्लो सो झरनासँगै रमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । झरना हेर्न विभिन्न जिल्लाबाट दैनिक रुपमा आन्तरिक पर्यटक आउने क्रम बढेको यात्रुङ झरना एकता समाजका अध्यक्ष राम तिम्सीनाले बताए ।
“समयमै वर्षात् भएपछि झरनामा पानीको मात्रा बढेकाले पर्यटक आकर्षित भएका छन्,” उनले भने । झरना हिउँदयाममा सुक्खा रहे पनि वर्षात्को समयमा अत्यन्तै आकर्षक र मनमोहक देखिन्छ । फुर्सदको समय तथा बिदाको दिनमा झरना हेर्न दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेका तिम्सिनाले बताए । जिल्लाकै आर्थिक समृद्धिका लागि ठूलो सम्भावना बोकेको ह्यात्रुङ झरना विकास, संरक्षण, संवद्र्धन र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ ।
सुक्खा याममा पानी नहुदाँ झरनाको अस्तित्व संकटमा पर्ने भएकाले झरनामा बाह्रै महिना पानी झार्नका लागि आर्थिक वर्ष २०७४-७५ मा ३० लाख बजेट विनियोजन गरिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङ्वाङले बताए । झरनासम्म पानीको व्यवस्थापनका लागि अहिले पाइपलाइन विस्तारको काम भइरहेको छ ।
प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवद्र्धनमा सम्बन्धित निकायले चासो दिएको छैन । झरना अवलोकन गर्न पुगेका संक्रान्ति बजारका टाँसी लामा झरनासम्म पुग्न मोटरबाटो खनिए पनि वर्षात्को समयमा सडक हिलाम्मे हुँदा आठराई र फेदापदेखि पदैल यात्रा गर्नुपरेको बताउँछन् ।
जिल्लाका पर्यटकीय गन्तव्यमध्ये झरना धेरैको रोजाइमा पर्छ । झरनामा पुगेर पर्यटक आनन्द लिने गर्छन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्न सके थप पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् ।
सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्तिबजार प्रवेश गर्ने जो कोहीलाई पनि उक्त झरनाले आकर्षित गर्न थालेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत जिल्लाबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्छन् ।