कस्मेटिक र विद्युतीय सामानमा पनि गुणस्तर चिन्ह

सरकारले बजारमा कमसल सामान नियन्त्रण गर्न शृंगार (कस्मेटिक) र विद्युतीय सामानमा पनि गुणस्तर चिन्ह लागू गर्ने भएको छ । बजारमा उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने सामान वितरण भइरहेकाले त्यसलाई रोक्नका लागि शृंगार र विद्युतीय सामानमा गुणस्तर चिन्ह लागू गर्न लागिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले बजारमा वितरण हुने कस्मेटिक र विद्युतीय सामानमा गुणस्तर चिन्ह लागू गर्न लागेको हो । विभागका महानिर्देशक विश्वबावु पुडासैनीले स्वास्थ्यलाई प्रतिकूल असर पुग्ने वस्तुको नियन्त्रण गर्न कस्मेटिक र विद्युतीय सामामा गुणस्तर चिन्ह लागू गर्न लागिएको बताए । “गुणस्तरीय वस्तु मात्र बजारमा आउन् भन्नका लागि गुणस्तर चिन्ह लागू गर्न लागिएको हो,” उनले भने ।
विभागले कस्मेटिक सामानका विभिन्न नमुना लिएर गुणस्तरयुक्त छ-छैन भनेर परीक्षण गर्ने काम भइरहेको जनाएको छ । कलर कस्मेटिक, स्किन केयरलगायतका अन्य शृङ्गारका सामानको गुणस्तर कायम गर्नका लागि मापदण्ड तयार गर्न लागिएको महानिर्देशक पुडासैनीले जानकारी दिए । कस्मेटिक र विद्युतीय सामग्रीमा मापदण्ड तयार गरेर जतिसक्दो छिटो कार्यान्वयनमा ल्याइने विभागले जानकारी दिएको छ ।
विभागले बजारमा गुणस्तरीय वस्तु तथा सेवाको वितरण गर्नका लागि गुणस्तर निर्धारण गर्ने गर्छ । विभागले विभिन्न वस्तु तथा सेवालाई गुणस्तर चिन्ह अनिवार्य गरेको छ । ती वस्तुले तोकिएको गुणस्तर मापदण्ड पूरा गरेर मात्र सामान बजारमा पठाउने गर्छन् । विभागले अहिले विभिन्न ६० वटा उत्पादनमा गुणस्तर चिन्ह लागू गरेको छ । गुणस्तर चिन्ह लागू भएका वस्तु तोकिएको मापदण्ड पूरा नगरी उत्पादन गर्ने उद्योगको इजाजतपत्र विभागले खारेज गर्छ ।