इन्धनको मूल्यवृद्धिसँगै बजारमूल्य बढ्ने

पछिल्लो समयमा लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै बजारमा अन्य सामानको समेत मूल्यवृद्धि हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले स्थानीय बजारमा पनि एक महिनामा दुई पटक मूल्य बढेको छ । त्यसको प्रभावले अन्य सामानको बजारमूल्य पनि स्वतः बढ्ने भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य लगातार बढ्दै गएपछि इन्धनको मूल्यमा पनि वृद्धि हुँदै गएको हो । इन्धनको मूल्यवृद्धिले निर्माण सामग्री, खाद्यान्नसँगै हरियो तरकारीको मूल्य बढ्ने सरोकारवालाहरू बताउँछन् । डिजेलको मूल्य बढेकाले खाद्यान्न ढुवानीमा लागत बढ्न गई मूल्य बढ्न जाने व्यापारीहरू बताउँछन् ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर हरेक क्षेत्रमा पर्ने बताए । “इन्धनको मूल्यवृद्धिले सिमेन्ट, डन्डी, रोडा, बालुवा, खाद्यान्नसँगै हरियो तरकारीमा पनि मूल्य बढ्ने देखिन्छ,” उनले भने, “यसको मार सर्वसाधारण उपभोक्ताले खेप्नुपर्छ ।”
नेपाल आयल निगमले बुधबार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३-३ रुपैयाँ मूल्य बढाएको छ । बजारमा पेट्रोल प्रतिलिटर १ सय ८ र डिजेल-मट्टितेल प्रतिलिटरको मूल्य ९० रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । वाम सरकार गठन भएपछि पेट्रोलियम पदार्थको मूल्य बढेको यो तेस्रो पटक हो । पछिल्लो पटक वैशाख ३ मा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल तथा मट्टीतेलमा २ रुपैयाँ मूल्य वृद्धि भएको थियो । निगमका अनुसार बुधबार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९० पैसा नाफा छ, तर डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ २२ पैसा घाटा छ । त्यसैगरी एलपी ग्यासमा ६४ रुपैयाँ २९ पैसा घाटा छ ।
निगमले पाँच महिनामा ६ पटक इन्धनको मूल्य बढाएको छ । पाँच महिनाको अवधिमा पेट्रोल प्रतिलिटरमा ६ रुपैयाँ र डिजेल-मट्टीतेलमा प्रतिलिटर ११ रुपैयाँ मूल्य बढेको छ । २०७४ पुस १७ गते प्रतिलिटर डिजेल ७९ र पेट्रोल १ सय २ रुयैयाँ कायम भएको थियो । निगमले ३ माघमा डिजेलमा प्रतिलिटर २ रुपैयाँ बढाएर ८१ र पेट्रोलमा एक रुपैयाँ बढाएर १ सय ३ रुपैयाँ कायम गरेको थियो । माघ १८ मा पुनः डिजेलमा २ रुपैयाँ बढाएर ८३ र पेट्रोलमा १ रुपैयाँ बढाएर १ सय ४ रुपैयाँ पु¥याइएको थियो । १९ फागुनमा डिजेल प्रतिलिटरमा २ रुपैयाँ बढेर ८५ रुपैयाँ र पेट्रोलमा १ रुपैयाँ बढेर १ सय ५ रुपैयाँ पुगेको थियो ।
इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यलाई आधार मानेर निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छन । पछिल्लो समय निगमले लगातार मूल्य वृद्धि गरे पनि अझै भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटरमा २१ रुपैयाँ ९२ पैसा र डिजेल प्रतिलिटरमा २४ रुपैयाँ ६१ पैसा सस्तो पर्छ । भारतभन्दा नेपालमा इन्धनको मूल्य सस्तो हुँदा तस्कारीमार्फत भारत जाने गरेको निगम कर्मचारीको भनाइ छ ।