कृषि तथा पशुपन्छी उत्पादन र व्यवस्थापन कार्यविधि कार्यान्वयनमा

झापाको दमक नगरपालिकाले कृषि तथा पशुपन्छी उत्पादन र व्यवस्थापन कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको छ । जैविक मल र विषादीलाई प्रोत्साहित गरी स्थानीय प्रजातिका बीउबीजन र पशुपन्छीलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले दमक नगरपालिकाले कृषि तथा पशुपन्छी उत्पादन र ब्यवस्थापन कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको मेयर रोमनाथ ओलीले बताए ।
मेयर ओलीले दोस्रो नगरसभाले स्वीकृत गरेपछि लागू भएको कृषि तथा पशुपन्छी उत्पादन र व्यवस्थापन कार्यविधिमा व्यवसायिक कृषि उत्पादनका लागि नयाँ कर नीतिसमेत उल्लेख भएको बताए । कृषि उत्पादन र पशुपन्छीपालन व्यवसायलाई थप व्यवस्थित गर्दै आयमूलक, मर्यादित र सम्मानित व्यवसायको रूपमा विकास गर्दै राष्ट्रिय उत्पादनमा योगदान पुराउने उद्देश्यले कार्यविधि ल्याइएको उनको भनाइ छ । उनले छाडा चौपाया, अव्यवस्थित कुखुरापालन तथा बंगुरपालनलाई समेत व्यवस्थित बनाइने बताए ।
कार्यविधिमा पशुपन्छी पालनबाट निस्कने गोबर वा फोहर पदार्थको समुचित व्यवस्थापन गर्नुपर्ने, पशुपंक्षीबाट निस्किने मलमूत्रले दुर्गन्ध हुने भएमा सो व्यवसाय गाउँ नजिक सञ्चालन गर्न नपाइने, पशुपन्छीलाई छाडा छाड्न नपाइने उल्लेख छ । त्यस्तै स्वच्छ र सफा वातावरण निर्माण गरी अरु कसैलाई असर नपुग्ने गरी पशुपन्छीको पालन र व्यवस्थापन गर्न सकिने पनि उल्लेख छ ।
दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले व्यावसायिक कृषि उत्पादनका लागि अबलम्बन गरिने कर नीति कार्यविधिमा रहेको बताइन् । कृषि तथा पशुपन्छीको आयातमा कर छुट, बिक्रीकर र नाफामा ७५ प्रतिशत कर छुट, बिमाको प्रिमियममा ७५ प्रतिशत अनुदान, निःशुल्क पार्किङ सुविधा र सिफारिस दस्तुरमा ५० प्रतिशत छुट दिने नीति पास भएको उनले जानकारी दिइन् ।