Logo

राजधानीमा जुम्ली स्याउको महोत्सव

जुम्ला– जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको बजार प्रवर्द्धन गर्न काठमाडौंमा स्याउ महोत्सव हुने भएको छ । भर्खर सञ्चालनमा आएको कला घरको आयोजनामा काठमाडौंमा शुक्रबार स्याउ महोत्सव हुने भएको हो ।

जुम्लाबाट काठमाडौं छिरेका युवा गोविन्द सुनारको अगुवाइ तथा अन्य युवाले जुम्ली स्याउको बजारीकरण सहज बनाउन प्रचार–प्रसारमा जोड दिन पहिलो–पटक स्याउ महोत्सवको आयोजना गर्न लागेका हुन् । महोत्स्वमार्फत कर्णालीका स्याउलाई देशव्यापी चिनाउने, बजार विस्तार गर्ने र किसानलाई लाभ हुने वातावरण बनाउन ‘कर्णाली स्याउ उत्सव’ आयोजना गरिन लागेको कलाघरका सञ्चालक तथा आयोजक गोविन्द सुनारले बताए ।

स्याउ महोत्सव जुम्लाको स्याउको बजारीकरण गर्ने, विश्व सामु जुम्ली स्याउको महत्त्व बुझाउने एक उत्सव हो । उनले भने,‘भदौ २० देखि २२ सम्म स्याउ महोत्सव आयोजना हुनेछ । शंखमुलस्थित कला घरमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म उत्सव सञ्चालन हुनेछ । महोत्सवमा अर्गानिक स्याउसँगै जुम्लाको भाषा संस्कृति झल्किने स्टल रहने छन् ।’

महोत्सवमा स्याउका परिकारलाई स्टलका रुपमा बढी प्राथामिकता दिइने छ । जुम्लामा उत्पादन हुने विभिन्न प्रकारका स्याउ उत्पादन भइरहेका छन् । महोत्सवमा रेड डेलिसियस, रोयल, गोल्डेन, गाला, फुजीलगायत दर्जनभन्दा बढी प्रजातिका स्याउ प्रदर्शनीमा राखिने आयोजक सुनारले जानकारी दिए । साथै, सुकाएको चाना, साइटर र ब्रान्डीलगायत पनि रहने छन् ।

प्रदर्शनी र अवलोकन मात्र नभई उपभोक्ताले आफ्ना आवश्यकता अनुसार प्रत्यक्ष खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । कर्णालीको स्याउ स्वादका दृष्टिले देशभर परिचित भए पनि यसको बजार खपत बढाउन र ब्राण्डको रूपमा स्थापित गर्न पहिलो पटक औपचारिक रूपमा यस्तो उत्सव आयोजना गर्न लागेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्