झडपका कारण सिरियामा १ लाख विस्थापित

दमास्कस : उत्तरपूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणका कारण सो क्षेत्रमा बसोबास गर्दै आएका करिब १ लाख व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफान डुजार्रिकले बताएका छन् ।
सिरियाको उत्तरपूर्वी भागमा रहेका कुर्दिश लडाकु समूह र टर्की सुरक्षाबलबीच जारी यस झडपमा दुवैतर्फ हताहत भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले जनाएको छ ।
सिमानामा पर्ने दुवै सहरमा बम विस्फोट भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) ले जनाएको छ ।
संयुक्त राष्ट्रसंघ आपत्कालीन राहत समन्वयकर्ता जनरल मार्क लोकोकले टर्की भ्रमण गरेका छन् । लोकोकको दुई दिनको अंकारा भ्रमण र टर्की र सिरिया सिमानाको भ्रमण टकीले सो क्षेत्रमा आक्रमणको घोषणा गर्नुअघि नै योजना बनाइएको थियो ।
उनको भ्रमण उत्तरपूर्वी सिरियामा टर्की सेनाले जारी राखेको सुरक्षा कारबाहीका साथसाथै भएको थियो । उनले सीमाको दुवै क्षेत्रमा भएको नागरिकको हताहत समाचारप्रति चिन्ता व्यक्त गरेका छन् ।
लोकोकले सबै पक्षलाई संयम भएर व्यवहार गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षण गर्न र आफ्नो दायित्वअनुरूप कार्य गर्न गुटर्रेसको अपिल दोहो¥याएका छन् ।
टर्कीले जारी राखेको यस अभियान क्रममा गत दुई दिनयता नागरिकको हताहत भएको समाचार प्राप्त हुन थालेको मानवअधिकार कार्यालयहरूले जनाएको छ ।
युद्धका पक्षहरू र सैन्य कारबाही अन्तर्राष्ट्रिय मानवीय कानुनको अनुरूप हुनुपर्छ र विशेष गरी भेदभाव, समानुपातिकता र सावधानीका सिद्धान्तहरूमा आधारित हुनुपर्ने उक्त कार्यालयले जनाएको छ ।
जारी यस द्वन्द्वका कारण विस्थापित भएका नागरिकलाई उनीहरूको घर फर्कन वा अन्यत्र फर्कन नसक्दासम्म उनीहरूलाई सहयोग र सुरक्षा प्रदान गर्न सो कार्यालयले जानकारी दिएको छ ।
टर्कीको आक्रमणबाट विस्थापित भएका बालबालिकाहरू सिरियाको पश्चिमी प्रान्त हस्साकेतर्फ लागेका छन् । टर्कीले सीमापारि सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै १ लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
प्रायः व्यक्तिहरू हस्साके र तल तामेर नगरका विद्यालय तथा अन्य भवनहरूमा आश्रय लिएको राष्ट्रसंघले बताएको छ । अमेरिकाले गत बुधबार सो क्षेत्रबाट आफ्नो सेना फिर्ता गरेपछि टर्कीले सैन्य कारबाही शुरु गरेको थियो ।
टर्कीको सैन्य कारबाही रोक्न अमेरिकाले दबाब दिएको छ । आक्रमण नरोकेमा टर्कीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी अमेरिकी रक्षामन्त्रीले दिएका छन् भने अर्थमन्त्रीले नयाँ प्रतिबन्धहरूको चेतावनी दिएका छन् ।
टर्कीले सैन्य कारबाही थालेपछि कम्तीमा ११ जना गैरसैनिक नागरिकको मृत्यु भएको मानव अधिकारवादी संस्थाहरूले बताएको छ ।
मानवीय सहायता प्रदान गर्ने संस्थाहरूका अनुसार सो द्वन्द्वमा प्रभावित व्यक्तिहरूको संख्या अझै बढ्ने बताएको छ । कुर्द नेतृत्वको सिरियन डेमोत्र्mयाटिक फोर्सेस (एसडीएफ) र टर्कीलाई समर्थन गर्ने समूहका दर्जनौँ लडाकुको मृत्यु भएको छ । यद्यपि टर्कीको सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको पुष्टि गरेको छ ।
विश्लेषकहरूका अनुसार अमेरिकी सेना फिर्ता गरेपछि टर्कीले सीमानामा आक्रमण सुरु गरेको बताइएको छ । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि त्यो क्षेत्रको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन । सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण थियो ।
इस्लामिक स्टेट्स समूहविरुद्ध अमेरिकाले गरेको संघर्षमा एसडीएफले सघाएको थियो । तर, टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने आतंकवादी मान्दै आएको छ ।
आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर सुरक्षित क्षेत्र निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको छ ।
“जसले जे भने पनि हामी रोकिँदैनौँ,” टर्कीका राष्ट्रपतिले बताएका छन् ।