जलेश्वर भन्सारको राजस्व संकलन ८३.९५ प्रतिशत

जनकपुरधाम– महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्षको ६ महिनामा लक्ष्यको तुलनामा ८३.९५ प्रतिशत राजस्व संकलन गरेको छ ।
भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनाको लागि १ अर्ब ८६ करोड ६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर, सो कार्यालयले उक्त अवधिमा एक अर्ब ५६ करोड १९ लाख रुपैयाँ संकलन गरेको सूचना अधिकारी सुमित गुप्ताले बताए ।
विभागले दिएको लक्ष्य प्राप्ति गर्न प्रयासरत रहे पनि आर्थिक वर्ष ७९, ८० को ६ महिनाको तुलनामा राजस्व संकलन घटेको छ । यहि अवधिमा लक्ष्यको तुलनामा एक अर्ब ४९ करोड ३४ लाख रहेकोमा एक अर्ब ३३ करोड ७० लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।
सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थबाट आउने गरेको छ । भारतबाट भिठामोड नाका भएर नेपाल भित्रिने पेट्रोलियम पदार्थ कोइला र जिप्सनबाट बढी राजस्व आउने गरेकोले राजस्वमा वृद्धि हुँदै गएको सूचना अधिकारी गुप्ताले बताए । राजस्व उठाउने कार्यमा पेट्रोलियम पदार्थको ५५ देखि ६० प्रतिशत योगदान रहेको छ ।
‘विभागले दिएको लक्ष्य पुरा गर्न प्रतिबद्ध छौं, खुल्ला सीमा नाकाको कारण हुने अवैध व्यापार नियन्त्रणदेखि भन्सार प्रशासन चुस्त दुरुस्त नभएकोले राजस्व प्रभावित हुने गरेको छ,’एक कर्मचारीले भने । भन्सार विभागले चालु आर्थिक वर्षमा ३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा पुस मसान्तसम्म ५३.९५ प्रतिशत अर्थात् १ अर्ब ५६ करोड १९ लाख राजस्व उठेको कार्यालयले बताएको छ ।