धान रोपाइँ ९५ प्रतिशत

मुलुकभर यो वर्षको वर्षे धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यो वर्ष धान खेतियोग्य जमिनमध्ये ९४.८३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । यो तथ्यांक गत वर्षभन्दा ७० हजार ८७६ हेक्टर अर्थात् ०.५६ प्रतिशत कम रोपाइ भएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीका अनुसार भदौ १० गतेसम्म १३ लाख ८३० हेक्टरमा क्षेत्रफलमा यो वर्षको वर्षेधान रोपाइँ गरिएको छ । “यो वर्षको वर्षे धान रोपाइँ सकिएको छ, गत वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएकाले हामी उत्पादन बढ्नेमा आशावादी छौं,” उनले भने, “रोपाइँ आधारमा उत्पादन पनि गत वर्षको भन्दा नघट्न सक्छ तर मल, बीउ, प्रविधी, आगामी दिनमा हुने वर्षा लगाएतको अवस्था अनुसार उत्पादन बढ्न वा कम हुन सक्ने सम्भावना रहन्छ ।” सचिव जीसीले कृषियोग्य क्षेत्रफल नबढे पनि उत्पादकत्व बढाएर उत्पादन वृद्धि गर्न मन्त्रालयले प्राथमिकताकासाथ काम गरिरहेको बताए ।
यो वर्ष दश दिन ढिला मन्सुन सुरु भए पनि पछिल्ले मनसुन धानबाली अनुकुल भएका कारण रोपाइँको प्रतिशत बढेको मन्त्रालयले जनाएको छ । अन्न भण्डार मानिने तराइ क्षेत्रमा गत वर्षको तुलनामा ०.४५ प्रतिशत कम भएको छ भने मध्य पहाड र उच्च पहाडमा गत वर्ष भन्दा थोरै बढेको छ । तराइमा धान खेतियोग्य जमिनमध्ये ९५.३३ प्रतिशत रोपाइँ भएको छ भने मध्य पहाडमा ९३.०१ र उच्च पहाडमा ९७.९३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष तराइमा ९५.७८, मध्य पहाडमा ९५.१६ र उच्च पहाडमा ९६.४४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
प्रदेश अनुसार सबैभन्दा बढी सुदुरपश्चिममा सत प्रतिशत रोपाइँ भएको छ भने प्रदेश ३ मा ९७.१७ प्रतिशत रोपाइँ सकिएको सम्पन्न भएको छ । त्यसैगरि कर्णाली प्रदेशमा ९६.१६, प्रदेश ५ मा ९४.८१, प्रदेश १ मा ९३.८८, प्रदेश २ मा ९३.३१ र गण्डकी प्रदेशमा ९२.८१ प्रतिशत रोपाइँ सकिएको छ ।
बर्सेनि चामल आयातको तथ्यांक बढिरहँदा नेपालको धान उत्पादनलाई प्राथमिकताकासाथ हेर्ने गरिन्छ । गत आर्थिक वर्षमा मुलुकभर ५६ लाख १० हजार मेटन धान उत्पादन भएको आर्थिक वर्ष ०७४-७५ को तुलनमा गत वर्ष ८.८९ प्रतिशतले उत्पादनमा र ७.४ प्रतिशतले उत्पादकत्वमा वृद्धि भएको थियो । करिव १४ लाख हेक्टरमा खेति हुने धान उत्पादन हुने मानिन्छ । आकासे पानीको भरमा गर्नु पर्ने भएकाले धान उत्पादनमा उतावचढाव आइरहेको पाइन्छ । वर्षेनी करिव ४० लाख मेटन चामल आवश्यक रहेकोमा ३४ लाखेटन उत्पादन हुदै आएको छ ।