Logo

छोटी भन्सार नचल्दा मारमा व्यवसायी

फाइल तस्बिर ।

बिर्तामोड– कोरोना महामारीपछि बन्द भएको झापा गौरीगञ्जको आठमौजा छोटी भन्सार सञ्चालन नहुँदा गौरीगञ्जका व्यवसायी समस्यामा परेका छन् । सात दशकदेखि सञ्चालनमा आएको गौरीगञ्जको आठमौजा छोटी भन्सार कोरोना कहरपछि विगत तीन वर्षदेखि बन्द हुँदा गौरीगञ्ज बजार समेत प्रभावित भएकाले आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ ।

झापाको दक्षिण पश्चिम भारतको सीमासँग जोडिएको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार सञ्चालन गर्न व्यवसायीले माग गरेका छन् । पछिल्लो समय भारतबाट सामान भित्रन नपाउँदा झापा गौरीगञ्जका व्यवसायीदेखि त्यस क्षेत्रमा लाग्ने बजारसम्म प्रभावित भएको उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतोले बताए ।

कोरोना कहरसँगै बन्द भएको आठमौजा छोटी भन्सार हालसम्म सञ्चालन नहुँदा व्यवसायीलाई समस्या भएको बताउँदै उनले भन्सार सञ्चालन नहुँदा गौरीगञ्ज बजार नै सुक्न थालेको जानकारी दिए । भारततिरबाट आउने सामानको भन्सार नहुँदा व्यवसाय मात्र नभएर भारतबाट आउने मानिसको चाप समेत घटेकाले त्यस क्षेत्रमा लाग्ने बजारमा पूर्णरुपमा असर देखा पर्न थालेको उनले बताए ।

यसअघि आफू वडाध्यक्ष हुँदा नै भन्सार निर्माणको लागि जग्गाको समेत प्रबन्ध गर्दा पनि संघीय सरकारले चासो नदिँदा आठमौजा छोटी भन्सार बन्द भएकाले बजारमा व्यवसाय धेरै घटेको उनले दुखेसो पोखे । संघीय सरकारले तत्काल बन्द भएको आठमौजा छोटी भन्सार खुलाउन पहल गर्नुपर्ने बताउँदै उनले भन्सार सञ्चालन नभए गौरीगञ्ज बजार सुक्दै जाने अवस्था आएको जनाए ।

२०१६ सालदेखि नै घुम्ती राखेर आठमौजा छोटी भन्सार सञ्चालनमा ल्याइएको भए पनि ५ वर्षअघि त्यसलाई व्यवस्थित गर्न नयाँ भवनसमेत निर्माण गरिएको अध्यक्ष महतोले बताए । भन्सार बन्द भएपछि भारतबाट सामान आयात गरेर व्यवसाय गर्नेहरुलाई जिविकोपार्जन गर्नै समस्या हुन थालेको युवा व्यवसायी राजेश ऋषीदेवले बताए । सिमावर्ती क्षेत्रबाट लुकिछिपी सामान ल्याउने बढेको उनको भनाइ छ ।

त्यस्तै, गौरीगञ्ज गाउँपालिकाको वडा नं. १ कुञ्जिबारीमा रहेको अर्को छोटी भन्सारसमेत माओवादी द्वन्द्वकालदेखि बन्द रहेको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् । दक्षिणी झापाका छोटी भन्सारहरुको स्तरोन्नति गर्न बारम्बार माग गरिए पनि संघीय सरकारले त्यसतर्फ कुनै चासो नदिएको उनको गुनासो छ । मेची भन्सार कार्यालयमा पुगेर दुई पटकसम्म छोटी भन्सार सञ्चालन गर्न आग्रह गरे पनि त्यसबारे सरकारले कुनै सुनवाई नगरेपछि त्यस क्षेत्रका व्यवसायी समस्यामा परेको उनले बताइन् ।

पछिल्लो समय व्यापारीहरु गौरीगञ्ज गाउँपालिकामै आएर छोटी भन्सार तत्काल सुचारु गर्न दबाब दिने गरेको उनले जानकारी दिइन् । व्यापारीहरुको माग जायज भएको बताउँदै उनले भन्सार तिरेर व्यापार गर्छु भन्ने व्यापारीको माग पूरा गर्नुपर्ने बताइन् । अहिले थोरै सामान ल्याउँदा समेत ८० किलोमिटर टाढा गएर मूल भन्सारमा राजस्व बुझाउनुपर्ने बाध्यता व्यापारीलाई छ । छोटी भन्सार बन्द गरेकै कारण भारतले नेपालका मोटर साइकल समेत पारी जान नदिएपछि ठूलो समस्या आएको छ ।

पूर्वी नेपालको मुख्य मेची र भद्रपुर भन्सार माताहत सञ्चालन हुँदै आएका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सार पछिल्लो समय बन्द रहेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । १ सय ४४ किलोमिटर क्षेत्र खुल्ला सिमा भएको झापामा छोटी भन्सार बन्द हुँदा भारतबाट विना भन्सार नै लुकिछिपी सामान भित्रने गरेकाले त्यसलाई नियन्त्रण गर्न बन्द भएका दक्षिणी झापाका छोटी भन्सारहरु तत्काल सञ्चालन गर्नुपर्ने त्यस क्षेत्रका व्यवसायीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्