२५ करोडको मल किसानसम्म नपुगेको गुनासो

जनकपुरधाम– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय, जनकपुरले आर्थिक वर्ष ०७९/८० मा २५ करोड ४२ लाख ४९ हजार रुपैयाँ मूल्यबराबरको रासायनिक मल बिक्री गरे पनि किसानले नपाएको गुनासो गरेका छन् । अधिकांश किसानसम्म सो मल पुग्न सकेको छैन ।
कार्यालयले गत वर्ष १२ करोड ७१ लाख २७ हजार १ सय ८३ रुपैयाँ मूल्यबराबरको ७ हजार मेट्रिक टन युरिया र १२ करोड ७१ लाख १२ हजार ६ सय ९० रुपैयाँ मूल्य बराबरको २ हजार ४५ मेट्रिक टन डिएपी बिक्री गरेको थियो । कार्यालयले धनुषा, महोत्तरी र सिन्धुलीमा रहेका २ सय ५० सहकारी संस्थामार्फत उक्त मल किसानसम्म पुर्याए पनि स्थानीय निकायको विभेदकारी नीतिका कारण वास्तविक किसानले आवश्यकताअनुसार मल पाउन नसकेको गुनासो किसान शिवजी मुखियाले गरे ।
स्थानीय निकायको सिफारिसका आधारमा सहकारी संस्थालाई मागेजति मल उपलब्ध गराउँदै आएको सो कार्यालयका शाखा प्रमुख शुभनाराया साहले भने, ‘उपलब्ध गराएको मल किसानसम्म किन पुग्दैन, त्यसप्रति सम्बन्धित निकाय गम्भीर हुनुपर्छ ।’ यसैगरी सो कार्यालयले गत आर्थिक वर्षमा १८ करोड ९५ लाख रुपैयाँबराबरको ९ हजार ९५ मेट्रिक टन आयोडिन नुन बिक्री गरेको थियो । ३० वटा थोक विक्रेतामार्फत नुन बेच्दै आएको सो कार्यालयले जनकपुरधाममा अनुगमन गर्न नसक्दा प्रतिकिलो २० रुपैयाँमा पाउने नुन २५ रुपैयाँमा बिक्री हुने गरेको छ ।
प्रत्येक वर्ष कार्यालयले आयोडिन नुन सप्ताह मनाए पनि प्रचार–प्रसार हुन नसक्दा अहिले पनि भारतीय सीमासँग जोडिएका नेपाली गाउँका वासिन्दाहरू आयोडिन नभएको र कमसल भारतीय नुन खान बाध्य छन् । ढुवानी खर्चको नाममा थोक विक्रेताहरू प्रतिकिलो ५ रुपैयाँ बढी लिएर आयोडिन नुन बिक्री गर्ने गरेकाले भारतबाट सस्तो नुन ल्याएर सुदूर ग्रामीण क्षेत्रका बासिन्दा खान बाध्य छन् ।