अर्जुनचौपारी गाउँपालिकामा बेथिति

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले व्यक्तिगत आवेगका आधारमा सिफारिस रोक्का गर्दा पालिकाका झन्डै ४ हजार ५ सय किसान मर्कामा परेका छन् । ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारीमार्फत पाउँदै आएको अनुदान र सिफारिस अध्यक्ष तिवारीले मनोमानी रूपमा रोकेपछि किसानहरू सेवाबाट वञ्चित भएका हुन् ।
सहकारीले गाउँपालिकाका ६ वटा वडामध्ये ५ वटा वडामा कृषक समूह गठन गरी प्रत्यक्ष सेवा प्रदान गर्दै आएका छन् । २ हजार ६ सय ७ सेयर सदस्य रहेको सहकारीमा थप २ हजार किसानले सेवा लिँदै आएका थिए । सहकारीमार्फत पाउँदै आएको अनुदानमा कटौती र सिफारिस रोकेपछि किसानहरू सेवाबाट वञ्चित भएका छन् । आर्थिक वर्ष २०७५/७६ बाट पालिका र सहकारीको साझेदारीमा सुरु भएको पशु बीमा, टनेल तथा बीउबिजन वितरण, सहकारी शिक्षा, अध्ययन अवलोकन भ्रमण, सुत्केरी स्याहार र मृत्यु संस्कारमा पाउँदै आएको अनुदान सेवा रोक्का भएको छ ।
सुपथ मूल्यमा पाउँदै आएको रासायनिक मल खरिद तथा बिक्रीको सिफारिस अध्यक्ष तिवारीले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकबाट सबै सेवा रोक्का गरेका छन् । ‘पालिकासँगको सहकार्यमा टनेल तथा बीउबिजन वितरण, सुपथ मूल्यमा रासायनिक मल बिक्री–वितरण गर्दै आएका थियौं,’ सहकारीका अध्यक्ष बोधनारायण रेग्मीले भने, ‘पालिकाका अध्यक्ष तिवारीको मनोमानीले सेवा अवरुद्ध गर्दा किसानले पाउँदै आएको ऋणमा ब्याज छुट, बाख्रा पकेट कार्यक्रम र भैंसी तथा बंगुर प्रवर्द्धन कार्यक्रम प्रभावित भएको छ ।’
गाउँपालिकाले उपलब्ध गराउने सेवा अवरुद्ध गरेपछि सहकारीले आफ्नै आन्तरिक कोषबाट विगत १० महिनादेखि किसानहरूलाई सेवा प्रवाह गर्दै आएको जनाएको छ । व्यक्तिगत आवेगमा आएर सेवा रोक्का गर्नुको सट्टा नीतिगत रूपमा सेवा रोके आफूहरूलाई मान्य हुने सहकारीमा आबद्ध किसानहरूले बताएका छन् । ग्रामीण स्वावलम्बन सहकारीले सहकारी ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार कार्य सम्पादन नगरेका कारणले गाउँपालिकाले सेवा रोक्का गर्न बाध्य भएको अध्यक्ष तिवारीले दाबी गरे ।
नियमानुसार स्थानीय पालिकामा कागजात अद्यावधिक गर्नुपर्नेलगायतका सबै प्रक्रियालाई बलमिच्याइँ गरेपछि बाध्य भएर पालिका र सहकारीको साझेदारीलाई अन्त्य गरेको उनले बताए । स्वावलम्बन सहकारीले गरेको बलमिच्याइँ आफूलाई मान्य नहुने र व्यक्तिगत आवेगमा सेवा रोक्का नगरेको जिकिर गाउँपालिकाका अध्यक्ष तिवारीले गरे । उनले पालिकाभित्रका उस्तै प्रकृतिका सहकारीमार्फत किसानहरूलाई सेवा प्रदान गर्दै आएको जानकारी दिए । सेवा नपाएका किसानहरूलाई सहकारीजन्य सेवा लिन गाउँपालिका आउनसमेत उनले आग्रह गरे ।
सहकारीका सञ्चालक र गाउँपालिका अध्यक्षबीचको व्यक्तिगत असमझदारीका कारण किसान प्रभावित भएको अर्जुनचौपारी गाउँपालिका वडा नं. २ र ५ का वडाध्यक्ष क्रमश: धनबहादुर गुरुङ र बद्री पौडेलले बताए । पालिका र सहकारीले स्थानीय किसानको सेवा गर्नु नै छ भने सहकारीमार्फत पाउँदै आएको सेवा रोक्नु राम्रो पक्ष नभएको उनीहरूको तर्क छ । पालिकाका सबै सहकारीले लिँदै आएको सेवासुविधा गाउँपालिकाले रोक्का गर्ने औपचारिक कुनै निर्णय गरेकै छैन ।
स्वावलम्बन सहकारीमार्फत प्रवाह भएको सेवा अध्यक्ष तिवारीले एकलौटी रूपमा रोक्का गरेको वडा नं. २ का अध्यक्ष तथा पालिकाका प्रवक्ता गुरुङले बताए । काठमाडौंमा व्यवसाय गर्दै आएका र नेपाली कांग्रेसबाट टिकट पाएर गाउँपालिकाका अध्यक्ष भएका तिवारीले व्यक्तिगत टकराव र राजनीतिक प्रतिशोधले सेवा अवरुद्ध गरेको स्वावलम्बनकर्मीको आरोप छ । सहकारीमा नेतृत्व गर्नेहरू कांग्रेस निकट भए पनि उनीहरूले निर्वाचनका समयमा पालिका सभापति विष्णुप्रसाद काफ्ले वा रामचन्द्र पौडेलले टिकट पाउनुपर्छ भन्दै आएको तिवारीको ठम्याइ छ ।
अन्य व्यक्तिलाई टिकटका लागि आन्तरिक लबिङ गरेको र निर्वाचनमा असहयोग गरेको भनेर तिवारीले सहकारीको सेवा रोकेर सहकारीकर्मीमाथि प्रहार गरेको उनीहरूको बुझाइ छ । गाउँपालिकाले सेवा सुचारु नगरे किसानहरू आन्दोलन गर्ने आन्तरिक तयारीमा जुटेका छन् । अध्यक्ष तिवारीको मनोमानीले दु:ख पाएको निष्कर्षमा पुगेका किसानहरूले गाउँपालिकाको कार्यपालिका बैंठकबाट निर्णय गराएर सेवा रोक्न चुनौती थिए । व्यक्तिगत आवेगको मनोमानीलाई अन्त्य गर्न आन्दोलनको विकल्प नरहेको उनीहरूको भनाइ छ ।