Logo

फस्टाउँदै व्यावसायिक माछापालन

घोराही उप महानगरपालिका वडा नं ५ धर्नाका मिलन बुढाथोकीले विगत लामो समय देखि माछा पालन गर्दै आएका छन् । उनले ११ वटा पोखरीमा माछा पाल्दै आएका छन् । दुई सय क्वीन्टल वर्षमा माछा उत्पादन गर्ने गरेको उनको भनाइ छ । तर उत्पादन भएको माछा नबिक्दा १५ लाख रुपैयाँ यो वर्ष घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।

“पाँच वर्ष अगाडि ५१ रुपैयाँ किलोमा किनेको दाना अहिले ८० रुपैयाँ किलोमा किन्नु परेको छ । न माछाको मूल्य बढेको छ न त बजारीकरण राम्रो भएको छ” बुढाथोकीले भने, “दुई सय २० रुपैयाँ किलो लगेर बिचौलियाले ब्यापारीलाई ३ सयमा बेच्छन् भने ब्यापारीले एक सय भन्दा बढी खाएर उपभोक्ता सम्म पुग्छ ।” व्यापारी र बिचौलिया मोटाउने, कृषक र उपभोक्ता मारमा पर्ने अवस्था रहेको उनको भनाइ छ ।

घोराही–५ धर्ना कै खुशलबहादुर वलीले पनि वर्षमा ८० देखि एक सय क्वीन्टल माछा उत्पादन गर्दै आएका छन् । ६ वर्ष भन्दा पहिलेदेखि माछा पाल्दै आएका वलीले माछाको बजारीकरण किसानको हितमा हुन नसकेको गुनासो गछ्र्रन् । महंगी र बजारीकरणको मार खेपेका माछा कृषकले प्राकृतिक मारसमेत खेप्नु उनी बताउँछन् ।

विगत ९ वर्षदेखि देउखुरीको टिकलीगढमा माछापालन गर्दै आएका धनीराम चौधरी माछापालनमा समस्यै समस्या खेप्नु परेको बताउँछन् । बजारीकरणदेखि दाना र विद्युत महसुलसम्म समस्या रहेको उनले बताए । “माछा फालाफाल हुन्छ कहिलेकाहीं मूल्य घटाएर दिनुपर्छ” उनले भने ‘दानाको महंगी भने वर्षेनि बढ्दैछ ।”

माछा पालक कृषकले व्यवसायमा प्रयोग गर्ने विद्युतको महसुल कृषिको नभई उद्योग सरह लिइँदा किसान झन समस्यामा परेको उनले बताए । २०४५ सालदेखि व्यावसायिक रुपमा माछा पाल्दै आएका राप्ती गाउँपालिका–६ का सोम चौधरीले माछापालनको ज्ञान कम भएका कारण व्यवसायमा घाटा सहनु परेको बताए ।

व्यावसायिक रुपमा माछा पाल्नेले प्राविधिक ज्ञान लिएर मात्र माछापालनमा लाग्न उनको आग्रह छ । “धेरै उत्पादन गर्न भुरा धेरै हाल्ने दाना पेल्ने गर्नाले माछा मरेर घाटा भएको देखिन्छ” उनले भने, “प्राविधिक कुरा मिलाएर व्यवसाय गर्नुपर्छ ।” उनीहरु मात्र नभइ पछिल्लो समय जिल्लामा माछापालन गर्ने कृषकहरु बढ्दै गएका छन् । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले माछा पालनमा आकर्षण देखिने गरेको छ ।

माछा उत्पादनको हिसावले मधेश प्रदेशपछि धेरै उत्पादन हुनेमा लुम्बिनी पर्छ । जिल्लामा पछिल्लो समय व्यावसायिक रुपमा माछापालन गर्ने कृषकहरु बढ्दै गए पनि कृषकलाई दिन अनुदान तथा सहयोगको रकम भने घट्दै गएको छ । जिल्लामा अघिल्लो आर्थिक वर्षमा तुलनामा चालु आर्थिक वर्षमा माछाको क्षेत्रमा बजेट घटेर आएको छ ।

जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट करिव ५० प्रतिशत घटेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङका माछा शाखाका अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा कृषकलाई दिने अनुदान तथा सहयोमा ५० लाख पोखरी निर्माणमा, बजारीकरणमा ८ लाख र प्रविधि सहयोगमा ५ लाख बजेट रहेको थियो ।

चालु आर्थिक वर्षमा पोखरी विस्तारमा २५ लाख बजारीकरणमा ८ लाख र प्रविधिमा ५ लाख वजेट रहेको उनको भनाइ छ । सरकारले माछापालनका लागि प्रति १६ हजार ६ सय ६६ रुपैयाँ ६६ पैसा दिने गरेको छ । सरकारले कृषकलाई ५० प्रतिशत अनुदान दिने गरेको अधिकृत चौधरी बताउँछन् । जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० मा ५ हेक्टरमा पोखरी विस्तार गरिने भएको छ ।

“पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा माछापालन गर्नेहरुको संख्या बढ्दै गएको छ” अधिकृत चौधरीले भने । व्यावसायिक माछापालन गर्ने कृषकलाई सरकारले प्राविधिक तथा अनुदानमा सहयोग गर्दै आएको छ । तर सबै कृषकले राज्यले प्रदान गरेको सुविधा पाउन नसकेको गुनासो गदै आएका छन् । माछापालन व्यावसायबाट राम्रो कमाइ गर्न सकिने भएकाले कृषकको आकर्षण बढ्दै गएको उनी बताउँछन् ।

“माछामा फाइदासमेत राम्रो भएकाले यसको बारेमा बुझेकाहरु बढ्दै गएका हुन्” उनले भने । जिल्लामा अहिले व्यावसायिक रुपमा माछापालन गर्नेको संख्या २ सय भन्दा बढी रहेको अधिकृत चौधरी बताउँछन् । जसमा साना भन्दा पनि ठूला कृषकहरुले लगानी गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्