मसाज सेन्टर, रेष्टुरेण्ट र डान्सबारमा अनुगमन

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेको रेष्टुरेण्ट, मसाज सेन्टर र डान्स बारमा अनुगमन गरेको छ । नगरवासीले नगरमा यौनजन्य क्रियाकलापले समस्या भएको गुनासो गरेपछि रेष्टुरेण्ट, मसाज सेन्टर र डान्स बारमा अनुगमन गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितिको संयोजक उमा अधिकारीले बताइन् ।
नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र मानव बेचबिखन विरुद्ध लगायत क्षेत्रमा काम गर्ने शुभअवसर ग्राम नेपालले संयुक्त रुपमा नगर क्षेत्रमा रहेका मनकामना रेष्टुरेण्ट, स्टार रेष्टुरेण्ट, रोयल स्पा प्यालेस, होटल लुम्बिनी गेष्ट एण्ड रेष्टुरेण्ट (डान्सबार) मा शनिबार राति अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा यौनजन्य गतिविधि नगरेको तर केही स्थानमा शंकास्पद गतिविधि देखिएकाले व्यवसाय सञ्चालकलाई सचेत गराइएको उपप्रमुख अधिकारीले बताइन् । “यौनजन्य क्रियाकलाप हुने गरेको भन्ने स्थानमा सूचनाका आधारमा अनुगमन गरेका थियौं” उपप्रमुख अधिकारीले भनिन्, “केही स्थानमा शंकास्पद गतिविधि पाइएपछि व्यवसाय सञ्चालकलाई पहिलो पटकका लागि सचेत गराएका छौं ।”
केही रेष्टुरेण्टमा शंकास्पद अवस्थामा फेला परेका युवतीले अनुगमन टोलीसँग यौनजन्य क्रियाकलापमा संंग्लन नभएको जिकिर गरेपनि उनीहरुलाई काउन्सिलङ गरिएको थियो । अनुगमनमा नगरपालिकाको कार्यालयमा मूल्यसूची नभएको, आगन्तुक दर्ता पुस्तिका नभएको, सरसफाई नभएको, कर्मचारीको परिचयपत्र नभएको, व्यवसाय कर नविकरण नभएको, ड्रेस कोड नभएकोलगायत कैफियत देखिएकाले पहिलो पटकका लागि सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत एवं समाजिक विकास शाखाका प्रमुख यादवप्रसाद सापकोटाले बताए ।