Logo

अर्गानिक कृषिका लागि सहयोग जुटाउन ‘कर्णाली बृहत संवाद’

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्न पहल थालेको प्रदेश सरकारले अर्गानिक कृषिमा दातृ निकायको सहयोग जुटाउन बृहत कर्णाली संवाद हुने भएको छ ।
कर्णाली प्रदेश सरकारले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा संवादको आयोजना गर्ने भएको छ । अर्गानिक कृषि उत्पादन तथा उपभोग, यसका लागि आवश्यक लगानीको आधारलगायतका विषयमा छलफलका लागि संवादको आयोजना गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । कृषि र वन क्षेत्रको विकासको सम्भावनालाई विभिन्न गैरसरकारी संस्था, बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायलगायतका सरोकारवालाको एकीकृत र प्रभावकारी परिचालन गरी समुदायको जीवनस्तर सुधार गर्ने विषयमा संवाद गर्न लागिएको प्रवक्ता कठायतको भनाइ छ ।
कर्णाली प्रदेशको कृषि तथा वन विकासको क्षेत्रगत नीति र अवधारणासँग सामञ्जस्यता ल्याउन पहल, दातृ निकायको स्रोतलाई एकीकृत गर्न समन्वय तथा सहकार्य बढाउने र प्राङ्गारिक कर्णालीको लक्ष्यमा हातेमालो गर्ने कार्यक्रमको प्रमुख उद्देश्य छ । यस्तै, अर्गानिक कर्णाली प्रदेश घोषणा गर्ने प्रदेश सरकारको लक्ष्यलाई अन्तर्राष्ट्रियकरण गर्ने, यसका लागि बाह्य लगानीको आधार तय गर्ने, दातृ निकायलाई एकीकृत गर्ने पनि संवादको उदेश्य राखिएको कठायतले जनाए ।
संघीय सरकारका अर्थ, कृषि, वन, ऊर्जा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्यका साथै गैरसरकारी अन्तर्राष्ट्रिय संस्था पनि संवादमा सहभागी हुनेछन् । निजी क्षेत्रका व्यवसायी, कृषक प्रतिनिधि तथा अन्य सरोकारवाला पनि संवादमा सहभागी हुने कठायतले जानकारी दिए ।
संवादको व्यवस्थापनमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले व्यवस्थापन गरेका छन् । कार्यक्रमका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान कर्णाली प्रदेश सरकारले गरेको छ । संवादमा चीन, भारत, फिनल्यान्ड र स्विट्जरल्यान्डका राजदूतलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्