Logo

नेपाल–भारत मैत्री धर्मशालामा होटलसरह सुविधा

भारतीय सहयोगमा काठमाडौंको तिलगंगामा निर्माण भएको नेपाल–भारत मैत्री धर्मशाला पोखरास्थित होटल आनन्द म्यानेजमेन्ट प्रालिले सञ्चालन गर्ने भएको छ । गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रूपमा उद्घाटन गरिएको यस धर्मशाला सञ्चालको जिम्मेवारी आनन्द म्यानेजमेन्ट प्रालिले खुला प्रतिस्पर्धाबाट पाएको हो । नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको निमित्त पशुपति क्षेत्र विकास कोषले खुला प्रतिस्पर्धाबाट बोलपत्र आह्वान गरेको थियो । बोलपत्रको प्राविधिक र आर्थिक मूल्यांकनमा होटल आनन्द म्यानेजमेन्टको प्रस्ताव उत्कृष्ट ठहरिएकाले १० वर्षका लागि लिजमा दिइएको कोषका सदस्य–सचिव डा. प्रदीप ढकालले जानकारी दिए । आनन्द म्यानेजमेन्टले कोषलाई वार्षिक १ करोड ५ लाख ४१ हजार ६ सय १८ रुपैयाँ बुझाउने शर्तमा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएको छ । तिलगंगास्थित १९ रोपनी छेत्रफल जग्गामा निर्माण भएको यो आकर्षक भवनमा ८० कोठा छन् । परम्परागत नेपाली शैलीमा निर्माण भएको धर्मशालामा मल्लकालीन रातो इँटा ‘दचि अपा’को प्रयोग गरिएको कोषले जनाएको छ ।नेपाल–भारत मैत्री धर्मशाला भवनका कोठाहरूलाई सुविधासम्पन्न होटलसरह स्तरोन्नति गर्ने होटल आनन्द म्यानेजमेन्टका सञ्चालक ओस्कार बतास बताउँछन् ।

होटल आनन्द म्यानेजमेन्टले १० वर्षसम्म सञ्चालन गर्ने

एट्याच बाथरुम, एसी, टिभीलगायतका सुविधा रहने

शाकाहारी भोजन, प्रतिदिन ३ सय ५० देखि ३ हजार ९ सय ९९ रुपैयाँसम्म भाडा

उनका अनुसार बाहिरी संरचना मात्रै तयार भएको धर्मशालाका भित्रि कोठाहरूमा एट्याच बाथरुम, एसी, टिभीलगायतका सुविधा रहनेछन् । “हामीले यो पूर्ण तयारी गर्दै सञ्चालन गर्न कम्तीमा ७ करोड खर्च लाग्ने अनुमान गरेका छौं,” बतास भन्छन् । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी प्रतिस्पर्धामक रूपमा हस्तान्तरण गर्न केही ढिला भए पनि धर्मशाला भवन हस्तान्तरण भइसकेकाले अब सञ्चालनमा कुनै द्विविधा नरहेको कोषका सदस्य–सचिव ढकालको भनाइ छ । “धर्मशाला सञ्चालन गर्दा हुने वार्षिक आम्दानीको कम्तीमा ५ प्रतिशत रकम सामाजिक सेवामा लगाउनुपर्ने र शुद्ध शाकाहरी भोजनमात्र खुवाउन पाइने तथा मादक पदार्थ बिक्री तथा प्रयोग गर्न नपाइने अनिवार्य शर्तसहित हामीले उहाँहरूलाई जिम्मेवारी दिएका हौं,” ढकालले भने । धर्मशाला भवन सञ्चालनसँगै न्यूनतम १ सय ४४ जनाले रोजगारी पाउने जनाइएको छ । यस्तै, धर्मशालाको सेवा लिएबापत सेवाग्राहीले प्रतिरात ३ सय ५० रुपैयाँदेखि ३ हजार ९ सय ९९ रुपैयाँसम्म शुल्क बुझाउनुपर्नेछ । सञ्चालक बतासका अनुसार करार अवधि समाप्तिसम्ममा कोषलाई होटल आनन्द म्यानेजमेन्टले भाडाबापत न्यूनतम २१ करोड रुपैयाँ भुक्तानी गर्नेछ भने आउँदो दसैंसम्ममा सञ्चालन गर्ने गरीे तयारी भइरहेको छ ।धर्मशाला निर्माणका लागि भारत सरकारले २२ करोड रुपैयाँ सहयोग गरेको थियो । धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’मा यात्रा गराउन सकिने अपेक्षा गरिएको छ । तिलगंगा आँखा अस्पतालको दक्षिण–पश्चिम भागमा रहेको यस धर्मशालामा तीन चोक, तीन तला र ८० कोठा छन् । हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई सहुलियतमा स्तरीय धर्मशालाको व्यवस्था नहुँदा महँगा होटलमा बस्न बाध्य हुने गरेका छन् । वि.सं. २०५८ देखि नै विभिन्न व्यक्तिले चारपटक धर्मशालाको शिलान्यास गरिसके पनि हालैमात्र निर्माण पूरा भएको हो । 

प्रतिक्रिया दिनुहोस्