Logo

स्तरवृद्धि बदरविरुद्ध वीरेन्द्रनगरका कर्मचारी अदालतमा

सुर्खेत– स्तरवृद्धिको निर्णय बदर गर्ने प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशविरुद्ध वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारीहरुले उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता गराएका छन् । स्तरवृद्धिको निर्णय यथावत् राख्न अन्तरिम आदेशको माग गर्दै नगरपालिकामा कार्यरत कर्मचारीहरुले आइतबार रिट निवेदन दर्ता गराएका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाले पाँच वर्ष सेवा अवधि पुगेका नगरपालिकामा कार्यरत ३९ जना कर्मचारीहरुको एक एक तह स्तर बृद्धि गरेको थियो । स्थानीय सेवा ऐनलाई टेकेर गत साउन १५ गतेदेखि लागू हुनेगरी नगर कार्यपालिकाको बैठकले स्तर बृद्धिको निर्णय गरेको थियो । तर प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले आयोगसंग परामर्श नगरी स्तर बृद्धि गरिएको भन्दै बदर गरिदियो । आयोगले २०७८ माघ ४ गते प्रदेशका सबै स्थानीय तहलाई पत्राचार गर्दै आयोगसँग परामर्श नगरी गरिएका स्तरबृद्धि बढुवा बदर गर्न भनेको थियो ।
तर वीरेन्द्रनगर नगर कार्यपालिकाको फागुन ५ गतेको बैठकले आफ्नो निर्णयको बचाउ गर्दै स्तर बृद्धिको निर्णय रितपूर्वक भएको दाबिसहित आयोगलाई पत्राचार गरेको थियो । फागुन ८ गते बसेको नगरसभाले पनि उक्त निर्णयलाई सदर ग¥यो । तर आयोगले पुन फागुन ३० गते पत्रार गर्दै आयोगको परामर्श विना स्तर बृद्धि गरेको भन्दै बदर हुने पत्र पठायो ।
आयोगको पत्राचारपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले स्तरबृद्धि बदर गरी कर्मचारीहरुलाई पूरानै पदमा कामकाज गर्न निर्देशन दिएपछी आन्दोलित बनेका छन् । उनीहरुले स्तरबृद्धिको निर्णय लागू नभए पूरानो पदमा रहेर काम नगर्ने बताएका छन् । अदालतको फैसला नआउँदासम्म कामकाज नगर्ने रिट निवेदक मध्यका एक जना टंक प्रकाश लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्