१ वर्षमा ८ सय घण्टा ‘भीआइपी’ उडान

सैनिक हेलिकप्टरमा भीआईपीको लर्को
सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो ।
नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् । कतिसम्म भने काठमाडौंबाट मुस्किलले २० किमि दूरीमा रहेको काभ्रे जाँदा पनि सैनिक हेलिकप्टर नै प्रयोग गरिएको छ । सैनिक हेलिकप्टर प्रयोगका लागि विशिष्ठ व्यक्तिले आग्रह गरेरमात्रै हुँदैन । प्रबन्ध रथी विभागले प्रधानसेनापतिको आदेशमा मात्रै विशिष्ठ व्यक्तिका लागि सैनिक हेलिकप्टर उपलव्ध गराउने प्रचलन छ ।
सैनिक हवाई माहनिर्देशनालयका अनुसार सेनाको विशिष्ट उडान सेवाअन्तर्गत राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन तथा तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवा तथा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ३ वटा सरकारको पालामा विशिष्ठ व्यक्तिले एमआई १७ लगायतका हेलिकप्टरमा ५ सय २१ घण्टा यात्रा गरेका छन् । त्यसबाहेक मध्यएयर बेस (गौचर व्यारेक) मार्फत खोज-उद्धार, तालिम, विशिष्ठ व्यक्तिका उडान, सिभिल चार्टर र राष्ट्रिय समारोहका लागि २ हजार ६ सय ९९ घण्टा उडान भरिएको सेनाले जनाएको छ । तत्कालीन प्रधानमन्त्री देउवा र दाहालले सबैभन्दा बढी सैनिक हेलिकप्टर राजनीतिक कार्यक्रममा प्रयोग गरेको उल्लेख छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचन प्रचारप्रसार र भोट माग्न जाँदा पनि सैनिक हेलिकप्टर पटकपटक प्रयोग गरिएको सेनाको रेकर्डमा उल्लेख छ । विपत् व्यवस्थापन तथा खोज-उद्धारबाहेक सैनिक हेलिकप्टरमा भीआईपीले फजुल खर्च गर्ने गरेको सैनिक अधिकारीकै प्रष्टोक्ति छ ।
“सेनाको हेलिकप्टर प्रयोग गरेर कार्यक्रममा जाँदा त्यसको औचित्य पुष्टि हुनुपर्छ, तर धेरैजसो समय यसप्रति ख्याल गरिएको देखिँदैन,” सेनाका एक उपरथी भन्छन्, “राज्यको साधनस्रोत प्रयोग गरेपछि त्यसको औचित्य पुष्टि हुनुपर्छ, अझ सेनाकै हेलिकप्टरमा जानु पर्नेछ भने सम्बन्धित विशिष्ठले पनि सोच्नुपर्ने हो ।”
सेनाले एमआई–१७ प्रयोग गर्दा प्रतिघण्टा ४ लाख ५५ हजार ८६५ रुपैयाँ र बेल हेलिकप्टर प्रतिघण्टा ९३ हजार ६ सय ७ रुपैयाँ शुल्क लिन्छ । एमआई १७ हेलिकप्टरबाट प्रतिघण्टा उडान भर्न १ लाखभन्दा बढीको त इन्धन नै खपत हुन्छ ।
“आव २०७४-७५ को १२ महिनामा ३ हजार २ सय २० घण्टा सैनिक हेलिकप्टर प्रयोग भएकोमा विशिष्ट व्यक्ति ओसारपसार गर्न मात्रै ८ सय घण्टाभन्दा बढी समय लागेको छ,” सैनिक उच्च स्रोतले भन्यो, “कतिपय उडान पहुँच, प्रभाव र माथीको दवावमा समेत हुँने गरेको पाइन्छ ।”
सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीले हेलिकप्टर प्रयोग गरेको शुल्क आफैँ बेहोर्छ । बाँकी पदाधिकारी तथा पहुँचवालाले प्रयोग गर्दा निर्धारित शुल्क लिएर सेवा दिँदै आएको सैनिक अधिकारीले जनाए । भीआईपीका नाममा गरिएका कतिपय उडानको दशकौं वर्षदेखि शुल्क उठाउन नसकिएको सेनाले जनाएको छ । पछिल्लो १ वर्षमा उडान भरेको रकम पनि सेनाले पाइनसकेको स्रोतले जनायो ।