चौधरीले वारेशमार्फत् विजेताको प्रमाणपत्र नपाउने

कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त भएको भन्दै पक्राउ पुर्जी जारी गरिएका रेशम चौधरीले वारेशमार्फत् निर्वाचन जितेको प्रमाणपत्र नपाउने भएका छन् । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित भएका चौधरीले वारेशमार्फत उम्मेदवारी दर्ता गरेकाले वारेशमार्फत् नै प्रमाणपत्र पाउनुपर्ने माग राख्दै वारेशमार्फत नै निवेदन सर्वोच्च अदालतमा पठाएका थिए । वारेशमार्फत् प्रमाणपत्र बुझीपाऊँ भन्ने चौधरीको निवेदन अस्वीकृत गरेको प्रशासनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
सर्वोच्च अदालतले आइतबार आदेश गर्दै विजयी भएको प्रमाणपत्र लिन चौधरीलाई जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भनेको छ । राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार रही निर्वाचित भएका चौधरीलाई वारेशमार्फत् दिन नमिल्ने भन्दै प्रमाणपत्र लिन जिल्ला अदालतमा आफैं उपस्थित हुन भनेको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सर्वोच्च प्रशासनको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णयलाई कानुनसम्मत ठहर गर्दै त्यस्तो आदेश गरेको हो । चौधरीले मंसिर २९ गते वारेशमार्फत् वेरितको आदेश बदर गरीपाउँ भन्ने रिट निवेदन दर्ता गर्न ल्याए पनि रिट दर्ता गर्न नमिल्ने भनेर फर्काइएको थियो ।
त्यस्तै, अदालतबाट पुर्जीसमेत जारी गरेका व्यक्तिको पक्षमा आदेश जारी गर्दा दण्डहीनता बढ्ने भन्दै आदेशमा चौधरीले कानुन उल्लंघन गरेको भन्दै कानुनी सुविधा दिन नसकिने पनि उल्लेख छ । “आफू विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको जानकारी राख्ने यी निवेदकले अदालतबाट जारी भएको पक्राउ पुर्जी र वारेन्ट समेतको अवज्ञा गरेको देखिन्छ,” सर्वोच्चको आदेशमा भनिएको छ, “अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान र कानुनले प्रयोग गरेको सुविधा पाउँछ भन्न मिल्दैन ।”
०७२ भदौमा थरुहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र १ बालकको हत्या भएको थियो । सो घटनामा चौधरीलाई मुख्य अभियुक्त भन्दै पक्राउ पुर्जी जारी भएपछि उनी लुकेर बस्दै आएका छन् ।