तीन हप्ताभित्रै ओलीको नेतृत्वमा सरकार बन्छ : ज्ञवाली

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अबको तीन हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । अबको सरकारको पहिलो प्राथमिकता नै मुलुकको विकास र राजनीतिक स्थिरता रहने पनि उनले बताए ।
शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले अबको तीन हप्ताभित्रै ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने घोषणा गरे । उनले भने, “अब बन्ने सरकारको प्राथमिकता भनेको राष्ट्रियता बलियो बनाउने, सुशासन कायम गर्ने, राजनीतिक स्थिरता, प्रत्येक नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र तिव्र आर्थिक विकास हासिल गर्ने नै हो ।” नेपाली जनताले यिनै उद्देश्य पूरा गर्नको लागि वाम गठबन्धनलाई विश्वास गरेर अमूल्य मत दिएको उनको भनाइ थियो ।
ज्ञवालीले आगामी ५ वर्षभित्रमा नेपाललाई विकासशील राष्ट्र बनाउने र आगामी दश वर्षभित्र प्रतिव्यक्ति आम्दानी ५ हजार अमेरिकी डलर पुर्याउने अबको सरकारको लक्ष्य रहने उनले जनाए । उनले अब बन्ने सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेमा दुईमत नभएको स्पष्ट पारे ।
निर्वाचन सम्पन्न भएको लामै समय भइसकेको भए पनि वर्तमान सरकारले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेको भन्दै दुःख व्यक्त गरे । उनले भने, “वर्तमान सरकारले विभिन्न बहाना गरेर खासगरी राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा एक खालको अर्गेल्याइँ झिकेर सहज सत्ता हस्तान्तरणमा असहजता उत्पन्न गरिरहेको स्थिति देखिन्छ । त्यसो गर्नु अनुचित हुन्छ । जनताको जनादेशको भावनाविपरीत हुन्छ । यसर्थ नयाँ सरकार गठनमा मार्गप्रशस्त गर्न हामीले ध्यानाकर्षण पनि गराएका छौं, अब ढिलाई गर्न हुँदैन ।”
राष्ट्रिय सभा गठन नभईकन नयाँ सरकार बन्नै सक्दैन भन्नु गलत र भ्रमको खेती भएको उनको टिप्पणी थियो । उनले अबको तीन हप्ताभित्र नयाँ सरकार गठन हुने विश्वास दिलाए ।
त्यस्तै उनले अब एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता कसैले चाहेर पनि नरोकिने जिकिर गरे । उनले थपे, “छिट्टै एकता हुन्छ । एकताको लागि सघन रूपमा गृहकार्य अघि बढ्छ, हामी छलफलमा जुटिसकेका छौं ।”
अब पार्टी एकता केवल एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मात्रै एजेण्डा नभएर ५० लाख नेपाली जनताको एजेण्डा भइसकेको बताए । उनले भने, “वाम गठबन्धन बनाएर हामी चुनावमा गएका थियौं, हाम्रो पक्षमा ५० लाख जनताले मत दिनुभयो, योसँगै अब पार्टी एकता जनताबाट अनुमोदिन भइसक्यो । एकीकृत कम्युनिष्ट पार्टी बनाउने जनताको मत हो, हामी त्यसबाट दायाँबायाँ हुँदैनौं ।”