धार्चेमा सूत्र सफ्टवेयर प्रयोग

गोरखाको धार्चे गाउँपालिकाले जिल्लामै पहिलो स्थानीय तहका रूपमा सूत्र सफ्टवेयर प्रयोगमा ल्याएको छ । स्थानीय तहमा भएको आम्दानी खर्च विवरण केन्द्र सरकारको महालेखा नियन्त्रकको कार्यालयमा पु¥याउन बनाइएको सवनेसनल ट्रेजरी एकाउन्टिङ सिस्टम (सूत्र) नामक सफ्टवेयर धार्चे गाउँपालिकाले प्रयोगमा ल्याएको हो । चालू आर्थिक वर्षदेखि सफ्टवेयरमार्फत कारोबारको विवरण राख्न थालेको गाउँपालिकाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सफ्टवेयर लागू भएपछि धार्चे गाउँपालिकाले गरेको आम्दानी खर्चको विवरण पनि सिधै महालेखा परीक्षकको कार्यालयले हेर्न सक्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख श्रीधर ज्ञवालीले बताए । उनले भने, “यो सफ्टवेयर प्रणालीमा के–के अपडेट भएको छ सर्वसाधारणले हेर्न तथा देख्न भने पाउने छैनन् ।” यसमा गाउँसभाले पारित गरेको बजेट अद्यावधिक गरेपछि आम्दानी तथा खर्चहरू भर्दै जानुपर्नेछ । यसले लेखांकन, प्रतिवेदन, रिर्पोटिङलगायतका काममा सजिलो हुने गाउँपालिकाका प्रशासकीय अधिकृत बाबुराम पाण्डेले बताए ।
उनले भने, “हामीलाई अब आम्दानी खर्चको विवरण राख्न र प्रदेश र स्थानिय सरकारहरूलाई रिर्पोटिङ गर्न पनि सजिलो हुने भएको छ ।” स्थानीय तहमा भएको आम्दानी खर्चको अनुगमन तथा मूल्यांकन गर्न सरकारले यो सफ्टवेयर प्रयोगमा ल्याउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ । यसका लागि गोरखाका स्थानीय तहका कर्मचारीलाई गएको चैतमा तालिम दिए पनि अरू स्थानीय तहले अहिलेसम्म यो सफ्टवेयर प्रयोग नगरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
सफ्टवेयरको प्रयोगले गाउँपालीका कार्यालयको लेखा प्रणाली व्यवस्थित गर्न सहयोग पुगेको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले जानकारी दिए । “आर्थिक सुशासन र पारदर्शिताका लागि पनि यसले सघाउँछ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले स्थानीय सरकारले आफ्ना सबै आर्थिक गतिविधि पारदर्शी बनाउनुपर्नेमा जोड दिए । उनले भने, “गाउँपालिकाका बासिन्दालाई पनि योबारे जानकारी दिनुहोस्, पारदर्शी बन्नुहोस् ।” कार्यक्रममा गाउँपालीका उपप्रमुख फुलमाया गुरुङले गाउँपालीकाले सुशासन र पारदर्शितालाई जोड दिएको बताइन् ।