भारतीय टेक बजारमा चीनको वर्चस्व «

भारतीय टेक बजारमा चीनको वर्चस्व

चीनले नेपालको राजनीतिमा चासो देखाएर राजनीतिक स्थिरताका लागि वाम गठबन्धन बनाउन लगाएको चर्चा चलिरहेको बेला भारतले आगामी पाँच वर्षमा लाखौं रोजगारी सिर्जना गर्न चिनियाँ लगानी भित्र्याउन लागेको देखिएको छ ।
६ सय कम्पनीहरूसँगको निकट सम्बन्ध बनाएको सानी हेभी इन्डस्ट्रीले ८५ अर्ब अमेरिकी डलर बराबरको लगानी भारतमा भित्र्याउने योजना बनाइरहेको छ । ती परियोजनाले आगामी ५ वर्षमा ७ लाख रोजगार सिर्जना गर्ने अपेक्षा गरिएको छ । भारत सरकारको लगानी प्रवद्र्धन गर्ने नियोग इन्भेस्ट इन्डियाले विभिन्न देशहरूबाट लगानी भित्र्याउने योजना बनाइरहेको छ । भारतमा लगानी लगाउन २ सय कम्पनीको खाका बनिसकेको छ ।
इन्भेस्ट इन्डियाका प्रबन्ध निर्देशक दीपक बाग्लाले भने, “१०० अर्ब अमेरिकी डलरको लगानी आगामी दुई वर्षमा ल्याउने योजना छ । यो लगानी हरियो र खैरो क्षेत्रमा हुनेछ ।” भारतमा सन् २०१७ मा विदेशी प्रत्यक्ष लगानी(एफडीआई) ४३ अर्ब अमेरिकी डलर बराबर रह्यो । यो अहिलेसम्मको उच्चतम एफडीआई हो । यो गत वर्षको भन्दा ९ प्रतिशतले बढी भएको जनाइएको छ । इन्जिनियरिङ मसिनरी वस्तुका उत्पादकहरू मध्ये विश्वकै एक अगुवा चिनियाँ कम्पनी सानी हेभी इन्डस्ट्रीले ९.८ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने योजना बनाएको छ । अन्य केही चिनियाँ कम्पनीहरूका साथ अमेजनले अर्बौं अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।
अमेजनसँगका कम्पनीहरूमा प्यासिफिक कन्स्ट्रक्सन, चाइना फर्चुन ल्यान्ड डिभलपमेन्ट र डालियन वानडा लगायतका रहेका छन् । हरेकले ५ अर्ब भन्दा बढीको लगानी लगाउने योजना बनाइरहेका छन् । यी लगानीहरूबाट रोजगारी सिर्जना भइरहेको देखिएको छ । ७.४३ अर्ब अमेरिकी डलर ठोस भइसकेका छन् । इन्भेस्ट इन्डियाका अनुसार १ लाख रोजगारी सिर्जना भइसकेका छन् । रोल्स रोयसले ३.७ अर्ब र अस्ट्रेलियाको पेर्डाम्यान इन्डस्ट्रिज ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने योजनामा छ ।
यसरी अधिकांश लगानी प्रस्तावहरूमा चीनबाट सबैभन्दा बढी रहेको देखिएको छ । चीनबाट ४२ प्रतिशत, अमेरिकाबाट २४ प्रतिशत र बेलायतबाट ११ प्रतिशतको लगानी भारतमा हुने गरी प्रस्तावहरू छन् । चिनियाँ राष्ट्रपति सी जिनपिनले सन् २०१४ मा आगामी ५ वर्षमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी लगाउने प्रतिबद्धता जनाएका थिए । विगत केही वर्षमा चीनबाट भारतीय कम्पनीहरूमा लगानी बढ्दै गएको देखिएको छ ।
यो लगानी भारत र चीनबीचको विवादका बीच पनि हुँदै आएको देखिएको छ । चिनियाँ कम्पनीहरूसँग काम गर्ने भारतीय कम्पनीहरूका अनुसार औपचारिक आँकडाभन्दा कम्तीमा ५ गुना चिनियाँ लगानी भारतमा भित्रिएको छ । लिंक लिगलका कानुन व्यवसायी साझेदार सन्तोष पाइका अनुसार चिनिया कम्पनीले पुँजी लगानीका लागि भारत रोज्न थालेका छन् । लिंक लिगलका अनुसार सन् २०११ यता चिनियाँ कम्पनीले भारतीय बजारमा खुट्टा टेकिसकेका छन् ।
यसो त चिनिया स्मार्टफोन निर्माताहरू विश्वकै नम्बर एक मोबाइल कम्पनी सामसङ र एप्पलमाथि पनि हाबी हुँदै गएका छन् । समग्र चिनिया फोनहरूको हिस्सा अन्य ब्रान्डहरूको भन्दा अगाडि छ । तर, विश्वमै टेक मार्केटको केन्द्रको रूपमा विकास भइरहेको भारतमा चिनिया वर्चस्व भने आक्रामक रूपमा बढेको छ । अमेरिका, सिंगापुर वा विश्वका अन्य कुनै देशमा क्रियाशील चिनिया कम्पनीहरूले भारतमा गरेको लगानीलाई औपचारिक रूपमा चिनिया लगानी भन्ने गरिएको छैन । चीनको मुख्य भूमिबाट भएको लगानीलाई मात्र चिनिया लगानीको रूपमा बुझ्ने गरिन्छ । हङकङ र मकाउका लगानीलाई पनि चिनिया लगानीको रूपमा औपचारिकता दिने नगरिएको विज्ञहरूको भनाइ छ । लगानीको यो अवस्था भारतमा रहिरहँदा सन् २०१७ मा चीनको स्मार्टफोन साओमीले भारतीय बजारमा वर्चस्व कायम गरेको छ । भारतमा करिब ६५ करोड मानिसहरूसँग मोबाइल फोन छन् । ती मध्ये ३० करोडभन्दा बढीले स्मार्टफोनको उपभोग गरिरहेका छन् । भारतका यस्ता स्मार्टफोन उपयोगकर्ताहरूमाझ चिनियाँ उत्पादनहरू बढी लोकप्रिय भइरहेका छन् । उनीहरूले स्मार्टफोनका लागि गर्ने खर्च र रूचिका आधारमा चिनिया उत्पादनहरूलाई मन पराइरहेका छन् ।
चिनिया बिक्रेताहरूले भारतको हाते मोबाइल फोन सेटको बजारमा ४९ प्रतिशत हिस्सा ओगटेका छन् । सन् २०१७ को पहिलो त्रैमासिकमा भारतको मोबाइल बजारमा चिनिया मोबाइल बिक्रेताहरूको पहुँच कायम भएको थियो । यसबाट वार्षिक आम्दानी १८० प्रतिशतले बढ्दै गएकोले हाते मोबाइलको बजार चिनिया उत्पादकहरूले लिने देखियो । चिनिया ब्रान्डहरूमा साओमीले यो वर्ष ठूलो हिस्सा ओगटेको छ । यसको बजार हिस्सा २३.५ प्रतिशत रहेको छ । यो वर्षको तेस्रो त्रैमासिकसम्म ९२ लाख स्मार्टफोनको सिपमेन्ट गरियो । साओमी सर्वाधिक वृद्धि गरेको ब्रान्डको रूपमा स्थापित भयो । यो वर्षको त्रैमासिकसम्म करिब ३०० प्रतिशतको वृद्धि दर प्राप्त गर्यो । यसैगरी लेनोभो माटोरोलाको हिस्सा ९ प्रतिशत, भिभोको हिस्सा ८.५ प्रतिशत र ओप्पोको हिस्सा ७.९ प्रतिशत रहेको देखियो ।
साओमीको सन्दर्भमा रेडमी नोट ४ डिभाइसलाई जनवरीमा ल्याइएको थियो । यसको आधार मूल्य ९,९९९ भारु तोकिएको थियो । २ जीबी ¥याम र ३२ जीबी अनबोर्ड स्टोरेज भएको यो मोबाइल सेट बिक्रीमा पनि गेम चेन्जर बन्न पुगेको छ । यो मोबाइलको करिब ४० लाख सिपमेन्ट यो त्रैमासिकमा भएको छ । चिनिया ब्रान्डहरूमा हुवावे भिभो, लेनोभो ब्रान्डको मोटोरोला र ओप्पोले भारतीय बजारमा राम्रो प्रदर्शन गरेका छन् ।
उच्च प्रतिस्पर्धी बजारको रूपमा रहेको भारतीय बजारमा हनरले पनि सफलता प्राप्त गरेको छ । हनर ८ प्रोलाई २९,९९९ भारु र हनर ७ एक्सलाई १२,९९९ प्रारम्भिक मूल्यमा बजारमा ल्याइएको थियो । भिभो र ओप्पोले पनि बजारमा आक्रामक रूपमा प्रवेश गरी राम्रो फाइदा कमाएको छ । स्मार्टफोनको क्षेत्रमा क्रियाशील चिनिया खेलाडीहरूले भारतको दोस्रो र तेस्रो स्तरका सहरहरूमा आफ्नो बजार विस्तार गरिरहेका छन् ।
साओमीले नोयडा बाहिर तेस्रो प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ । नोयडामा यसको फैलावट २लाख ३० हजार वर्गफिटमा भएको छ । नोयडा प्लान्टले साओमीका लागि पावर बैंक बनाउने गर्छ र एम आई पावर बैंक २ आइलाई तयार पारिन्छ । कम्पनीका दुई प्लान्ट आन्ध्र प्रदेशमा रहेका छन् ।
यसैगरी दक्षिण कोरियाली कम्पनी सामसंगले पनि नोयडाको आफ्नो प्लान्टमा ४९ अर्ब १५ करोड भारुको लगानी लगाउने घोषणा गरिसकेको छ । भारतको लगानी प्रवद्र्धन बोर्डले ओप्पोको लगानी गर्ने अनुरोधलाई अनुमोदन गरेको छ । ओप्पोले आफ्नो एकल ब्रान्डको खुद्रा बिक्री केन्द्रहरू खोल्ने अनुमति मागेको थियो । बोर्डले ओप्पोलाई दिएको यस किसिमको अनुमति पहिलो हो ।
सामसंगले आफ्नो योजना भारतीय बजारका लागि बनाइरहेको छ । साओमीले आफ्नो पहिलो एमआई होम बेंगलुरुमा खोल्यो । मे महिनामा यो स्टोर खोल्ने बेला साओमीले आगामी दुई वर्षमा यस्ता १०० स्टोर खोल्ने जनाएको थियो । यसैगरी लेनोभोको स्वामित्वमा रहेको मोटोरोलाले टो हब्स दिल्ला मुम्बईमा ६ वटा स्टोर खोलेको छ । साथै यो वर्षको अन्त्यसम्म ५० वटा स्टोर खोलिसक्ने योजना सार्वजनिक गरिसकेको छ ।
हुवावेको सहब्रान्ड हनरले अझ ४ सेवा केन्द्रहरू खोल्ने घोषणा गरेको छ । ती केन्द्रहरू कोलकाता, हैदराबाद, लखनउ र गुहाटीमा खोलिनेछन् । भारतका १७ सहरहरूमा यस्ता केन्द्रहरू यसअघि नै सञ्चालनमा आइसकेका छन् । स्मार्टफोन बजारको सर्वाधिक ठूलो बजारको रूपमा भारतले अमेरिकालाई उछिनेर यो वर्ष चीन पछिको दोस्रो बन्न पुगेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार भारतको कुल जनसंख्याको एक चौथाइले स्मार्टफोन प्रयोग गर्न थालेमात्र चिनियाँ स्मार्टफोनका खेलाडीहरूका लागि भारत एक आकर्षक गन्तव्य बन्ने छ ।
(एजेन्सीको सहयोगमा)

धर्मेन्द्र कर्ण 

प्रतिक्रिया दिनुहोस्