Logo

प्राधिकरण अध्यक्षको दौडमा १५ जना

– एक साताभित्र ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाइने
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिरकणको रिक्त अध्यक्ष पदमा १५ जनाले दरखास्त दिएका छन् । आवेदन दिनेमा पूर्व सञ्चार सचिव सुशील घिमिरेदेखि प्राधिरकणकै वरिष्ठ निर्देशकद्वय आनन्दराज खनाल र पुरुषोत्तम खनालसम्म छन् । मन्त्रालयले एक साताको समय राखी शुक्रबारसम्म आवेदनका लागि समय दिएकोमा नेपाल टेलिकमका पूर्व कर्मचारीदेखि सूचना प्रविधि विज्ञसम्म प्रतिस्पर्धामा उत्रेका छन् ।सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार छनोट समितिले शुक्रबारदेखि नै काम सुरु गरेको छ भने एक सातामा मूल्यांकन गरी ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाइनेछ ।
“प्राधिकरणका सबै कामहरू रोकिएका छन्,  वार्षिक कार्यक्रम पनि स्वीकृत हुने सकेको छैन, जतिसक्यो छिटो प्राधिकरणलाई नेतृत्व दिन हाम्रो समितिले काम गरिरहेको छ,” प्रवक्ता ढकालले भने । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा प्रवक्ता ढकाल र कानुन सेवाबाट निवृत्त रुद्र सिटौला समितिमा छन् । कार्य अनुभव, शैक्षिक योग्यता तथा आवेदकले पेश गरेका योजना लगायतमा अध्ययन गरी समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । मन्त्रालयले निर्धारण गरेको मापदण्डमा कम्तिमा स्नातक उपाधि हासिल गरी दूरसञ्चार क्षेत्रमा १० वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने उल्लेख छ । कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीका हकमा राजपत्रांपकत प्रथम श्रेणी, दशौं तह वा त्यसभन्दा माथिल्लो पदमा अनुभवप्राप्तले मात्र आवेदन दिन पाउने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । प्राधिकरणबाटै २ जना वरिष्ठ निर्देशकहरूले अध्यक्षको दावेदारी गरेका छन् । आनन्दराज खनाल र पुरुषोत्तम खनाल दुवै अहिले प्राधिकरणको सबैभन्दा उच्च तहमा कार्यरत छन् । आनन्दराज खनाल २००५ देखि २०१७ सम्म निर्देशक र २०१८ बाट वरिष्ठ निर्देशकमा रूपमा कार्यरत छन् । अध्यक्षका लागि प्रतिस्पर्धामा पूर्व सञ्चार सचिव सुशील घिमिरे पनि छन् । त्यस्तै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका महाप्रबन्धक अनिल झाले पनि दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ । यसअघि कार्यसम्पादन सन्तोषजनक हुन नसकी मन्त्रिपरिषद्बाट हटाइएका दिगम्बर झा पनि पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । पदमा रहँदा पनि महत्वपूर्ण काम गर्न रोक लगाइएको र अन्त्यमा असक्षम भन्दै झालाई असार २० को मन्त्रिपरिषद्ले बर्खास्त गरेको थियो । कहिले सर्वाेच्चको मुद्दा त कहिले मन्त्रालयबाट काम गर्न रोक लगाइँदा झाको कार्यसम्पादन निकै कमजोर देखिएको थियो ।
  प्रतिस्पर्धामा चुडामणि चौलागार्इं पनि छन् । उनी प्राधिकरण सञ्चालक समितिका सदस्य हुन् भने नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक चार्टर्ड एकाउन्टेन्ट बुद्धिप्रसाद आचार्य पनि प्रतिस्पर्धामा छन् । टेलिकमकै पूर्व प्रबन्ध निर्देशक देवनारायण यादव, टेलिकममै काम गरिसकेका रवीन्द्र झा, शिवभुषण लाल, मधुसूधन कर्मचार्य र खड्ग बस्नेतले पनि आवदेन दिएका छन् भने प्रविधि विज्ञ उज्वल प्रधानांग, रोहित रौनियार तथा भुपेन्द्र भण्डारी पनि प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया दिनुहोस्