सामसङको नोट–९ दक्षिण एसियाली बजारमा

सामसङ मोबाइलको बहुप्रतिक्षित नोट नाइन बुधबार भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक भएको छ । साउन अन्तिम साता अमेरिकामा सार्वजनिक भएको यो मोबाइल दक्षिण एसियामा पहिलोपटक बुधबार सार्वजनिक भएको हो ।
ग्यालेक्सी नोट नाइनको साइज ६.४ इन्च (१६.२६ सेमी) छ भने यसको स्क्रिनको रिजोलुसन भने १४४०×२९६० पिक्सेल छ । एन्ड्रोइडको भी८.१ अपरेटिङ सिस्टम रहेको यस फोनको दिल्लीको ह्यात होटलमा आयोजित कार्यक्रममा सामसङ मोबाइलका ग्लोबल सीईओ डिजे कोहले सार्वजनिक गरे ।
कार्यक्रममा सीईओ कोहले सामसङ मोबाइलले भारतमा फ्याक्ट्री स्थापना गर्न लागेको र सो फ्याक्ट्रीबाट प्रतिघन्टा ४ हजार मोबाइल सेट उत्पादन हुने जानकारी दिए ।
६ जीबी ¥याम रहेको नोट नाइनमा ४ हजार एमएएच ब्याट्री क्षमता छ । यस्तै १२ मेगापिक्सेलको क्यामेरा र १२८ जीबी इन्टरनल मेमोरी रहेको मोबाइलको प्रारम्भिक मूल्य अन्तर्राष्ट्रिय बजारमा ९ सय ९९ डलर छ भने भारतमा ६१ हजार ९ सय भारु निर्धारण गरिएको छ ।
नोट ९ मा ग्यालेक्सी एस नाइन प्लसको जस्तै ड्यूल एपेर्चर क्यामरा छ । यसको प्राइमरी सेन्सर १२ मेगापिक्सेल र अर्को सेन्सर पनि १२ मेगापिक्सेलको छ भने क्यामेरामा २ एक्स लसलेस जूम तथा आईओएसका लागि एउटा टेलिफोटो लेन्स छ । यस्तै, नोट नाइनमा एचडी रिजोलुसनमा ९६० फ्रेम प्रति सेकेन्डमा ४ सेकेन्डको स्लो मोसन भिडियो रेकर्ड गर्न सकिनेछ । फोनमा ८ मेगापिक्सेलको सिंगल फ्रन्ट क्यामरा छ जसले एआर इमोजी सपोर्ट गर्नेछ ।
सामसङको नोट नाइनका साथमा कम्पनीले दिने एस पेन निकै महत्वपूर्ण छ । ब्लूटूथ कनेक्टिभिटीका साथ तस्बिरहरूमा क्लिक गर्नका लागि रिमोट सटरका रूपमा एस पेनको उपयोग गर्न सकिनेछ । यसले स्मार्टफोनमा म्युजिक प्लेब्याकलाई रिमोटली कन्ट्रोल गर्न समेत प्रयोग गर्न सकिन्छ ।
नोट नाइन सार्वजनिकीकरण समारोहमा दक्षिण एसियाली मुलुकका सामसङमा आधिकारिक वितरक, सञ्चारकर्मीलगायतको बृहत् उपस्थिति थियो । भारतीय बजारमा सार्वजनिक भइसकेकाले नेपाली बजारमा चाँडै नै यसलाई उपलब्ध गराइने सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए । उनका अनुसार हालसम्म यसको मूल्य निर्धारण भने भइसकेको छैन ।