‘वैधानिक ढंगबाट सहजरूपमा सत्ता हस्तान्तरण गर्न तयार छौं’

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकार वैधानिक रूपमा सहज ढंगबाट सत्ता हस्तान्तरणका लागि तयार भएको बताएका छन् । सञ्चार मन्त्रालयमा मंगलबार विकसित घटनाक्रमका बारेमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजि भइरहेको बताए ।
कानुनी जटिलता निम्त्याएर सत्ता लम्भ्याउने पक्षमा वर्तमान सरकार नरहेको दाबीसमेत उनले गरे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले सरकार संवैधानिक विधिबाट चाँडोभन्दा चाँडो सत्ता हस्तान्तरण गर्न तयार रहेको बताए । संविधानको भावना र मर्मत विपरित कुनै पनि काम हुन नदिने उनको भनाइ छ ।
“लोकतान्त्रिक पद्धतिमा सत्ता हस्तान्तरण शालिन र सभ्य सुकर्म हो, हामीलाई थाहा छ । सत्ता र सरकार कहिल्यै कसैको पनि चिरस्थायी हुँदैन,” सरकारद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “वर्तमान सरकार कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहँदैन । सरकार सहज सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजी गरिरहेको छ ।”
बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश स्वीकृत गरेर सत्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गरिदिन आग्रह समेत गरेका छन् । राष्ट्रपति भण्डारीले अध्यादेश स्वीकृत गरेपछि सहज सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गरिने उनको भनाइ थियो । उनले राष्ट्रपतिले अध्यादेश अड्काएर राख्नु दुखद् भएको टिप्पणी गरे । “राष्ट्रपति जस्तो सम्मानित संस्थालाई केही दलहरूले आफू अनुकूल प्रयोग गर्ने प्रयास गरेका छन्, जुन चिन्ताजनक छ,” उनले भने ।
निर्वाचनपछि पहिलो दल बनेको नेकपा एमालेले सत्ता लोलुपता देखाएको आरोप लगाउँदै उनले अतिरञ्तित टिप्पणी गरिरहेको बताए । उनले राजनीतिक दलले प्राप्त गर्ने सिट संख्यासमेत तय नभएको अवस्थामा एमालेले कार्यपालिका कब्जा गर्न खोजेको आरोप समेत लगाए ।
निर्वाचन आयोगले कानुनअनुसारका सबै निर्वाचन सम्पन्न गरेको जानकारी दिन बाँकी नै रहेको र राजनीतिक दलहरू आफैंले संसदीय दलको चयनदेखि अन्य कार्यभार पूरा गरिसनकेको अवस्थामा सत्तालोलुपताको आरोप लगाउनुको कुनै तुक नभएको उनको भनाइ थियो ।
उनले विगतमा तेस्रो स्थानमा रहेको दलको नेतृत्वमा पटक पटक सरकार बनेको र कानुनी प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीले पदबाट राजिनामा दिँदा ६ महिनासम्म नयाँ सरकार गठन हुन नसकी कामचलाउ सरकारले सत्ता सम्हाल्नु परेको विगतलाई नभुल्न आग्रह समेत गरे ।
बस्नेतले निर्वाचनको परिणामले केही राजनीतिक दलमा अहंकार बढेको आरोप लगाए । निर्वाचन आयोगका पदाधिकारीहरूबाट कानुनी प्रक्रियाअनुरुप निर्वाचन सम्बन्धी अभिव्यक्ति आएको अवस्थामा केही दलका नेताहरूको आयोगप्रति लाल्छनापूर्ण अभिव्यक्ति अहंकारपूर्ण भएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएका कारण सरकारले गरेका नियुक्तिहरू कानुन अनुसार नै हुने दाबी गर्दै उनले प्रधानमन्त्रीको राजीनामा नआउँदासम्म नियुक्ति नरोकिने बताए ।