धितोपत्र नवीकरण दस्तुर शतप्रतिशत वृद्धि «

धितोपत्र नवीकरण दस्तुर शतप्रतिशत वृद्धि

बोर्डले स्वीकृत गरेको विनियमावली अनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ०.१० प्रतिशत सूचीकरण दस्तुर र वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले सूचीकरण शुल्क बढाएर समयसापेक्ष बनाएको दाबी गरेको छ । बोर्डले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सूचीकरण विनियमावली स्वीकृत गर्दै यसअघिको व्यवस्थाभन्दा धेरै शुल्क निर्धारण गरी स्वीकृत गरेको हो ।
नेप्सेमा धितोपत्र कारोबारका लागि सूचीकरण हुने कम्पनीको बार्षिक नवीकरण दस्तुर शतप्रतिशतले बढेको छ । त्यसैगरी नेप्सेले सूचीकरण विनियमावली २०७५ संशोधन गरेर सूचीकरण दस्तुर भने करिब २६ प्रतिशतले घटाएको छ । नेप्सेले संशोधनका लागि नेपाल धितोपत्र पठाएको विनियमावली आइतबार स्वीकृत भएको थियो । बोर्डले स्वीकृत गरेको विनियमावली अनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ०.१० प्रतिशत सूचीकरण दस्तुर र वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी ५० करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीको चुक्ता पुँजीको ०.०५ प्रतिशत सूचीकरण शुल्क र वार्षिक एक लाख नवीकरण शुल्क तोकिएको छ ।
त्यसैगरी बन्ड तथा डिबेञ्चरको हकमा ५० करोडसम्ममा बण्ड तथा डिबेञ्चरको सूचीकरण दस्तुर ६० हजार र ५० करोडभन्दा माथिको हकमा एक लाख रुपैयाँ तोकिएको छ । त्यसका साथै नेप्सेमा सूचीकरण हुने कम्पनीले सूचीकरण निवेदन दस्तुर स्वरूप १५ हजार रुपैयाँ तिर्नुपर्ने यवस्था पनि गरिएको छ ।
अघिल्लो व्यवस्थाअनुसार अर्थात् सूचीकरण विनियमावली २०५० अनुसार १ करोड रुपैयाँ चुक्ता पुँजी हुने कम्पनीले चुक्ता पुँजीको ०.२० प्रतिशत सूचीकरण दस्तुर र वार्षिक नवीकरण दस्तुर १५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो । त्यसैगरी एक करोडदेखि ५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीको हकमा ०.१५ प्रतिशत वा न्यूनतम् ४५ हजार सूचीकरण दस्तुर र २५ हजार वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था थियो । नेप्सेमा ५ देखि १० करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनी सूचीकरण गर्न जाँदा चुक्ता पुँजीको ०.१० प्रतिशत वा न्यूनतम ७५ हजार रुपैयाँ सूचीकरण शुल्क र ३५ हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क लिने व्यवस्था थियो । त्यसैगरी १० करोडभन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीको हकमा चुक्ता पुँजीको ०.०७५ वा न्यूनतम एक लाख रुपैयाँ सूचीकरण शुल्क र ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्कको व्यवस्था थियो । त्यस्तै बण्ड तथा डिवेञ्चरको हकमा पनि सोही अनुसार सूचीकरण तथा नवीकरण दस्तुर लिने व्यवस्था थियो ।
बोर्डले धितोपत्रको प्राथमिक बजारमा आस्बामार्फत धितोपत्रको बाँडफाँड तथा सूचीकरण अवधि घटाइएको, वास्तविक क्षेत्रका कम्पनीलाई पूँजीबजारमा आर्कषित गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक व्यवस्था गरी कार्यान्वयमा ल्याएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्