बेस्ट फाइनान्सको एकीकृत कारोबार सुरु

बेस्ट फाइनान्स कम्पनीले सिनर्जी फाइनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्न नेपाल राष्ट्र बैंकबाट असार १८ गते स्वीकृत प्राप्त भई कम्पनी रजिष्टारको कार्यालयबाट समेत सिनर्जी फाइनान्स प्राप्ति हुने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति र दायित्वहरू प्राप्ति गर्ने संस्था बेस्ट फाइनान्सले बेहोर्ने गरी प्राप्तिका लागि स्वीकृत प्राप्त भएकोले दुवै संस्थाबाट हुँदै आइरहेको सम्पूर्ण कारोबार प्राप्त गर्ने संस्था बेस्ट फाइनान्सको नामबाट बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन गरे । प्राप्तिपश्चात् संस्थाको रजिष्र्टर्ड कार्यालय हाल सिनर्जी फाइनान्सको कर्पोरेट कार्यालय रहेको स्थान काठमाडौं महानगरपालिका–१, कमलादी, काठमाडौंमा रहने पनी जनाएको छ ।
प्राप्तिपश्चात् बेस्ट फाइनान्स कम्पनीको चुक्ता पुँजी (सिनर्जी फाइनान्सले जारी गरिरहेको १०.२५ प्रतिशतको हकप्रद सेयर समेत गणना गर्दा) ८९ करोड ५ लाख रुपैयाँ हुनेछ । एकीकृत कारोबारपश्चात् संस्थाको निक्षेप २ अर्ब २४ करोड तथा कर्जा लगानी १ अर्ब ९९ करोड रुपैयाँ हुनेछ भने संस्थाको कुल सम्पत्ति ३ अर्ब ६० करोड रुपैयाँ हुनेछ । संस्थाको शाखा संख्या १४ र एटीएम संख्या ३ पुग्ने भएको छ ।