सहरी फोहोरको व्यवस्थापन

अहिले फोहोरबाट ऊर्जा उत्पादन गर्ने उपकरणसमेत भित्र्याइसकिएको, निजी क्षेत्रले समेत यसमा चासो देखाएको सन्दर्भमा अब बन्चरेडाँडाको ल्यान्डफिल्ड साइटलाई वैज्ञानिक ढंगले संरचित गरिनुपर्छ ।
हालैमात्र सिसडोलस्थित फोहोर व्यवस्थापन स्थल जाने बाटो भत्किएपछि काठमाडौं उपत्यका महिनौंसम्म फोहोरको डंगुरभित्र रहन बाध्य भयो । अझै पनि उपत्यकाको फोहोर व्यवस्थापन भइसकेको छैन । ठाउँठाउँमा थुपारिएर राखिएको फोहोरको डंगुरमा वर्षात्सँगै कुहिएर औंशा पर्न थालिसकेको छ, यसले उपत्यकामा कुनै पनि दिन महामारी फैलाउने त्रास बढेको छ । तर, उपत्यकाको फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी लिएको काठमाडौं महानगरपालिकासँगै ललितपुर महानगर र उपत्यकाका अन्य नगरपालिकाहरू कसैले पनि यो समस्यालाई गम्भीरताका साथ बोध गरेकै छैनन् । महानगर र नगरपालिका प्रमुखहरू या त यो समस्यामा बोल्दै बोल्दैनन्, बोल्नैपरे पनि ‘बिस्तारै फोहोर व्यवस्थापन भइहाल्छ नि’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिन थालेका छन् । वास्तविकता के पनि हो भने उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या आज आएर मात्र उत्पन्न भएको भने होइन । विभिन्न बहानामा विगतदेखि नै उपत्यकामा फोहोरसम्बन्धी देखिँदै र बल्झिँदै आएको छ । तर, विगत र अहिलेको समस्या पूर्ण रूपमा फरक छ । नुवाकोटको सिसडोलस्थित फोहोर व्यवस्थापन स्थल (ल्यान्डफिल साइट) भरिएको छ भने अर्को ल्यान्डफिल साइट बन्चरेडाँडा तयार नै भएको छैन । त्यसैले उपत्यकामा दैनिक उत्सर्जन हुने १ हजार टनभन्दा बढी फोहोरको अब कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा न संघीय सरकारले न त स्थानीय सरकारले नै कुनै चिन्ताचासो लिएका छन्, न यसबारे कुनै ठोस निर्णय नै लिन सकेका छन् । तत्कालै यसको निकास नखोजिएमा फोहोरकै कारण उपत्यकामा महामारी फैलिई अर्को किसिमको मानवीय संकट उत्पन्न नहोला भन्न सकिन्न ।
उपत्यकाको फोहोर व्यवस्थापनमा हालसम्म देखिएको मुख्य समस्या हो, अन्धाधुन्ध फोहोर संकलन र बेथितियुक्त तवरले त्यसलाई थुपार्ने (डम्पिङ) गर्ने काम । फोहोर मुख्यतया तीन किसिमका हुन्छन्— कुहिने, नकुहिने– प्रशोधन गर्न मिल्ने र जोखिमयुक्त । अन्य देशहरूले फोहोर संकलन, व्यवस्थापनमा यसरी नै फोहोरको वर्गीकरण गरेर त्यसको व्यवस्थापनजन्य काम गर्दै आएकोमा हामीकहाँ निकै बेथिति देखियो । काठमाडौंमै पनि कुहिने र नकुहिने गरी फोहोर व्यवस्थापन गर्ने चर्चा गर्न थालिएको निकै लामो बितिसक्यो । बीचमा महानगरले केही स्थानमा सोहीअनुसार डस्टबिन बाँड्ने पनि काम गरेको थियो, तर महानगरवासीको चासो नहुँदा यो अभियान सफल हुन सकेन ।
सही ढंगबाट व्यवस्थापन हुन सकेको भए उपत्यकाको फोहोरमा यति धेरै समस्या नै आउँदैनथ्यो । अहिले फोहोरबाट ऊर्जा उत्पादन गर्ने उपकरणसमेत भित्र्याइसकिएको, निजी क्षेत्रले समेत यसमा चासो देखाएको सन्दर्भमा अब बन्चरेडाँडाको ल्यान्डफिल्ड साइटलाई वैज्ञानिक ढंगले संरचित गरिनुपर्छ । अहिले ३० वटा नगरपालिकाले ‘फोहोरबाट ऊर्जा’ परियोजनाअन्तर्गत बायोग्यास उत्पादनका लागि काम थाल्न योजना अघि सारेका छन् । यो निकै सकारात्मक पहल हो । यो कार्यक्रमको सफलता भनेको नगरवासीको बानी र नगरपालिकाहरू आफंैले फोहोर व्यवस्थापनका लागि गर्ने लगानीमा भर पर्छ । नगरपालिकाहरूले पायक स्थानमा फोहोर संकलन केन्द्र स्थापना गर्ने, ती नभएका स्थानमा कुहिने र नकुहिने फोहोर संकलन गर्न उपयुक्त आकार प्रकारका डस्टबिनहरू स्थापना गर्ने र समयमै संकलन गरी व्यवस्थापन गर्ने विधि अपनाउन सके, यो समस्याको धेरै हदसम्म समाधान निस्कन्छ । महानगर, उपमहानगर वा नगरपालिकाहरू स्थापनाको मुख्य उद्देश्य समान सेवाप्रवाहमा बढी कर असुल गर्नु वा सीमित व्यक्तिलाई मेयर, उपमेयर, वडाध्यक्षका राजनीतिक एवं शासकीय अधिकार निक्षेपण गर्नु मात्र होइन; विकेन्द्रीकरणको मूल मर्मअनुसार तल्लो तहलाई राज्यले उपलब्ध गराउनुपर्ने सबै सेवा–सुविधा सुलभ एवं सहज तरिकाले उपलब्ध गराउनु पनि हो । यसका लागि सहरी फोहोर व्यवस्थापन एक आधारभूत सर्त हो । जबसम्म स्वास्थ्य र सरसफाइका क्षेत्रमा स्थानीय सरकारले सबल पहल गर्न सक्दैन, तबसम्म उसले जतिसुकै पूर्वाधारजन्य विकास गरेको सूचक देखाए पनि असफल नै ठहरिन्छ ।