निगमलाई तीन अर्ब नाफा «

निगमलाई तीन अर्ब नाफा

इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक वर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको छ । इन्धन कारोबार गरेर निगमले आर्थिक वर्ष २०७४-७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो ।
अघिल्लो वर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो वर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नाफा रकम घटेको हो । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा खरिद मूल्य बढ्न जाँदा नाफा रकम कम भएको बताए । यो वर्ष अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य ५० प्रतिशतले बढेकाले पनि नाफा रकम बढ्न नसकेको उनको भनाइ छ ।

अघिल्लो वर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो वर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नाफा रकम घटेको हो ।

निगमले इन्डियन आयल कर्पाेरेसन (आइओसी)बाट इन्धन खरिद गरेर स्थानीय बजारमा वितरण गर्दै आएको छ । गतवर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकोे मूल्य प्रतिब्यारेल ४५ देखि ५० डलर रहेकोमा यो वर्ष बढेर ७५ देखि ८० डलर पुगेको छ । जसका कारणले नाफा रकम बढ्न नसकेको निगमको भनाइ छ । निगमले खरिद मूल्यमा विभिन्न शीर्षकका शुल्क कटाएर उपभोक्तालाई बिक्री मूल्य निर्धारण गर्ने गर्छ । यो वर्ष निगमले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको २७ लाख किलोलिटर इन्धन खरिद गरेको थियो । सो बापत निगमले ३ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको हो । पछिल्लो समय निगमले इन्धनमा स्वचालित मूल्य लागू गरेसँगै नाफा कमाउन थालेको हो ।
अन्तर्राष्ट्रिय बजारअनुसार स्थानीय बजारमा मूल्य समायोजन थालेपछि लामो समयदेखि घाटामा रहेको निगमले पछिल्लो समय नाफा कमाउँदै आएको छ । निगमले नाफा रकमलाई बोनस शेयरमा रुपान्तरण गरी चुक्ता पुँजी बढाएको छ । निगमले ३६ औं वार्षिक साधारणसभामार्फत बोनस सेयर जारी गरेर चुक्ता पुँजीलाई बढाएर ११ अर्ब रुपैयाँ पु-याउने निर्णय गरेको छ । यसअघि निगमको चुक्ता पुँजी २९ करोड २३ लाख रुपैयाँ मात्र थियो । डेढ खर्ब रुपैयाँको इन्धन कारोबार गर्ने निगमको चुक्तापुँजी कम भए पनि नाफा रकमलाई बोनस सेयरमार्फत पुँजी बढाउन लागेको हो । हाल निगममा ९९ प्रतिशत सेयर नेपाल सरकारकै छ । जसमा अर्थ मन्त्रालयको ७३ दशमलव ४१ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको २० दशमलव ३२ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ५ दशमलव ७३ प्रतिशत सेयर हिस्सा छ । त्यस्तै, नेसनल ट्रेडिङ लिमिटेडको ० दशमलव २६, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको ० दशमलव १५, नेपाल बैंक लिमिटेडको ० दशमलव ८ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ० दशमलव ५ प्रतिशत सेयर हिस्सा छ ।
निगमले आर्थिक वर्ष २०७२-७३ मा ९ अर्ब ५ करोड रुपैयाँ कमाएको थियो । यस्तै आव २०७१-०७२ मा १५ अर्ब ४ करोड रुपैयाँ नाफा भएको थियो ।
निगमका अनुसार आर्थिक वर्ष २०७३-७४ मा १ खर्ब ८ अर्ब ९५ रुपैयाँ बराबरको २२ लाख २९ हजार ७ सय ४० किलोलिटर इन्धन आयात भएको थियो । यस्तै आव २०७२-७३ मा भारतले गरेको नाकाबन्दीका कारण आयातमा कम भई ५८ अर्ब ९४ करोड रुपैयाँ बराबरको १३ लाख ३९ हजार १ सय ७७ किलोलिटर इन्धन आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७१-७२ मा १ खर्ब ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको १६ लाख ३३ हजार ३ सय ३७ किलोलिटर इन्धन आयात भएको थियो । निगमका अनुसार आव २०७०-७१ मा १ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको १४ लाख ४९ हजार ९ सय ३५ किलोलिटर इन्धन आयात भएकोमा आर्थिक वर्ष २०६९-७० मा १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ बराबरको १२ लाख ९८ हजार ५ सय ६६ किलोलिटर इन्धन आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्