अक्सिजनको मूल्यवृद्धि फिर्ता «

अक्सिजनको मूल्यवृद्धि फिर्ता

बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ । गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १० अक्सिजन ग्यास उत्पादक कम्पनीहरू मूल्यवृद्धि गर्ने आफ्नै निर्णयबाट पछि हटेका हुन् ।
असार १९ गते नेपाल अक्सिजन ग्यास उत्पादक संघमा आवद्ध आईएमई अक्सिजन ग्यास, हिमाल अक्सिजन, नवज्योती, शंकर, एभरेष्ट, कान्तिपुर अक्सिजन, सगरमाथा, सोपान, अक्सिटेक र सीता अक्सिजन ग्यासका सञ्चालकको संयुक्त बैठकले साउन १ गतेदेखि लागू हुनेगरी मूल्यवृद्धि गर्ने निर्णय गरेका थिए । बैठकमा २ सय रुपैयाँ पर्ने ४७ लिटरको ग्यासलाई ४ सय ५० र १ सय रुपैयाँ पर्ने १० लिटरको सिलिन्डरलाई २ सय २७ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । उनीहरूको निर्णयपछि उपत्यकाभित्रका अक्सिजन ग्यासका डिलरहरूले पनि असन्तुष्टि जनाउँदै नयाँ मूल्य अनुसार खरिद नगर्ने चेतावनी दिएका थिए । त्यही क्रममा गृह मन्त्रालयले समेत अक्सिजन ग्यास जस्तो अतिसंवेदनशील बस्तुमा भएको अस्वभाविक मूल्यवृद्धिमाथि नियन्त्रण र संलग्न व्यवसायीलाई कारबाही गर्ने चेतावननी दिएको थियो ।
प्रशासनको उक्त चेतावनी र डिलरहरूले नयाँ मूल्यमा खरिद नै नगर्ने अडानपछि बाध्य भएर उत्पादक कम्पनीहरू पुरानै मूल्यअनुसार विक्री गर्न बाध्य भएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले नयाँ मूल्यमा अक्सिजन ग्यास विक्री गरेको पाइए तत्काल कम्पनीमा सिलबन्दी गरी कानुनअनुसार कारबाही गर्ने तयारी रहेको स्पष्ट पारे । केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार सरकारले मूल्य निर्धारण गरिदिएको बस्तुको मूल्यभन्दा बढी शूल्क लिएर कुनै पनि वस्तु विक्री गरेको पाइए बढी लिएको मूल्य फिर्ता गराई यस्तो अपराधमा संलग्नलाई १ वर्षसम्म कैद, मालसामान जफत र १० लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । सरकारले तोकेको सामानको व्यापार गर्ने व्यक्तिले सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाएको पाइए १ वर्षसम्म कैद वा २ लाख ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्