इन्टरनेटको बहुउपयोग खोज

सीमित पूर्वाधारका बाबजुद पनि नेपालका निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरूले जुन उपलब्धि हासिल गरेका छन्, त्यसलाई कम आकलन गर्न मिल्दैन । सूचना तथा सञ्चार प्रविधिको बढ्दो विकाससँगै नेपालमा यसका प्रयोगकर्ताहरू पनि क्रमिक रूपमा बढ्दै गएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको सबैभन्दा पछिल्लो प्रतिवेदनअनुसार नेपालमा कुल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ६३ लाख १६ हजार पुगेको छ । जनसांख्यिक हिसाबले यो ६१.५८ प्रतिशत हो । यद्यपि यो ०७४ भदौसम्मको मात्र तथ्यांक भएकाले हाल कुल इन्टरनेट प्रयोगकर्ता बढेको अनुमान गर्न कुनै गाह्रो छैन । कुल इन्टरनेट प्रयोगकर्ताहरूमध्ये झन्डै ९६ प्रतिशत मोबाइलमा आधारित इन्टरनेट (जीपीआरएस-थ्रीजी-फोरजी, डब्लूसीडीएमए) प्रयोगकर्ताहरू भएकाले इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्यो भनेर मात्र सन्तोष गर्न नसकिने अवस्था छ । कुल इन्टरनेट प्रयोगकर्तामध्ये इन्टरनेट सेवाप्रदायक (आईएसपी) हरूमार्फत यो सेवा उपयोग गर्नेहरूको अनुपात १.७१ प्रतिशत मात्र हुनुले नेपालमा ब्रोडब्यान्ड इन्टरनेट चलाउनेहरूको संख्या अझै पनि न्यून छ भन्न सकिन्छ । संख्यात्मक रूपमा हेर्ने हो तीव्र गतिको इन्टरनेट चलाउनेहरूको संख्या भर्खर २ लाख २६ हजार मात्र पुगेको छ, नेपाल टेलिकमबाट बाँडिएको एडीएसएल सेवाका १ लाख ८५ हजार प्रयोगकर्तासमेत जोड्दा यो संख्या ४ लाख ११ हजार हुन आउँछ । यद्यपि टेलिकमको एडीएसएल सेवाप्रति ग्राहकहरूको अनुभव चित्तबुझ्दो छैन । टेलिकम आफंैले एडीएसएलका ठाउँमा फाइबर इन्टरनेट सुरु गर्ने घोषणा गरे पनि व्यावसायिक सोच र योजनाको अभावमा अहिले टेलिकमले केवल ब्यान्डविथमात्र ओगटेर बसेको देखिन्छ । टेलिकमको जस्तो पूर्वाधार हुने हो भने निजी क्षेत्रले यतिखेरसम्म नेपालमा द्रुत गतिको इन्टरनेटमा निकै ठूलो सफलता हासिल गरिसकेका हुन्थे ।
सीमित पूर्वाधारका बाबजुद पनि नेपालका निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरूले जुन उपलब्धि हासिल गरेका छन्, त्यसलाई कम आकलन गर्न मिल्दैन । हालै प्रकाशित एक अध्ययनले नेपालको इन्टरनेट सेवा भारतको भन्दा द्रुत गतिको भएको देखाएको छ । ब्रोडब्यान्ड इन्टरनेटसम्बन्धी सूचकांकअनुसार मोबाइलतर्फ नेपाल ९९ औं स्थानमा र फिक्स्ड ब्रोडब्यान्डतर्फ ९१ औं स्थानमा छ, यो छिमेकी मुलुक भारतभन्दा माथि हो । सूचकांकले यस्तो देखाए पनि नेपालमा अझै पनि इन्टरनेटको गति सन्तोषजनक छैन । इन्टरनेट सेवाप्रदायकहरूले सुरुमा प्रतिबद्धता गरेभन्दा कम गतिको इन्टरनेट चलाउन उपभोक्ताहरू बाध्य छन् । इन्टरनेटमा सबैभन्दा ठूलो समस्याका रूपमा रहेको ब्याडविथ सेयरिङकै कारण उपभोक्ताहरू कम गतिको इन्टरनेट चलाउन बाध्य भएका हुन् ।
पछिल्लो समयमा इन्टरनेट सेवाप्रदायकहरूमा कायम तीव्र प्रतिस्पर्धाका कारण एकातिर ब्रोडब्यान्ड इन्टरनेटको गति बढ्दै गएको छ भने अर्कातिर सँगसँगै उपभोक्ताले तिर्नुपर्ने लागत पनि सस्तो हुँदै गएको छ । तर, यो प्रतिस्पर्धा काठमाडौं उपत्यका, उपत्यकाको पनि चक्रपथभित्रका भित्री सहरी क्षेत्रमा मात्र बढी देखिएको छ । उपत्यकाकै काँठ क्षेत्रमा द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन इन्टरनेट सेवाप्रदायकहरूले त्यति चासो नदेखाएको अवस्थामा देशका अन्य ग्रामीण क्षेत्रमा अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । दूरसञ्चारसहित इन्टरनेट सेवा विस्तारमा सेवाप्रदायकहरूबीचमा पूर्वाधार साझेदारी गर्न सकिएमा ग्रामीण क्षेत्रमा पनि यस्तो सेवा विस्तार हुने र त्यसको अधिकतम उपयोग हुन सक्ने आधार सिर्जना हुन सक्छ ।