विपद्बारे प्रारम्भिक सूचना संकलन गर्न मोबाइल एप्लिकेसन तयार

काठमाडौं-विपद्पश्चात तत्काल संकलन गरिने विपद् प्रारम्भिक द्रुत लेखाजोखाको सरल विवरण संकलन फारम र मोबाइल एप्लिकेसन तयार भएको छ । यो फारम र एप्लिकेसन गृह मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा विज्ञहरू रहेको प्राविधिक समूहको संयुक्त प्रयासमा तयार भएको हो । विपद्को क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसँग विभिन्न चरणमा भएको छलफल पछि यो एप्लिकेसन तयार पारिएको हो ।
आइतबार राजधानीमा भएको एक कार्यक्रममा एप्लिकेसनको मुख्य विशेषता तथा फाराममा भएका बुँदाबारे जानकारी दिइयो । गृह मन्त्रालयका उपसचिव एवं विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा÷राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यको अध्यक्षतामा बसेको परामर्श बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, युएनएफपीए, डीडब्लूसी, वल्र्ड एजुकेसन, एफएओ, विश्व खाद्य कार्यक्रम, नेपाल रेडक्रस सोसाइटी, यूएनआरसीओ, सेभ द चिल्ड्रेन, सीसीडीआरआर, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, डेनिस रेडक्रस, अमेरिकन रेडक्रस, इकेसोलुसनलगायतका सरोकारवाला निकायका ३१ प्रतिनिधिको सहभागिता रहेको थियो ।
परिमार्जित फाराम र यो एप्समा विपद् भएको २४ घण्टाभित्रका सूचना रेकर्ड गर्न सकिनेछ । यसले प्रभावित व्यक्तिको मूलभूत विवरणसहित, विपद् भएको स्थानको तत्कालीन अवस्था, यातायात तथा सडकको अवस्था, प्रभावितको संख्या, विद्यालय, अस्पतालको अवस्था, खानेपानी लगायतको अवस्थाबारे नक्शांकनसहित २४ घण्टाभित्रको सूचना निकाल्न सकिने र ती सूचनाहरू तत्काल केन्द्रीय सर्भरमा रेकर्ड हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यो एप्सको प्रयोग नेपाल प्रहरी, गाउँ तथा नगरपालिका प्रतिनिधि तथा स्थानीय रेडक्रस प्रतिनिधिलगायतले गर्न सक्नेछन् । एप्लिकेसनको प्रारम्भिक परीक्षणको काम छिट्टै सकिने र यसै वर्षादेखि मोबाइल एप्लिेकेसनबाट सूचना संकलन गर्न सुरु गरिने बैठकमा जानकारी दिइयो ।
यो एप्सले विपद् भइसकेपछि सम्बन्धित स्थानमा गएर फाराम भर्दा समय धेरै लाग्ने जसका कारण प्रभावितहरूले चाँडो उद्धार हुन नसक्दा आइपर्ने थप समस्याको अन्त्य गर्नेछ । साथै सम्बन्धित विपद् प्रारम्भिक द्रुत लेखाजोखा फारमअनुसार संकलित सूचनाले विपद्को प्रारम्भिक चरणमा उपयुक्त निर्णय लिने कार्यका लागि आधार तय गर्ने र विस्तृत रूपमा अतिरिक्त लेखाजोखा गर्नुपर्ने आवश्यकतालाई पहिल्याउनेछ । एप्लिकेसन तयारीमा अमेरिकन तथा डेनिस रेडक्रस, इको, इकेबाना सोलुसन प्रालिलगायतको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।