Logo

पर्यटन विकासमा निजी क्षेत्रको अग्रसता

दाङ-जिल्लाको पर्यटकी क्षेत्रको विकास गर्न निजी क्षेत्र अग्रसर हुन थालेका छन् । उनीहरूले जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलको खोजी गरी विकास गर्ने पहलसमेत थालेका छन् । निजी क्षेत्रले यसरी पर्यटकीय क्षेत्रको पहिचान र विकासमा लागेपछि जिल्लाको पर्यटकीय क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । जिल्लाका धार्मिक तथा प्राकृतिक सम्पदाहरूलाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउने गरी आफूहरू लागि परेको जिल्लाका उद्योग वाणिज्य संघहरूले जनाएका छन् ।
पछिल्लो समयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उपमहानगरपालिका–३ मा रहेको चौपटा क्षेत्रमा पर्यटकीय स्थल बनाउन पहल थालेको छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने बारेमा मन्दिर व्यवस्थापन समितिसँग छलफल गरी सकिएको छ । चौपटा प्राकृतिक रूपमा पर्यटकीय स्थलसमेत छ भने जिल्लाका अन्य सरोकारवालाहरू तथा जिल्ला वन कार्यालयसँग समेत छलफल चलिरहेको उद्योग वाणिज्य संघले जनाएको छ । घोराहीको प्रवेशद्वारको रूपमा रहेको चौपटामा राम्रो पर्यटकीय स्थल बनाउन सकिने भएकाले त्यसतर्फ पहल थालेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए ।
उक्त क्षेत्रमा गोरखनाथ मन्दिरको जग्गा तथा अन्य वनको जग्गा गरी करिब ७ हेक्टरमा पर्यटकी स्थल बनाउने उद्योग वाणिज्य संघ अगाडि बढेको जनाएको छ । उक्त स्थानमा विश्राम स्थल, गेट, खानेपानी पु¥याएर पिकनिक स्पोट बनाउन सकिने अध्यक्ष भुसालले बताए । यसका लागि करिब १ करोड रकम लाग्ने अनुमान गरिएको अध्यक्ष भुसालले बताए । भौतिक संरचना निर्माणका लागि राज्यसँग सहयोग माग गरिने बताइएको छ । घोराही लमही सडकसँगै सटेको हुँदा पनि यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउन सकियो भने आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण हुने स्थानीय बासिन्दाहरूको भनाइ छ ।
मन्दिर व्यवस्थापन समितिले पनि उद्योग वाणिज्यसँग पर्यटकीय स्थल बनाउन आग्रह गरेको जनाएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर बस्नेतले आफूहरूले पर्यटकीय स्थलको रूपमा विकास गर्ने नसक्ने भएकाले हामी पहल गर्दैैछौं भनेर उद्योग वाणिज्य संघले भनेकाले सहमति जनाएको बताए । “हामीले यस क्षेत्रमा विकास गर्ने सकेका थिए नौं त्यसैले हामीले विकास गर्नेका लागि सहमति दिएका हौं,” अध्यक्ष बस्नेतले भने ।
पर्यटनलाई व्यवसायको रूपमा अगाडि बढाइने
जिल्लामा पर्यटनलाई पनि व्यावसायिक रूपमा अगाडि बढाउने सोच दाङ उद्योग वाणिज्य संघको छ । जिल्लामा अन्य व्यवसायीहरू रहे पनि पर्यटन व्यवसायी भने उत्पादन हुन सकेका छैनन् । त्यसै कारणले यस क्षेत्रलाई अगाडि बढाउने सोचमा रहेको उद्योग वाणिज्य संघका अध्यक्ष भुसालले जानकारी दिए । जिल्ला पर्यटन व्यवसायी उत्पादन गरेर उनीहरूलाई तालिम दिएर अगाडि बढाउनुपर्ने उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले बताए ।
“पर्यटन क्षेत्रलाई पनि अन्य व्यवसाय जस्तै व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ भनेर बुझाउन आवश्यक छ,” महासचिव कार्कीले भने । त्यसका लागि पर्यटन व्यवसाय गर्नेलाई तालिम तथा सचेतना दिनुपर्ने उद्योग वाणिज्य संघले जनाएको छ, जसले गर्दा पर्यटकसँग कस्तो व्यवहार गर्ने, कसरी उनीहरूको मन जित्ने बारेमा जानकारी हुनेछ ।
त्यसै गरेर जिल्लामा रहेका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरूको प्याकेज बनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । यसले गर्दा जिल्लामा आएका पर्यटकलाई यहाँका बारेमा बुभ्mनका लागि सहज हुने उनको भनाइ छ । जिल्लाको विकासका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुने कार्कीले बताए । “जिल्लाको समृद्धिका लागि पर्यटन क्षेत्रलाई अगाडि बढाउन आवश्यक छ,” महासचिव कार्कीले भने । जिल्लामा रहेको प्याराग्लाडिङ संभावनालाई पनि नियति बनाउन सकिएमा पनि थप पर्यटन प्रवद्र्धन गर्ने सहयोग पुग्ने अपेक्षा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्