खोज-उद्धारमा विशेष तालिमप्राप्त २६१२ सुरक्षाकर्मी

केन्द्रीय दैवी प्रकोप उद्धार समितिले मनसुनपछिको प्रकोप व्यवस्थापनमा विशेष तालिम प्राप्त २ हजार ६ सय १२ जना सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल (एपीएफ)बाट प्रकोप व्यवस्थापनका लागि नियमित रूपमा खटिने फौज बाहेक खोज-उद्धार लगायत प्रकोप व्यवस्थापनमा विशेष तालिम प्राप्त २ हजार ५ सय भन्दा बढी जनशक्ति रिजर्भ फोर्सका रूपमा तैनाथ गरेको हो । प्रकोपजन्य घटना हुने वित्तिकै ३ वटै सुरक्षा निकायका स्थानीय युनिटहरूसँगै खटिनेगरी यी जनशक्ति तैनाथ गरिएको हो ।
गृह मन्त्रालयका अनुसार सेनाले इटहरी, सिरहा, गोकर्ण, गजुरी, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा एक युनिटमा बढीमा ३० जना रहने गरी १० स्थानमा २ सय ८३ जना विशेष तालिमप्राप्त जनशक्ति सम्मिलित विपत् व्यवस्थापन युनिट खडा गरेको छ । त्यस्तै नेपाल प्रहरीका १ हजार २ सय ७५ र सशस्त्रका १ हजार ५४ जना जनशक्तिलाई हेडक्वार्टर, मेट्रो, प्रदेश, बाहिनी, गण-गुल्म लगायत संयन्त्र मातहत रहनेगरी प्रकोप व्यवस्थापनका लागि तैनाथ गराएको छ ।
गृह मन्त्रालयका अनुसार प्राकृतिक प्रकोपका कारण ३ महिनाको अवधिमा देशभर पौने १ अर्ब भन्दा बढीको आर्थिक क्षति भएको छ । गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ यता बाढी-पहिरो, भारी वर्षा, असिनापानी, चट्याङ लगायत विभिन्न १५ किसिमका प्रकोपबाट वैशाख १ गतदेखि असार २५ सम्मको अवधिमा ६८ करोड १३ लाख ७ हजार ३ सय ८२ रूपैयाँ बराबरको भौतिक सम्पत्तिको नोक्सानी भएको गृह मनत्रलयको तथ्यांकमा उल्लेख छ । यो अवधिमा ३ सय २८ जनाको मृत्यु, ५७ जना वेपत्ता तथा २ हजार १ सय ४५ जना घाइते भएका छन् । असारमा मात्रै ५० जनाको मृत्यु, ९ बेपत्ता र करोडौंको धनमाल नोक्सान भएको गृहमन्त्रालयले जनाएको छ ।
प्रकोपबाट ३ हजार ३ सय १३ परिवार प्रभावित हुनुका साथै १ हजार ३ सय ११ वटा चौपाया मरेका छन् । प्रभावित परिवारमध्ये ७ सय २५ परिवारको आवास पूर्ण रूपमा नष्ट हुनुका साथै १ सय ६८ स्थानमा लगाइएको बालीजन्य बिउमा क्षती पुगेको छ । गत वर्ष साउनमा आएको बाढीपहिरो तथा डुवानका कारण मात्रै ६१ अर्ब भन्दा बढीको भौतिक सम्पत्ति नष्ट भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन साउनभरी रहने भएाकेले यसबाट पुग्ने सम्भावित क्षतीबारे पूर्वसावधानी अपनाउन आम नागरिकलाई सचेत गराइएको छ ।