वन्यजन्तुको अवधै तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिम

दोलखा-वन्यजन्तुको अवधै ओसारपसार तथा व्यापार नियन्त्रणका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सक्रियता बढाएको छ । स्थानीयलाई नै चोरी तस्करीको बारेमा सचेत गराउँदै अवैध व्यापार नियन्त्रण गर्नलाई स्थानीयको समेत भूमिका बढाँदै लैजाने गरी अभियान थालेको छ ।
संरक्षण क्षेत्रबाट अवैध व्यापार निरुत्साहित गर्न स्थानीय र सुरक्षाकर्मीको समेत साथ लिंदै आएको आयोजनाले स्थानीय र सुरक्षाकर्मीको संयुक्त सचेतनामूलक गोष्ठीसमेत गरेको छ । वन्यजन्तुको अवैध व्यापार रोक्नका लागि दोलखाको सिंगटी र गोंगर, सिन्धुपाल्चोकको बाह्रबिसे र रामेछापको शिवालयमा संयुक्त गोष्ठी गरेको हो । संयुक्त गोष्ठीमा अवैध व्यापार तथा ओसार पसारका बारेमा कानुनी पक्षको बारेमा जानकारी गराइएको हो ।
अवैध व्यापार रोक्नका लागि स्थानीय र सुरक्षाकर्मीलाई संयुक्त रूपमा परिचालन गर्दा मात्र सफलता हासिल हुने भएकाले अहिले संयुक्त रूपमा तालिम सञ्चालक गरेको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिए । वन्यजन्तु ओसारपसार, मार्ने, घाइते बनाएवापत हुने दण्ड जरिवानाको बारेमा समेत स्थानीय युवा क्लब र सुरक्षाकर्मीलाई समेत जानकारी गराउँदा सहज हुने उनले बताए ।
सिंगटीमा भएको तालिममा स्थानीय युवा क्लबका साथै इलाका प्रहरी कार्यालय सिंगटी र विगू प्रहरी चौकीका प्रहरीको सहभागिता थियो । त्यसैगरी गोंगरमा भएको तालिममा स्थानीय युवाका साथै सीमा प्रहरी चौकी लामाबगर र रोल्वालिङ प्रहरी चौकीका प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहभागिता रहेको थियो । संरक्षण क्षेत्रले वन्य जन्तुको चोरी तस्करी रोक्नका लागि सुराकीसमेत परिचालन गरेको छ ।
सिंगटीका संरक्षण अधिकृत विष्णु पाण्डेका अनुसार अवैध व्यापार नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मीको साथ नलिँदा सफल हुन नसक्ने हुँदा यस्तो कार्यक्रमको आयोजना गरेको हो । वन संरक्षणका लागि हरेक वडामा संरक्षण दस्तासमेत बनाएको छ ।
दोलखाका ५० संरक्षण वन हस्तान्तरण
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाभित्रका साविकका सामुदायिक वन उपभोक्ता समूहलाई संरक्षण वन समूहमा परिणत गरेको छ । सामुदायिक वन समूहको कार्ययोजना सकिएकाले उनीहरूलाई संरक्षण वन समूहको रूपमा रूपान्तरण गरी ५ वर्षे कार्ययोजना स्वीकृत गरी हस्तान्तरण गरेको छ ।
गौरीशंर संरक्षण क्षेत्र आयोजनाले वन समूहलाई कार्ययोजना हस्तान्तण गरेपछि समूहमा लेखा व्यवस्थापन र सुशासन राख्नका लागि लेखा तालिमसमेत सञ्चालन गरेको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाभित्र रहेका विगू गाउँपालिका र गौरीशंर गाउँपालिकाभित्रका वन समूहलाई छुट्टाछुट्टै तालिम सञ्चालन गरेको आयोजनाका संरक्षण अधिकृत विष्णु पाण्डेले जानकारी दिए ।
संरक्षण क्षेत्र लागू हुनु पूर्व जिल्ला वन कार्यालयबाट कार्ययोजना स्वीकृति गराएर उनीहरू काम गर्दै आएका थिए । अहिले तिनै वनलाई संरक्षित वन समूहको रूपमा मान्यता दिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
“हामीले पुरानो वन समूहलाई पुरानो अधिकार कटौती गरेका छैनौं,” उनले भने, “वन आफ्नो सामुदायिक सम्पत्तिको रूपमा संरक्षण र उपभोग गर्नका लागि बरु पहिलाभन्दा अहिले अधिकार थपेर हस्तान्तरण गरेका छौं ।” कार्ययोजनाहरू स्थानीय समूहसँगकै छलफलमा तयार गरेको उनले बताए ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना दोलखाका साविक १४ गाविस र हाल गौरीशंकर गाउँपालिका–५, ६, ७, ८ र ९ विगू गाउँपालिकाको वडा नं. ८ बाहेक सबै र कालिञ्चोक गाउँपालिकाको वडा नं. १ पर्छ । गौरीशंकर संरक्षण क्षेत्रभित्र गौरीशंकर हिमाललगायतका रोल्वालिङ र जुगल हिमशृङ्खला, च्छोरोल्पा हिमतालसहित विभिन्न तालसमेत पर्दछ ।
आयोजनाले दोलखाको सिंगटीमा, जिरी नगरपालिकाको श्यामा र रामेछापको गुम्देल र चुचुरेको संरक्षण वन समूहलाई शिवालयमा र सिन्धुपाल्चोकमा रहेका संरक्षण वन समूहलाई बाह्रबिसेमा बोलाएर तालिम दिने लेखा अधिकृत शरद पौडेलले जानकारी दिए । गौरीशंकर संरक्षण क्षेत्र समुदायमा आधारित भएकाले संरक्षणप्रति समुदायकै सहयोग लिने नीति लिएको छ ।
दिलबहादुर केसी