‘जिरो’ बाट ‘हिरो’ «

‘जिरो’ बाट ‘हिरो’

ह्यारी केन
कप्तान, इंग्ल्याण्ड
इंग्ल्याण्डका कप्तान ह्यारी केन रसियामा जारी विश्वकपमा ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीको अग्रस्थानमा छन् । टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्ने केनले आफ्नो खेल जीवनका बारेमा द प्लेयर ट्रियुब्यूनमा लेखेको आलेखको अनुवादित अंश :
बाल्यकालको असफलता पनि निकै रमाइलो हुन्छ । मलाई याद छ, चीङफोर्डमा हाम्रो घरको ठीक पछाडि पार्क थियो । म बुबा र दाइसँग बारम्बार फुटबल खेल्नका लागि त्यहाँ जान्थेँ । घाँसे मैदानलाई फुटबल मैदान बनाइएको थियो र गोलपोस्टको रूपमा दुई रूख थिए ।
म आर्सनलको युथ टिमबाट खेल्दै थिएँ त्यसबेला । म आठ वर्षको थिएँ । एक दिन बुबासँगै पार्क जाँदै थिएँ, बुबाले भन्नुभो, ‘मैले तिमीलाई केही भन्नु छ ।’
मैले भने, ‘के भन्नु छ र ?’
उहाँले भन्नुभयो, ‘ह्यारी आर्सनलले तिमीलाई निकाल्यो ।’
त्यसबेला ठ्याक्कै मैले के महसुस गरेको थिएँ, सम्झना छैन । साँच्चै भन्नुपर्दा मलाई त्यसको अर्थ नै थाहा थिएन वा बुझिनँ । म निकै सानो थिएँ । तर बुबाको प्रतिक्रिया के थियो, त्यो सम्झना छ । उहाँले मेरो आलोचना गर्नुभएन । आर्सनलको पनि आलोचना गर्नुभएन । उहाँलाई यसले खास असर गरे जस्तो पनि लागेन । उहाँले यतिमात्रै भन्नुभो, ‘पिर नगर ह्यारी । हामीले कडा मेहनत गर्नेछौँ र अघि बढ्ने छौं । अर्को क्लब भेट्नेछौं ।’
अहिले पछि फर्केर हेर्दा, म त्यसबेला निराश हुनुपथ्र्यो जस्तो लाग्छ । धेरै यस्ता बुबाहरू जो आफ्नो छोरा व्यावसायिक फुटबलर बनोस् भन्ने चाहन्छन्, उनीहरूले त्यस्तो अवस्थामा फरक तरिकाले व्यवहार गर्ने थिए । तर मेरो बुबाले कहिल्यै ममाथि दबाब दिनुभएन । जहिले सकारात्मक । उहाँले जहिले भन्ने कुरा हुन्थ्यो, ‘ठीक छ, हामी अघि बढौं ।’
आर्सनलपछि केही समय म त्यसै बसेँ । त्यसपछि स्थानीय क्लबमै फर्किएँ । त्यहीक्रममा वाट्फोर्डको स्काउटबाट मलाई ट्रायलको अफर आयो ।
मैले वाटफोर्डबाट टोटनह्यामविरुद्ध खेलेपछि टोटनह्यामको युथ एकेडेमीमा जोडिने मौका पाएको हुँ । टोटनह्यामले मलाई साथ दियो । यो रमाइलो र अचम्म लाग्न सक्छ, त्यसबेला मात्रै ८ वर्षको थिएँ । तर हरेकपटक उनीहरूका लागि खेल्दा म सोच्ने गर्थें, ‘को सही र को गलत छ देखिने छ ।’
अहिले पछि फर्केर हेर्दा त्यो मेरो जीवनमा घटेको सायदै सबैभन्दा उत्कृष्ट कुरो थियो । त्यसले मलाई त्यो गति दियो । अहिले मैले प्रिमियर लिगमा एक सय गोल पूरा गरेको छु र साँच्चिकै खुसी छु ।
सन् २०१२ मा मिलवाल जाँदाको सम्झना अझै ताजा छ । हामी रेलिगेसनमा पर्ने खतरा थियो । समर्थकले एउटा खराब निर्णय गरे । मैदानमा विभिन्न वस्तु फ्याँक्न थाले । पदाधिकारीले पाँच मिनेटका लागि खेल रोक्नुप¥यो । म १८ वर्षको थिएँ । चारैतिर हेरेँ । ‘ओहो ! यो कस्तो पागलपन ।’
सिजन चलिरहँदा हामी रेलिगेसनको खतरामा नै थियौं । ड्रेसिङ रुममा केही साथी खेलाडी भन्थे, ‘हामी तल गयौं भने मेरो पारिश्रमिक आधाले काटिने छ, म सम्झौताविहीन हुनेछु ।’ त्यसले मलाई छोयो । मैले त्यही बेलादेखि खेललाई फरक तरिकाले हेर्न थालेको हुँ । साँच्चिकै कसैले खेलका लागिमात्रै खेलेका छैनन् । यो उनीहरूको परिवारको जीविकाका लागि थियो । यसले समर्पित हुन सिकायो ।
मैले टोटनह्यामका लागि राम्रै गरिरहेको थिएँ । दुर्भाग्यवश ! उनीहरूले मलाई लोनमा पठाए । त्यो कठिन समयको सुरूवात थियो । सबैभन्दा कमजोर महसुस भएको भनेको लेस्टर सिटीमा हुँदा हो । उनीहरू त्यसबेला च्याम्पियनसिपमै थिए । त्यसबेला मैले आफ्नो फ्ल्याटमा बसेर सोच्थें, ‘यदि म च्याम्पियनसिपमा लेस्टरबाट पनि खेल्न पाउँदिन भने कसरी प्रिमियर लिग क्लब टोटनह्याममा स्थान बनाउँला ?’
त्यो मेरो खेल जीवनमा पहिलो समय थियो कि मैले आफूलाई बाहिरिँदै गरेको महसुस गरेँ । द्विविधा पनि निकै कठिन कुरा हो । त्यो राति परिवार भेला भयौँ र कडा निर्णय लियौँ । मैले बुबालाई ‘म छोड्न चाहन्छु’ भनेँ । बुबाले भन्नुभयो, ‘हेर, मेहनत गर्दै गर, गर्दै जाऊ । अनि सबै कुरा ठीक हुनेछ ।’
सन् २०१५ मा नर्थ लण्डन डर्बी (आर्सनलसँगको खेल) का लागि जुत्ताको तुना बान्दै गर्दा मैले पुराना दिन सम्झिएँ । ११ वर्षको हुँदा आर्सनलको युवा टिमविरुद्ध खेलिरहेको थिएँ । मैले त्यो खेलमा गोल गरेको कुरा हरेक खेलअघि सम्झिन्छु । त्यसले मलाई ऊर्जा दिन्छ । आर्सनलबाट निकालिएको म अहिले आर्सनलविरुद्ध नै खेल्दै थिएँ । मैले आर्सनलका डिफेन्डरले लगाएको जुत्ता हेरेँ । मैदानभित्र पुग्नुअघि मैले खेलमा को सही र को गलत देखाउने सोचेको थिएँ ।
मैले दुई गोल गरेँ । ८६ औं मिनेटमा गरेको विजयी गोल मेरै थियो । त्यो हेडरमार्फत् गरेको गोल थियो । सायद मैले हेडमार्फत् गरेको उत्कृष्ट गोल हुनुपर्छ त्यो । जहिले खुट्टाले गोल गरेको कल्पना गर्ने र त्यसै गर्ने गरेको मैले त्यो खेलमा कल्पना बाहिरको तरिकाले गोल गरेँ । जब बलले जाली चुम्यो, यसरी दौडिएँ कि सायद खेल जीवनमा त्यसरी कहिल्यै दौडेको छैन । खेलपछि मैदानमा हिँडेको, समर्थकतर्फ फर्केर ताली बजाएको अझै सम्झना छ । मलाई त्यो बेला लागेको थियो, ‘देख्यौ मैले भनेकै थिएँ नि !’

प्रतिक्रिया दिनुहोस्